बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

बिहीबार, ०३ कात्तिक २०७९, १३ : ०३
बिहीबार, ०३ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ ।

बागमती, मधेश र प्रदेश नं १ का जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । 

हालसम्म एक करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार रहेको छ । हाल कायम रहेको एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड मतपत्र आवश्यक पर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप