आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अछाम १ मा बोहरालाई घरभित्रै असहयोग, गठबन्धनलाई बागीको भय

शुक्रबार, ०४ कात्तिक २०७९, १४ : १३
शुक्रबार, ०४ कात्तिक २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. भीम रावलको टिकट खोसेपछि अछामको राजनीतिक कोर्ष कसरी अगाडि बढ्ला भन्नेबारे चासो बढेको छ । भीम रावलको आधार क्षेत्र मानिएको अछाम निर्वाचन क्षेत्र नं. १ मा रावलकै टिकट खोसिएपछि नेकपा एमाले छिन्नभिन्नको अवस्थामा पुगेको छ ।

राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका तथा अछाम राजनीतिक आधारथलो रहेका नेता भीम रावलले एमालेबाट उम्मेदवारी नपाउनु सत्तारुढ गठबन्धनका लागि भने अनुकुल विषय बनेको छ । नेकपा एमालेबाट उम्मेदवारी दिएका झपट बोहरालाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन चुनौतीपूर्ण हुने देखिएको हो ।

एमाले अछामले क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि रावलको नाम एकल सिफारिस गरेको थियो । जिल्लाबाट निर्विकल्प सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिएका हुन् । यसले एमाले अछाममा बिग्रहको स्थिति उत्पन्न भएको हो ।

अछाम–१ का एमाले संयोजकसहित रावल निकट दर्जनौं एमाले नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिए । उम्मेदवारी मनोनयनका क्रममा रावल समर्थकले एमाले उम्मेदवार बोहरालाई कालोझण्डा देखाउँदै पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरे ।

बोहरालाई एमाले भित्रैबाट ‘टुरिष्ट’को संज्ञा

अछाम १ मा रावल निकटका नेता कार्यकर्ताले बोहरालाई ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिँदै निर्वाचनमा सहयोग नगर्ने स्पष्ट मनस्थिति जाहेर गरेको एक नेताले बताए ।

उनले भने, ‘एमाले उम्मेदवार झपट बोहरा यहाँको लागि टुरिष्ट उम्मेदवार हो । उहाँको मतदाता नामावली कैलाली निर्वाचन क्षेत्र नं. १ मा छ । उहाँको एमाले लिगेसी पनि होइन, माओवादीबाट आउनु भएको हो, त्योभन्दा पहिले उहाँ कांग्रेसमा हुनुहुन्थ्यो, उहाँ राजनीतिमा स्थिर पनि हुनुहुन्न । जसले गर्दा उहाँलाई कुन आधारमा सहयोग गर्ने ?’

त्यस्तै, अछाममा एमाले संगठन विभाग प्रमुख समेत रहेका क्षेत्रीय संयोजक प्रकाश शाहले अछाममा टिकटको विषयमा असहज परिस्थिति सिर्जना भए पनि आफूहरु चुनावको मुखमा पार्टीविरुद्ध जाने कुरा नभएको बताए । तर आमजनताको खल्बलिएको मनोभावना सुधार्ने काम नेतृत्वको रहेकोले सबै जनताको मनमा आफूहरु पस्न नसकिने उनले स्पष्ट पारे ।

​उम्मेदवारी खोसिएपछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले एमालेका सबै उम्मेदवारलाई मत माग्न नसकिने बताएपछि यहाँ एमाले नेता कार्यकर्ताहरु अन्योलमा रहेको बताइएको छ । एमाले अध्यक्षबाट रुष्ट बनेका नेता रावललाई सम्मानजनक ढंगले अछाममा उतार्न सके निर्वाचनको वातावरण एमालेको पक्षमा बन्न सक्ने बताइन्छ । तर नेता रावलले अझैसम्म यसबारे बोलेका छैनन् ।

एमाले उम्मेदवार तथा पूर्व मन्त्री बोहराले भने रावलको नाम उम्मेदवारको रुपमा एकल सिफारिस आफूहरुले नै गरेको तर पार्टी नेतृत्वले रावलको टिकट खोसेर आफूलाई जिम्मेवारी दिएपछि निर्देशन मात्रै पालना गरिरहेको बताएका छन् ।

नेता रावल आफ्नो अभिभावक रहेको बताउँदै उनले रावलले अभिभावकीय भूमिका गर्नेमा आफू ढुक्क रहेको प्रतिक्रिया रातोपाटीलाई दिए । उनले आफूलाई ‘टुरिष्ट’ उम्मेदवार भनिएको सम्बन्धमा भने, ‘अघिल्लो निर्वाचनमा अछामी जनताले मलाई यहाँबाटै निर्वाचित गराएर प्रदेश सांसद बनाए । अर्थ मन्त्री भएँ । मैले यहाँ गरेको विकासको काम हेर्नुस् । त्यो बेला त मलाई कसैले टुरिष्ट भनेन त ?’

प्रचण्डले गोरखा गएर चुनाव लड्न हुने, शेरबहादुर देउवा धनगढीमा चुनाव लड्न हुने तर आफूले अर्को क्षेत्रमा गएर लड्न किन नहुने भन्ने उनको प्रश्न छ । उनले भने, ‘मेरो घरजग्गा अछाममै छ । नागरिकता यहीँको छ । मेरो उम्मेदवारी विधि र कानुन सम्मत छैन भने भन्नुप¥यो ।’

गठबन्धनमा बागीको भय

एमाले उम्मेदवार बोहरालाई मात्रै होइन, गठबन्धनका साझा उम्मेदवारसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई पनि चुनावी दौड त्यति सहज छैन । मन्त्री कुँवरविरुद्ध कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले बागी उम्मेदवारी दिएपछि चुनौती थपिएको हो । राजन कुँवर नेपाली कांग्रेस अछामका जिल्ला सभापतिका प्रत्यासी हुन् ।

एमाले र गठबन्धनभित्रको किचलोले अछाममा एमाले र गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार भारी पर्न सक्ने पनि आकलन गर्न थालिएको छ । एमालेका असन्तुष्ट र गठबन्धनमा विद्रोह गरेका राजन मिल्न सके उल्टो नतिजा आउन सक्ने सम्भावना रहकाले एमाले र गठबन्धनका उम्मेदवारलाई बागी उम्मेदवारी भारी पर्न सक्ने बताउन थालिएको छ ।

​यद्यपि स्थानीय तह निर्वाचको मत परिणामले गठबन्धनका उम्मेदवारले निर्वाचन आफ्नो लागि सहज रहेको बताएका छन् । मन्त्री कुँवरले रातोपाटीसँग भने, ‘मान्छे विभिन्न खालका हुन्छन् । सम्बन्धित पार्टीलेले पनि बागीप्रति गम्भीरतापूर्वक नै लिएको छ । मेरो दौडमा बागी र एमालेका उम्मेदवारलाई फरक पार्ने मैले देखेको छैन ।’

अछामको निर्वाचन क्षेत्र नं. १ मा साँफेबगर नगरपालिका, रामारोशन, बान्नीगढी, चौरपाटी, मेल्लेख गाउँपालिका पर्दछन् । स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा एमाले शून्य छ । यहाँ कांग्रेस ४ र माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ । अछाम–१ का ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र ३ जना वडाध्यक्ष जितेको छ ।

यहाँ पहिलो, दोस्रो र तेस्रो शक्तिको साझा उम्मेदवार मन्त्री कुँवर नै हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप