शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा देउवा निर्विकल्प उम्मेदवार बनेकै हुन् ?

प्रदेशतर्फ गठबन्धनका उम्मेदवारलाई कडा चुनौती
शुक्रबार, ०४ कात्तिक २०७९, १८ : १९
शुक्रबार, ०४ कात्तिक २०७९

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लालाई मंसिर ४ गते हुने आम निर्वाचनको ‘इपी सेन्टर’को रुपमा हेरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यो क्षेत्रबाट ६ पटक निर्वाचित भइसकेर सातौं जितको खोजीमा उम्मेदवार बनेका छन् ।

डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह पर्दछन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले २ नगरपालिकाका मेयरसहित ३ गाउँपालिका अध्यक्ष जितेको छ । माओवादी केन्द्रले २ गाउँपालिका अध्यक्ष जितेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार सत्ता गठबन्धन यहाँ बलियो छ ।

तर प्रधानमन्त्री देउवाको घर रहेको वडासहित २ वडा जितेको कांग्रेस (बीपी)ले प्रतिनिधिसभातर्फ कर्ण मल्ललाई उम्मेदवार बनाएको छ । लामो समय नेपाली कांग्रेसमै रहेका मल्ल पछिल्लो समय कांग्रेस (बीपी) मा आवद्ध भएका हुन् । तर नेकपा एमालेले कांग्रेस (बीपी)सँग गरेको तालमेल तोडेपछि उनी तुलनात्मक रुपमा निकै कमजोर देखिएका छन् ।

गठबन्धन निकट एक नेताले प्रतिनिधिसभातर्फ देउवा निर्विकल्प उम्मेदवारजस्तै भइसकेको दाबी गरे । देउवाको प्रतिस्पर्धाको रुपमा हेरिएका मल्ल आफ्ना सहयोगीबाटै एक्लिएको र स्वतन्त्र उम्मेदवार सागर ढकालको पकड मतदाताभन्दा फेसबुकमा मात्रै बढी देखिएकाले देउवा निर्विकल्प उम्मेदवारजस्तै भइसकेको उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार ढकाल बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न गरेर चर्चामा आएका हुन् । सागर ढकाललाई डडेल्धुराका युवाको दरिलो समर्थन रहेको बताइएको छ ।

देउवाले लिङ्ग परिवर्तन बाहेक सबै गरे : मल्ल

कर्ण मल्ल भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । प्रतिनिधिसभा निर्वाचन र स्थानीय तह निर्वाचन फरक हुने भन्दै उनले मुलुक र जनताको हक हितका लागि देउवालाई रोक्न आफू उम्मेदवार बनेको उनको भनाइ छ ।

‘म निरन्तर ३२÷३३ वर्षदेखि जनतामाझ छु । यहाँको जनताको समस्या समाधानका लागि संघर्षरत छु । तर सम्मानीय प्रधानमन्त्रीज्यूले यहाँका जनतालाई ढाँट्दै आउनु भएको छ । उहाँ ६ पटक जित्दै गर्दा, ५ पटक प्रधानमन्त्री हुँदै गर्दा यहाँ शिक्षा, स्वास्थ्यको अवस्था, बाटोघाटोका अवस्था, खानेपानीको अवस्था विकराल छ, जर्जर छ’, उनले रातोपाटीसँग भने, ‘अब यहाँका जनताले सातौं पटक उहाँलाई मत दिएर मुलुकलाई दुर्दशामा धकेल्नु हुन्न । मुलुकको दुर्दशा हुनबाट रोक्नका लागि पनि यहाँका जनताले मलाई यसपटक विश्वास गर्नेमा म विश्वास्त छु ।’

उनले स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री देउवाले मानिसको लिङ्ग परिवर्तनबाहेक सबैथोक गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘स्थानीय निर्वाचनमा देउवाले लोग्ने मानिसलाई स्वास्नी मानिस र स्वास्नी मानिसलाई लोग्ने मानिस बनाउनेबाहेक सबै गरिदिन्छु भनेर लाग्नु भयो । मतदाताको टाउकोको मूल्य तोकियो । निर्वाचन एजेन्ट र प्रहरी प्रशासनमार्फत मतदातालाई पैसाको प्रभावमा पार्नुभयो । त्यसैको परिणति हो, त्यो परिणाम हो । अब त्यो आउँदैन ।’

प्रदेशतर्फ गठबन्धनका उम्मेदवारलाई कडा चुनौती

प्रतिनिधिसभा उम्मेदवार देउवाको भन्दा प्रदेशसभा सदस्यतर्फ कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । प्रदेशसभाको (क) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्जसमेत रहेका खगराज भट्ट र नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहराबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । बोहरा सुदूरपश्चिम सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

गठबन्धनका उम्मेदवार भट्ट स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार बलियो देखिन्छन् । तर यस क्षेत्रमा विगतदेखि क्षेत्रीय र भेगीय नारा लाग्दै आएको छ । एमाले उम्मेदवार बोहरा त्यही क्षेत्रीय र भेगीय नाराका साथ चुनावीमा दौडमा छन् ।

बोहरा र भटट् उम्मेदवार रहेको सो क्षेत्रमा ९५ प्रतिशत बसोबास बैतडी, बझाङ, दार्चुलाबाट आएकाहरुको छ । बोहरा ती मतदाताहरुलाई रिझाएर चुनाव जित्ने रणनीतिमा छन् । तर यस क्षेत्र अन्तर्गतको २७ वटा वडामध्ये नेकपा एमालेले ४ र बाँकी वडामा माओवादी केन्द्र र कांग्रेसले नै वडाध्यक्ष जितेकोले गठबन्धनका उम्मेदवार बलियो देखिएका हुन् ।

त्यस्तै, प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द बोहराले उम्मेदवारी दिएका छन् । उनी सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री हुन् ।

उनको प्रतिस्पर्धीको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा प्रसाद जोशी छन् । उनी सो क्षेत्रका बलिया उम्मेदवारको रुपमा देखिएका छन् । गठबन्धन घटक एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका जोशीले प्रदेशसभा सदस्यको टिकट नपाएपछि पार्टीको निर्देशन विपरीत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जोशीले देउवालाई हराउन कांग्रेस (बीपी)सँग चुनावी तालमेल गरेका थिए । तर नेकपा एकीकृत समाजवादी केन्द्रीय समितिले भने उक्त तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन दिएको छ ।

जिल्लास्तरमा देउवालाई हराउन समाजवादीले गरेको सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभा उम्मेदवार देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस (बीपी)का कर्ण मल्ललाई र प्रदेशसभा (ख) मा कांग्रेस (बीपी)ले जोशीलाई सघाउनुपर्ने थियो । तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिए । तर जोशी आफ्नो उम्मेदवारी कायमै राखी चुनावी दौडमा सक्रिय छन् ।

जोशीले स्वतन्त्र उम्मेदवारी दिए पनि समाजवादीको जिल्लाको सम्पूर्ण टीमको साथ सहयोग आफूलाई रहेको बताए । पार्टीको चुनाव चिह्न नलिएकाले आफूलाई पार्टीको निर्देशन मान्ने पर्ने बाध्यता नभएको उनको छ । जित्ने आधार हुँदाहुँदै पनि लोकतान्त्रिक अवस्थालाई कुल्चिएर परिवारिक विरासत जोगाउने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि जोशीको भनाइ छ ।

एमालेले कांग्रेस (बीपी)को साथ छोडेपछि

प्रदेशसभा (ख) मा नेकपा एमालेले नेपाली कांग्रेस (बीपी)सँग चुनावी तालमेल गरेको थियो । तर एमालेले चुनावी तालमेल तोडेको छ ।

कांग्रेस (बीपी)ले तालमेलको सहमति विपरीत डडेल्धुरा प्रदेशसभा (ख) मा एमालेलाई छोडेर स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एकल रुपमा चुनावमा जाने निर्णय गरेको छ । जसको असर देउवाका प्रतिस्पर्धी देखिएका मल्लमा पर्ने स्पष्ट देखिन्छ ।

यसअघि प्रतिनिधिसभामा कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष मल्ल, प्रदेशसभा (क) मा एमालेका उम्मेदवार पठानसिंह बोहरा र प्रदेशसभा (ख) मा एमालेकै गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी कांग्रेसबीच सहमति भएको थियो ।

यहाँ बीपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए । तर, प्रतिनिधिसभातर्फ एमालेको आफ्नै उम्मेदवार नभएका कारण उसका मतदाताले कता भोट दिन्छन् भन्ने प्रस्ट भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप