मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

शनिबार, १२ कात्तिक २०७९, ०६ : ३७
शनिबार, १२ कात्तिक २०७९

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ । 

यसवर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दसैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको जानकारी दिए । 
    
विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट  अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र  लामो दूरीमा प्रतिव्यक्ति रु ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको  २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । उनले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताउनुभयो । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।

नदी किनारमा घुम्न आउने अधिकाश आन्तरिक पर्यटकहरु यहाँ जल बिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौला कालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप