मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा

मङ्गलबार, ०५ साउन २०८३, १५ : १५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका विभिन्न वस्तुमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानडा व्यापार सम्झौताको उल्लङ्घन भएको बताएका छन् ।
  • ट्रम्पले कार्यकारी आदेशमार्फत वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, फर्निचर, आइस हक्कीका खेल सामग्रीलगायत विभिन्न वस्तुमा ५० प्रतिशत आयात शुल्क लगाउने निर्णय गरेका हुन् ।
  • क्यानाडाका प्रधानमन्त्री कार्नीले बाँकी रहेका सबै व्यापारिक विवाद समाधान गर्न अमेरिका सँग गहन वार्ता गर्न क्यानडा तयार रहेको बताएका छन् ।

ओटावा । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानडा व्यापार सम्झौताको उल्लङ्घन भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका विभिन्न वस्तुमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएपछि उनको यो अभिव्यक्ति आएको हो । साथै उनले बाँकी रहेका विवाद समाधान गर्न क्यानडा अमेरिकासँग वार्ताका लागि तयार रहेको पनि स्पष्ट पारे । 

राष्ट्रपति ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशमार्फत क्यानडाबाट आयात हुने वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, फर्निचर, आइस हक्कीका खेल सामग्रीलगायत विभिन्न वस्तुमा ५० प्रतिशत आयात शुल्क लगाउने निर्णय गरेका छन् ।

ह्वाइट हाउसका अनुसार यो निर्णय सन् १९३० को ट्यारिफ ऐनको धारा ३३८ अन्तर्गत गरिएको हो । यो ऐनले अमेरिकाका वस्तुमाथि भेदभाव गर्ने देशमाथि राष्ट्रपतिलाई अधिकतम ५० प्रतिशतसम्म आयात शुल्क लगाउने अधिकार दिन्छ ।

 ह्वाइट हाउसले क्यानडाले अमेरिकी सवारीसाधन, मदिरा र दुग्धजन्य वस्तुमाथि भेदभावपूर्ण नीति अपनाएको आरोप लगाउँदै त्यसको जवाफस्वरूप नयाँ शुल्क लगाइएको जनाएको छ । यी नयाँ शुल्क ३० दिनपछि लागू हुनेछन् ।

प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाको निर्णय उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौताको भावना विपरीत रहेको बताएका छन् । उनका अनुसार यो अमेरिका द्वारा हालै गरिएका एकतर्फी निर्णयहरूको पछिल्लो उदाहरण हो ।

 कार्नीले अमेरिकाले क्यानडाको सवारीसाधन उद्योगमाथि यसअघि लगाएको शुल्कको जवाफमा आफ्नो सरकारले समान प्रकृतिको कदम मात्र चालेको दाबी गरेका छन् । 

कार्नीले तत्काल अमेरिकामाथि प्रतिशोधात्मक शुल्क लगाउने घोषणा भने गरेका छैनन् । बरु उनले बाँकी रहेका सबै व्यापारिक विवाद समाधान गर्न अमेरिका सँग गहन वार्ता गर्न क्यानडा तयार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप