मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल

मङ्गलबार, ०५ साउन २०८३, १५ : १७
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
  • राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको र लोकतन्त्र स्थापनामा उनको भूमिका स्मरणीय रहने बताए ।
  • उनले २०३६ सालको जनमत संग्रहअघि सचिव पदबाट राजीनामा दिएर पाण्डेले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको स्मरण गरे ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन् । 

समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् । 

उनले नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताए । 

राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनमा दिएको नेतृत्वदायी भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताए । 

राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरेका थिए । क्यान्सरबाट पीडित पाण्डेको साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप