शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्र अस्तमा धार्मिक कर्म गर्नेलाई कारबाहीको माग

सोमबार, १४ कात्तिक २०७९, १४ : ३७
सोमबार, १४ कात्तिक २०७९

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ । असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ ।

गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ । हिन्दू जागरणले बिना मुहूर्त धार्मिक कार्यक्रम गर्नेको प्रमाणसहित समितिमा उजुरी दर्ता गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । यस्तो काम गर्नेलाई समिति गठन आदेश, २०७७ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ । 

हिन्दू जागरणले समितिले स्वीकृति नदिइ प्रकाशन भएका पात्रोलाई पनि कारबाही गर्न माग गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोले आफूखुसी मुहूर्त र साइत राख्ने एवम् सोअनुसार काम गर्ने गरिएकाले समिति गठन आदेश बमोजिम कारबाही गर्न माग गरिएको हो । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह, व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । 

समितिमा आएको उजुरीका विषयमा आवश्यक कारबाही गरिने उनले जानकारी दिए । समितिमा थोरै जनशक्ति भएकाले गठन आदेशले दिएका सबै काम गर्न सम्भव नभएको बाइएको छ  । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा छ । गठन आदेश बमोजिम यस वर्षका पात्रो र भित्तेपात्रो समितिको स्वीकृतिमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले कार्यविधि पनि मस्यौदा गरी स्वीकृतिको चरणमा रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप