आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीका स्थानीय तहमा मतदाता शिक्षा

शनिबार, १९ कात्तिक २०७९, १४ : २९
शनिबार, १९ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।  निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । 

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका  अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । हरेक पालिकाले स्थानीयस्तरमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएका उनले बताए । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । 

उक्त कार्यक्रमको अनुगमनसमेत पालिकाले नै गर्नेछ । उनले भने– “हरेक वडामा कम्तीमा एकजना स्वयम्सेविका खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । उनीहरूले  नमुना मतपत्रसहित मतदान कसरी गर्ने र  निर्वाचनमा किन भाग लिनेबारे सिकाउँदैछन् ।” 

आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम मङ्सिर १ गते सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाता शिक्षाले मत बदरको सङ्ख्या घटाउने फुयालको दाबी रहेको छ । 
यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।

मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमुना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ ।  प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक÷एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ ।  
निर्वाचन आयोगले आगामी मङसिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप