शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको ‘मिसन प्रधानमन्त्री’

आफैँले नेतृत्व गर्ने अवस्थाबाहेक माओवादी सरकारमा जानुहुँदैन : सापकोटा
आइतबार, १८ मङ्सिर २०७९, १६ : ४७
आइतबार, १८ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने ‘मिसन’ मा लागेका छन् । संसदको तेस्रो शक्तिमा खुम्चिएर पनि नयाँ सत्ता समीकरणमा निर्णायक बनेपछि प्रचण्डले प्रधानमन्त्री हुने बाटो खोज्न थालेका हुन् ।

गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आधा कार्यकाल सरकारको नेतृत्व प्रचण्डलाई छोड्ने सहमति भएको थियो । तर, ओलीले प्रधानमन्त्री पद छोड्न तयार नभएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने सपनामा ब्रेक लागेको थियो । पछि पार्टीभित्रको विवादले नेकपा छिन्नभिन्न भएपछि प्रचण्डकै प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाएका थिए । 

देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेपनि प्रचण्डमा प्रधानमन्त्री बन्ने हुटहुटी भने बाँकी नै थियो । चुनावअघि प्रचण्डले सार्वजनिक कार्यक्रमबाट नै फेरि एकपटक देशको नेतृत्व लिन चाहेको खुलाएका थिए । गत असार ११ गते नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रण्चडले भनेका थिए,

‘देशलाई नयाँ युगतिर लैजानका लागि फेरि एकपटक प्रधानमन्त्री हुने सपना छ । देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्न मन छ ।’

नयाँ गठबन्धनसहित चुनावमा होमिएका प्रचण्डको आङ्कलन थियो, चुनावमा गठबन्धनको स्पष्ट बहुमत आउँछ । त्यही बहुमतको आधारमा आफू पुनः प्रधानमन्त्री बन्ने उनको बुझाई थियो । तर हालै सम्पन्न निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी अंकगणित नपुगेपछि माओवादीले पार्टी पदाधिकारी बैठकबाट सरकार गठन गर्न सबै ‘विकल्प’हरु खुला राख्ने निर्णय गरेको छ । पार्टीले संसद्को प्रतिनिधित्व गर्ने सबै दलहरूसँग सरकार गठनका विषयमा खुला छलफल गर्ने भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । 

यो चुनावमा प्रचण्डले माओवादीको कूल सिट ५० भन्दाबढी आउने अपेक्षा राखेका थिए । त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको २० भन्दामाथि र राष्ट्रिय जनमोर्चाको २ सिट सजिलै पुग्ने अनुमान थियो । त्यसो भएमा स्वाभाविक रूपमा सरकारको नेतृत्व गर्ने अवस्था आफै सृजना हुनेमा प्रचण्ड ढुक्क थिए । तर, अनपेक्षित नतिजा हात लागेपछि प्रचण्ड विभिन्न विकल्पमा छलफल गरेर सरकारको नेतृत्व गर्ने बाटो खोज्न थालेका हुन् ।

‘हामी कांग्रेसलाई सजिलै सरकारको नेतृत्व छोड्नुपर्छ भन्नेमा छैनौँ । आफ्नो तर्फबाट सरकार बनाउन पहल जारी राख्ने भन्ने छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रचण्ड कमरेडको नेतृत्वमा सरकार बनाउन कति सिट तयार गर्न सकिन्छ त्यो बनाउन भेटघाट जारी छ । त्यसपछि प्रधानमन्त्रीको दाबी गर्ने अवस्था सजिलै बन्न सक्छ ।’  

त्यसका लागि आफूले नेतृत्व गर्ने अवस्थामा कुन कुन दल एक कठ्ठा पार्न सकिन्छ भन्दै अंकगणित तयार पार्न जुटेका छन् । जसमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी(जसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टीका नेताहरूसँग लगालग भेटघाट र छलफल जारी राखेका छन् । 

प्रचण्डको मिसनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत प्रचण्डका सारथि बनेका छन् । यदि उनले छलफल गरेका दललाई एक ढिक्का पारेमा माओवादीको ३२ सिटसहित जसपा १२ सिट, एकीकृत समाजवादी १० सिट, नागरिक उन्मुक्ति ४ सिट, जनमत पार्टी ५ सिट, राष्ट्रिय जनमोर्चा गरी कुल ६४ सिट पुग्न सक्ने अनुमान छ । यद्यपि यस विषयमा ठोस प्रगति भने भइसकेको छैन । 

यद्यपि, माओवादीले सरकारको नेतृत्वमा दाबी गरे पनि गठबन्धनलाई भने कायमै राखेर जाने विषयमा भने स्पष्ट रहेको पार्टीका नेताहरूले दाबी गरेका छन् ।  ‘हामी कांग्रेसलाई सजिलै सरकारको नेतृत्व छोड्नुपर्छ भन्नेमा छैनौँ । आफ्नो तर्फबाट सरकार बनाउन पहल जारी राख्ने भन्ने छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रचण्ड कमरेडको नेतृत्वमा सरकार बनाउन कति सिट तयार गर्न सकिन्छ त्यो बनाउन भेटघाट जारी छ । त्यसपछि प्रधानमन्त्रीको दाबी गर्ने अवस्था सजिलै बन्न सक्छ ।’ 

माओवादीसहित एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, जनमोर्चा लगायत दललाई एक ढिक्का बनाएर कांग्रेसलाई सरकारको नेतृत्व छोड्न दबाब दिने प्रचण्डको रणनीति रहेको उनको भनाई छ । यी पार्टी एक ढिक्का भए कांग्रेसलाई नयाँ सरकार गठनमा सकस हुने र प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने अवस्था आउन सक्ने माओवादी नेताहरूको बुझाई छ । 

यदि कांग्रेस माओवादीसहित सत्ता गठबन्धन दललाई छोडेर एमालेसँग मिलेर सरकार बनाएमा आफूहरु प्रतिपक्षमा बसेर पार्टी निर्माणमा जुट्ने ती नेताको भनाइ छ । 

माओवादी पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफूले नेतृत्व गरेर जाने अवस्थामा मात्रै पार्टी सरकारमा जानुपर्ने जिकिर गरे । यदि आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने अवस्थामा भने समर्थन मात्रै गरेर सत्ता बाहिर बस्नु पर्ने सापकोटाको भनाइ छ ।

पार्टी सचिव गणेश शाहले पार्टीबाट सरकारको नेतृत्व गर्न अध्यक्ष प्रचण्डलाई पठाउनुपर्छ भन्ने कुरा जोडदार रूपमा उठेको बताए । ‘तत्कालीन नेकपा विभाजन भएपछि प्रचण्ड र माधवजीले देउवाजीलाई प्रधानमन्त्री प्रस्ताव गरेर बनाउनुभयो । त्यतिबेला कांग्रेसको ६२ सिट थियो । प्रचण्ड र माधवजीले नेतृत्व गरेको पार्टीको ७० भन्दा बढी सिट थियो । त्यतिबेला पार्टीको सिट हेरेर देउवाजीलाई नेतृत्व गर्ने अवसर दिएको होइन,’ रातोपाटीसँग कुरा गर्दै शाहले भने, ‘अहिले प्रधानमन्त्री देउवाजी हुनुहुन्छ । स्वाभाविक रूपमा अब उहाँले प्रचण्डजीलाई प्रधानमन्त्री प्रस्ताव गरेर बनाउनुपर्ने हो । तर त्यो अवस्था देखिएको छैन । त्यसैले पार्टीले सरकार गठन गर्न सबै विकल्प खुला गर्ने निर्णय गरेको हो ।’ अहिले सिट सङ्ख्या मात्र हेरेर माओवादीले नेतृत्व गर्न पाउँदैन भन्न नमिल्ने शाहले जिकिर गरे । 

यस्तै माओवादीकै अर्का पोलिटब्यूरो सदस्य राजन दाहालले गठबन्धनमै रहेर सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने दाबी गरे । ‘अझै सरकार बनाउने सिनारियो आइसकेको छैन । सबै मत परिणाम पनि आइसकेको छैन । साना दलहरूसँग अध्यक्ष प्रचण्डले भेटघाट र छलफल गरी राख्नु भएको छ । ती दलहरुलाई समेत जोडेर झण्डै ६० सिट पुग्ने अवस्था देखिएको छ । त्यसपछि सरकार गठनको प्रक्रिया ठोसरुपमा अगाडि बढ्छ’ दाहालले भने, ‘तर हामी अहिलै गठबन्धन तोड्ने पक्षमा छैनौँ । गठबन्धनभित्र हाम्रो उपस्थित मतबुत बनाएर सरकार गठनतिर अगाडि बढ्ने भन्ने सोच छ ।’

सरकारको नेतृत्व गर्न अंकगणित मात्रै नभई राजनीतिक पहल कदमी प्रमुख कुरा भएको दाहालले बताए । ‘राजनीतिक रूपमा पहल कदमी लिने भन्ने मुख्य कुरा हुन्छ । यो राष्ट्रिय राजनीतिलाई यहाँसम्म ल्याउन प्रचण्डको पहलकदमी छ’ दाहालले भने, ‘हामीलाई भोट ट्रान्सफर नहुँदा र पार्टीको आन्तरिक कारणले कम सिट आयो । यदि कम सिट ल्याएकाले सरकारको दाबी गर्नुहुँदैन भन्ने हो भने हिजो २३ सिट जितेको कांग्रेसलाई ३६ सिट जितेको माओवादीले प्रधानमन्त्री बनाएर सहयोग गरेकै हो । त्यसैले सिट सङ्ख्या मात्रै प्रधान होइन ।’

माओवादी पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफूले नेतृत्व गरेर जाने अवस्थामा मात्रै पार्टी सरकारमा जानुपर्ने जिकिर गरे । यदि आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने अवस्थामा भने समर्थन मात्रै गरेर सत्ता बाहिर बस्नु पर्ने सापकोटाको भनाइ छ । ‘सरकारमा जाँदा परिणाम देखाउन नसक्ने संलग्नता मात्रै हुने भयो । ओली सरकारमा सहभागी भयौँ । उनले गरेका भ्रष्टाचार अनियमितता र गलत क्रियाकलापको अपजस हामीले लिनुपर्ने भयो । देउवा सरकारमा सहभागी भयौँ । उनले गर्न नसकेका अपजस हामीले लिनुपर्ने भयो,’ सापकोटाले भने, ‘त्यसैले यो ५ वर्ष माओवादी सरकारमा जानुहुँदैन । सरकार नबन्ने स्थितिमा समर्थन गरेर सहयोग गर्नुपर्छ । आफैँले नेतृत्व गर्ने अवस्थाबाहेक सरकारमा जानुहुँदैन ।’  

कांग्रेसबाहेकको सिट 

माओवादी : ३२ सिट

जसपा  :१२ सिट 

एकीकृत समाजवादी :१० सिट 

नागरिक उन्मुक्ति ४ सिट 

जनमत पार्टी : ५ सिट 

राष्ट्रिय जनमोर्चा १ सिट 

कुल : ६४ 

एमाले सहितको अंक गणित 

एमाले : ७७ सिट 

माओवादी ३२ सिट 

जसपा : १२ सिट 

एकीकृत समाजवादी : १० सिट 

नागरिक उन्मुक्ति : ४ सिट 

जनमत पार्टी : ५ सिट 

जनमोर्चा : १ सिट  

कूल : १४१ सिट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप