शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हतियारबिना यस्तो हुन्छ संसद् भवनभित्रको सुरक्षा प्रणाली

सभाभित्र सांसदले अमर्यादित व्यवहार गरे यस्तो छ व्यवस्था
सोमबार, ११ पुस २०७९, ११ : ४४
सोमबार, ११ पुस २०७९

सांसद अर्थात् जनताका जनप्रतिनिधि र कानुन निर्माता एक मर्यादित पेसा भए पनि कहिलेकाहीँ उनीहरूले प्रतिनिधिसभामै अमर्यादित व्यवहार देखाउने गर्छन् । संसद् भवनभित्रको सुरक्षा र सांसदले गर्ने अमर्यादित गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ, जसलाई मर्यादापालक भनिन्छ ।

नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागबाट उनीहरू मर्यादापालकको भूमिकामा संघीय संसद्मा सुरक्षाका लागि खटिएका हुन्छन् । संघीय संसद्मा हाल १३१ जना मर्यादापालक कार्यरत छन् ।

नेपाल प्रहरीका एसपीको कमाण्डमा उनीहरू काजका रूपमा संसद् सचिवालयमा खटिने गरेको संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । संसद् चलेको बेलामा १३१ जना मर्यादापालक  ड्युटीमा रहेका हुन्छन् भने संसद् नचलेको बेला ५४ जना ड्युटीमा हुन्छन् ।

मर्यादापालक प्रमुखमा उपसचिव सरह, सह मर्यादापालक पदमा नेपाली सेनाबाट अवकासप्राप्त लेफ्टिनेन्ट कर्नेल छन् । उनीसहित ३ जना पूर्व सुरक्षाकर्मी भने संसद् सचिवालयले नियुक्त गरेको छ ।

संसद् बैठक बस्नुअघि हरेक पटक संसद् भवनको ‘स्क्यान’ गर्ने काम हुन्छ । त्यसका लागि सेनाको बम डिस्पोजल टोली र प्रहरीको कुकुरले सभाहल र त्यसबाहिरको भागमा ‘स्क्यान’ गर्छन् ।

यसका लागि नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा ८ जनाको बम डिस्पोजल टोली खटिएको हुन्छ भने नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा ८ जना ‘डग सर्चिङ’ टोली छ । यस्तै संसद् भवनमा सवारी व्यवस्थापनका लागि ८ जना ट्राफिक प्रहरी टोली छ । यस्तै सिंहदरबारमा रहेको सचिवालयको सुरक्षाका लागि २४ सै घण्टा १८ जना मर्यादापालकको टोली खटिने गरेका छन् ।

संसद् सचिवालयमा काम गर्न तालिमप्राप्त तथा अनुभवी सुरक्षाकर्मी मर्यादापालकको भूमिकामा रहने गर्दछन् । उनीहरूलाई ३ दिनको तालिम दिइन्छ । संसद्भित्र के कस्तो कारबाही हुन्छ ? कुन अवस्थामा सुरक्षाकर्मीले कस्तो व्यवहार गर्ने भन्नेबारे तालिम दिने गरिन्छ । संसद् सचिवालयमा काम गर्ने सुरक्षाकर्मीहरूलाई भीभीआइपी सेक्युरिटी तालिममा पनि सहभागी गराइएको हुन्छ । संसद्मा दिइने ३ दिने तालिममा भने कस्तो अवस्थामा कसरी ड्रिल गर्ने, प्रतिपक्षी दलले तानातान गरेको अवस्थामा के गर्ने, झडप हुन लागेको अवस्थामा के गर्ने भन्ने तालिम दिइएको हुन्छ । खासगरी मर्यादापालकलाई ३ प्रकारको ड्रिल प्रयोगको तालिम दिइएको हुन्छ ।

विशिष्ट व्यक्ति तथा पदाधिकारीलाई कस्तो बोली व्यवहार गर्ने, कसरी काम गर्ने भन्नेबारे अगाडि नै तालिम दिइसकिएको हुन्छ भने संसदीय प्रक्रियाबारे पनि तालिम दिइएको हुन्छ ।

सचिवालयका प्रवक्ता डा.पाण्डेले भने, ‘मर्यादापालकहरु नेपाली सेना र नेपाल प्रहरीबाट यहाँ काजमा आएका हुन्छन् । संसद्मा सुरक्षाका लागि आउनुअघि उनीहरूलाई अभिमुखीकरण तालिम दिइएको हुन्छ । संसदीय सुरक्षा घेरा कति किसिमको छ, सुरक्षा व्यवस्था कसरी गर्ने भन्नेमा उनीहरूलाई तालिम दिइएको हुन्छ । आफूलाई चाहिने उपकरण पनि उनीहरूले आफ्नै कार्यालयबाट व्यवस्था गरेका हुन्छन् । तर मर्यादापालकले लगाउने पोसाक भने हामीले संघीय संसद् सचिवालयबाट व्यवस्था गर्छौँ । संघीय संसद् सचिवालय प्रशासन महाशाखाको चेन अफ कमाण्ड अनुसार उनीहरू खटिने गर्छन् ।’

खासगरी संसद् बैठक कक्षमा भने जवान तहभन्दा माथिल्लो तहका सुरक्षाकर्मीलाई खटाइने गरिएको छ । जहाँ प्रहरी सहायक निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी उपरीक्षक तहका प्रहरीलाई खटाइने गरिन्छ । यस्तै सदनभित्र खटिने सुरक्षाकर्मीमध्ये ३३ प्रतिशत महिला सुरक्षाकर्मी खटाइने गरिएको छ । प्रहरी संगठनबाट आएका सुरक्षाकर्मी एसपीको कमाण्डमा रहनुका साथै संसद् सचिवालयको पनि कमाण्डमा हुन्छन् । 

संसद् भवनको सुरक्षाका लागि संसद् भवनभित्रै सशस्त्र प्रहरीको सुरक्षा क्याम्प पनि राखिएको छ । 

उच्चस्तरीय पदाधिकारीबाहेक सबैको सुरक्षा जाँच

संसदको सभाहलमा प्रवेश गर्ने उच्चस्तरीय पदाधिकारीबाहेक सबैको सुरक्षा जाँच गर्ने व्यवस्था हुन्छ । संसद् भवनभित्र प्रवेशका क्रममा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र आमन्त्रित भएर आएका बेला राष्ट्रपति बाहेक अरु सबैको सुरक्षा जाँच हुन्छ । मन्त्री, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक तथा सम्पूर्ण सांसदको सुरक्षा जाँच हुन्छ ।

सांसदहरू संसद् भवनभित्र प्रवेशका लागि ‘सेक्युरिटी स्क्यानर गेट’ बाट प्रवेश गर्नेछन् भने उनीहरूले बोकेको झोलाको स्क्यान गरिन्छ । झोलामा साँचो, पानीको बोतल, छाता, खानेकुरा, सलाई, लाइटर जस्ता सामग्री भए भित्र लान दिइँदैन । झोलामा त्यस्ता सामग्री बाहिर नै लकरमा राखिन्छ । उनीहरूले मोबाइल भने बोकेर जान सक्ने व्यवस्था हुन्छ ।

सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई सेनाका क्याप्टेन नेतृत्वको सुरक्षा

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि विशेष सुरक्षा प्रबन्ध गरिएको हुन्छ । उनीहरूको सुरक्षामा नेपाली सेनाका क्याप्टेन पीएसओको रूपमा हुन्छन् । यद्यपि, सेना वा प्रहरीको पोसाक लगाएर सभा हलभित्र प्रवेश गर्न नपाउने व्यवस्था छ । सदन चलिरहेका बेला भने सभामुख र राष्ट्रियसभा अध्यक्षको सुरक्षा मर्यादापालकको जिम्मामा हुन्छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा सुरक्षाकर्मीले लगाउने पोसाक र हतियार निषेध गरिएको हुन्छ ।

सभामुखले रुलिङ गरे मर्यादापालकले सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सक्छन्

सभामुखको रुलिङबिना सभाहलमा असभ्यता प्रकट गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने सांसदलाई मयार्दापालकले बाहिर निकाल्न भने सक्दैनन् । सभामुखको आदेश अनुसार मात्र उनीहरूले त्यस्ता सांसदलाई बाहिर निकाल्न सक्छन् ।

यदि संसद् भवनभित्र जटिल अवस्था आएको अवस्थामा तालिमप्राप्त थप ७० जना मर्यादापालकको तालिम लिएका सुरक्षाकर्मी प्रहरी मुख्यालयमा ‘ब्याक अप’को रूपमा तयारी अवस्थामा हुन्छन् । संसद्मा हुने परिस्थिति अनुसार थप सुरक्षाकर्मी बोलाउने तयारी समेत गरिएको हुन्छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ३० मा चेतावनी दिने सम्बन्धी व्यवस्था छ । बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने भन्ने व्यवस्था छ ।  

नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्न सक्ने व्यवस्था छ ।  नियम ३० बमोजिमको आदेश पालन नगर्ने सांसदलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने र आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्ने, बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादा पालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ भन्ने व्यवस्था छ ।

त्यसरी निकालिएको सांसदले तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ ।

यस्तै नियम ३२ मा सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान वा नियमावलीको जानीजानी उल्लङ्घन वा अवहेलना गर्ने सांसदलाई सभामुखले निलम्बनको प्रक्रिया अघि बढाउन निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । सो प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिने र बढीमा पन्ध्र दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ ।

नियम ३३ मा सभामुखले सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार सम्बन्धी व्यवस्था छ । जसमा कुनै सांसदले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भङ्ग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पु¥याएमा सभामुखले त्यस्तो सांसदलाई बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्ने व्यवस्था छ ।

यसरी निष्कासित सदस्यलाई सभामुखले बढीमा पन्ध्र दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्ने व्यवस्था छ भने निलम्बित सदस्यले सो अवधिभर सभा र कुनै समितिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ । निष्कासित वा निलम्बित सदस्यले चित्त बुझ्दो सफाइ पेस गरेमा वा आफ्नो भूल स्वीकार गरी माफी मागेमा माफी दिई कारबाही फिर्ता लिन सक्ने व्यवस्था समेत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप