शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक संघको अध्यक्ष पदका उम्मेदवार पौडलको अवधारणापत्र सार्वजनिक

मङ्गलबार, १२ पुस २०७९, २० : ०८
मङ्गलबार, १२ पुस २०७९

आउँदो माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्षका उम्मेदवार डा.सन्तोष पौडेलले अवधारणापत्र सार्वजनिक गरेका छन् । उनले पत्रकार सम्मेलन गरी ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ भन्ने मुल नारासहितको अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

७२ वर्षको इतिहास भएको देशकै सबैभन्दा पुरानो पेसागत संगठनको नेतृत्व लामो समयदेखि पुरातन शैलीबाट चलेकाले युवा चिकित्सकहरुले अन्य संस्था खोल्न बाध्य भएको डा. पौडेलले बताए । ‘आम चिकित्सकको एकता खुकुलो बन्दै गएको छ, र संगठनप्रति वितृष्णा यसरी बढ्दै गयो कि आज योग्यता पुगेका एक तिहाइ मात्र चिकित्सक यस संघमा आवद्ध छन्,’ उनले भने, ‘संस्थाको गुमेको गरिमालाई फर्काउन र देशको स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको विकासका लागि मेरो उम्मेदवारी हो ।’

पत्रकार सम्मेलनमा डा. पौडेलले विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै ‘चिकित्सक सेवा ऐन’ आवश्यक पर्ने भन्दै एजेण्डा अगाडि सारेको बताए । हाल प्रस्तावित संघीय निजामती विधेयकमा चिकित्सकलाई समेत मिसाउन खोजिएकाले यस विधाको विशिष्टीकृत प्रकृतिलाई मासेर सामान्य प्रशासनिक जस्तो बनाउन खोजिएको आरोप पनि उनले लगाए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी हालको व्यवस्थालाई यसै ऐनभित्र राखी थप चिकित्सकमैत्री बनाउने एजेण्डा पनि उनले सुनाए । समायोजनका नाममा भएको अवैज्ञानिक विवरण तत्काल खारेज गर्नुपर्ने र समायोजन ऐन अगाडि सेवामा प्रवेश गरेको चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने उनको भनाइ छ ।

चिकित्सक सेवा ऐनमा व्यवस्था गरी चिकित्सकलाई तह वा प्रणालीगत आधारमा नभई पढाइ, योग्यता अनुसार पद सिर्जना गर्ने, योग्यताका आधारमा शैक्षिक जिम्मेवारी उप–प्राध्यापक, सहप्रध्यापक वा प्राध्यापकका लागि थप भत्ता उपलब्ध गराउने पनि उनको एजेण्डा छ । यस्तै, सबै डाक्टरलाई एक पटक सरकारी डाक्टर बन्ने अवसर सिर्जना गर्न पहल गर्ने पनि उनले बताए । राज्यले दश वर्षसम्म देशभित्र निरन्तर सेवा दिएका चिकित्सकलाई एक पटकका लागि घर र गाडी कर्जामा विशेष सहुलियत प्रदान गर्न सम्भव भएको भन्दै उनले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनको चुनावी एजेण्डामा वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ, एक चिकित्सक एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा सुधार र रोजगारीको अवसर, संघीयता कार्यान्वयनको आधारमा संगठनात्मक सुधार जस्ता विषय पनि परेका छन् । कार्यक्रममा स्त्री रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमले  नेपाल चिकित्सक संघलाई क्रियाशील बनाउन युवा नेतृत्व आवश्यक पर्ने बताए । ‘एसोसिएसनमा बुढो टिमले काम गर्न सकेन, अब युवाहरुलाई नेतृत्व दिनुपर्छ,’ उनले भने ।

डाक्टर गोविन्द केसीको समूहले कहिल्यै पनि डाक्टरहरुका हितमा काम नगरेको उनको भनाइ छ । नेपाल चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यकामा आउँदो माघ १९, २० र २१ गते हुनेछ भने उपत्यका बाहिर माघ ६ र ७ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप