बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

बिहीबार, १४ पुस २०७९, ०९ : ३०
बिहीबार, १४ पुस २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् ।

चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए । “स्थानीय कृषकबाट खरिद र आफ्नै बगैचाको दश हजार किलो सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु”, उनले भने–“चैत–वैशाखमा सुन्तला बजारमा पठाउने तयारी छ ।” 

अहिले प्रतिकिलो रु ६० देखि रु ७० का दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकिलो रु १६० देखि रु २०० सम्म बिक्री हुने गुरुङको विश्वास छ । फागुनसम्म सुन्तला बोटबाट फल नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या हुने गरेको छ । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनुभयो । धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा स्थापना भएको दश हजार किलो क्षमताको सो चिस्यान गृहमा यसपाली पहिलो पटक सुन्तला भण्डारण गरिएको हो । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने सञ्चालक गुरुङको योजना छ । चिस्यान गृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ । 

चिस्यान गृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बेनी स्थित सुन्तला जोन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु १३ लाख अनुदान उपलब्ध गराएको थियो । कुल रु २१ लाख खर्च भएको भएको चिस्यान गृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले रु आठ लाखभन्दा बढी लगानी गरेको बताए । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दीमै पहिलो पटक आधुनिक चिस्यान गृह निर्माण भएको बताए । उनका अनुसार परियोजनामार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफुल भण्डारणका लागि सात चिस्यान गृह निर्माण गरिएका छन् । चालु आव २०७९÷८० मा चार चिस्यान गृह निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप