शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिल्लीबजारको ‘टीके प्रथा’ले सुदूरपश्चिम नागरिक उन्मुक्तिमा असन्तुष्टि

शनिबार, १६ पुस २०७९, १४ : २४
शनिबार, १६ पुस २०७९

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता छनोटको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । पार्टीको मर्यादाक्रम मिचेर कनिष्ट नेतालाई संसदीय दलको नेता बनाइएको भन्दै असन्तुष्टि सतहमा आएको छ ।

गएको पुस १० गते काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रदेशदेखि संघसम्मको संसदीय जिम्मेवारी बाँडफाँड सार्वजनिक गरिएको थियो । सो अनुसार सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरिएको थियो । प्रमुख सचेतकको जिम्मेवारी लक्ष्मण किशोर चौधरी र सचेतको जिम्मेवारी घनश्याम चौधरीलाई दिने घोषणा पार्टीका प्रवक्ता दमोदर पण्डितले गरेका थिए ।

पुस ९ गतेसम्म काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका संगठन विभाग प्रमुख समेत रहेका कैलाली निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित लक्ष्मण किशोर चौधरी र कैलाली जिल्ला अध्यक्ष एवं कैलाली निर्वाचन क्षेत्र नं. (१) बाट निर्वाचित कैलाश चौधरीको मात्रै दाबी थियो । यद्यपि संसदीय दलको नेताको जिम्मेवारी लक्ष्मण किशोर चौधरीमा केन्द्रित रहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए । 

पुस १० गते डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको एकल निर्णयले संसदीय दलको नेता रामेश्वर चौधरीलाई बनाउने निर्णय भयो । पार्टीका साधारण सदस्य मात्रै रहेका कैलाली निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित प्रदेश सांसदलाई दलको नेताको जिम्मेवारी दिइएपछि विवाद सुरु भएको हो ।

पाटीभित्र गुम्सिएर रहेको सो विवाद पुस १५ गते सतहमा आयो । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले पुस १५ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा सो विवाद छताछुल्ल भयो । दलको संसदीय दलको कार्यालयमा प्रदेश सभा सदस्य र त्यहाँ पुगेका दलका नेताहरुबीच केही समय चर्काचर्कीसमेत भयो ।

पार्टीका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य कैलाश चौधरीले भने, ‘भूगोल मिलाउनको लागि रामेश्वर जीलाई दलको नेताको जिम्मेवारी दिएको देखिन्छ । तर हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यको मत पार्टीको विधि पद्धति अनुसार जिम्मेवारी तोकिनुपर्छ भन्ने थियो । तर हेड क्वाटरको जिम्मेवारी फरक आयो । निर्णय भइसकेपछि सो निर्णय पालना गर्नु पनि हामी सबैको कर्तव्य हो । तर कताकतै पार्टीभित्र अझै सुशासन नभएको आभास हुन्छ नै ।’

के भन्छन् त रामेश्वर र लक्ष्मण किशोर ?

संसदीय दलको नेतामा छनोट भएका रामेश्वर चौधरीले पार्टीको निर्णयलाई पालना गर्नुपर्ने सबैको दायित्व रहेको बताउँछन् । पार्टीले सुझबुझका साथ जिम्मेवारी बाँडफाँड गरेको बताउँदै उनले बाहिर आए जस्तो विवाद केही नभएको तर्क गर्छन् । ‘पार्टीले तोकेको जिम्मेवारी सबैलाई थाहा नै छ । सबैले मान्नुपर्छ । जिम्मेवारी जे जस्तो भए पनि हामी सबै मिलेर काम गर्ने हो’, उनले भने ।

प्रमुख सचेतकको जिम्मेवारीमा सीमित भएका लक्ष्मण किशोर चौधरीले पार्टीको जिम्मेवारीअनुसार र आफू कांग्रेसका हेभीवेट उम्मेदवार एवं बहालवाला मन्त्री रणबहादुर रावललाई पराजित गरेकाले दलको नेताको जिम्मेवारी पाउनुपर्ने माग राख्दै आएका थिए । उनी पार्टी विधि पद्धति अनुसार चल्नुपर्नेमा जोड दिन्छन् । तर पदीय विवाद भने केही पनि नभएको बताउँछन् । 

शपथ ग्रहण समारोहमा भेटिएकी पार्टीकी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरीले पनि संसदीय जिम्मेवारी बाँडफाँडको निर्णय एक्कासि सुनेको बताउँदै पार्टी विधि पद्धति अनुसार चल्नुपर्ने बताउँछिन् । पार्टी नयाँ भएको र पहिलो पटक निर्वाचनमा भाग लिई संसदीय अभ्यास सुरु गरेकोले क्रमिक रूपमा लयमा आउनेमा विश्वास व्यक्त गर्छिन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका समानुपातिकसहित ७ जना प्रदेश सभा सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप