बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

५० वर्षपछि घर फर्केका मानबहादुरले गाउँ नै बिर्सिएपछि...

शनिबार, ०१ जेठ २०७३, २० : ०१
शनिबार, ०१ जेठ २०७३

[caption id="attachment_50107" align="alignleft" width="840"] तस्विर : भारतबाट आएर दाजु जगतबहादुरको दलानमा बसेका उनै मानबहादुर बिश्वकर्मा ।[/caption]

गुल्मी– भारततिर गएर दुईचार वर्षपछि फर्केका नेपालीहरुले– ‘कोदो टुप्पामा फल्छ कि फेदमा ? भनेर सोध्छन् भनेर बुढापाकाहरुले ठट्टा गर्ने गरेको सुनिन्थ्यो । तर, ५० वर्षपछि घर फर्केका गुल्मीका एक व्यक्तिले आफू जन्मे हुर्केको गाउँको नाम समेत सोध्नुपरेको छ ।

हस्तीचौर–२ का ६५ वर्षीय मानबहादुर विश्वकर्मा भारतमा मजदुरी गर्न हिँडेको ५० वर्षपछि घर फर्किँदा गाउँ नै नचिनेर फसादमा परेपछि दिल्लीमा रहेका भतिजाहरुले सोधखोज गरी उनैको साथ लागेर घर फर्केका हुन् ।

‘त्यस्तै १३÷ १४ वर्षको उमेरमा भारतको सिलोङ्ग हिँडेको हुँ, तीन वर्षअघि मामाघर गुल्मीकै ईस्मा आएर फर्के’– विश्वकर्माले भने– ‘तर अहिले भतिजो बाबुरामको साथ लागेर घर आएको हुँ ।’

उनले थपे– ‘आफ्नो गाउँ हर्पुकोट भन्ने कुरा विर्सेको थिएन्, तर हस्तीचौर गाविस भन्ने थाहा थिएन अहिले त धेरै बदलिए छ, हर्पुकोट गाउँ समेत यहि आएर मात्र चिने नत्र पारीबाट ठम्याउन मुस्कील हुन्थ्यो ।’

घर आउँदा सबभन्दा जेठो दाई जगतबहालुरलाई समेत नचिनेर दाईले–‘म तेरो ठूल्दाई हुँ ’ भनेर चिनाएपछि मात्र ढोग गरेको हुँ ।’ माईलो दाई, भाउजु र परिवारका अन्य सदस्यहरुलाई त झन चिन्ने कुरै भएन’ –उनले भने ।

आमाको मृत्युपछि उनको दुध खान नपाई १४ वर्षको उमेरमा भारततिर हिँडेका उनले बुबा गुनबहादुरलाई त हल्का जानेको बताउँदै भने– ‘बाबुको काज किरिया उनको मृत्युको झण्डै २० वर्षपछि आएर गरें ।’ दाजु जगतबहादुर भन्छन्– ‘उसलाई त हामी जिवित छैन भन्ने ठानेर बसेका थियौँ तर बिर्सेको पालीमा घर आउँदा अचम्मित र हर्षित छौं ।’

उनी जिवित नरहेकै अनुमान गरी उनीसहित तीन भाईलाई लगाउनुपर्ने अंश समेत दुई भाईले मात्र लगाएका थिए । तर, उनी आएपछि अहिले उनलाई अंश समेत छुट्टाईएको छ ।

भारतको सिलोङ्गमा खसिया भन्ने स्थानीयको गाई चराउने काममा लागेका उनले बैस–उमेर छउञ्जेल महिनाको चारपाँच हजार कमाए पनि यो बुढेसकालमा उपचार खर्च समेत भतिजाहरुको आश गर्नुपर्ने अवस्था आएको बताए ।

६५ वर्षको उमेरसम्म विवाह नगरेको बताउने उनी दाजुहरुका छोरा छोरी नै आफ्नो ठानेर बस्छु । ‘उती बेलैदेखि घर आउने जाने गरेको भए विवाह हुन्थ्यो । घर सम्पत्ती जोडिन्थ्यो’– उनले भने– ‘बैंश–उमेर छउञ्जेल घरको यादै आएन त्यसैले अहिले बुढेशकालमा भाई भतिजाको आश गर्ने भईयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप