बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् तपाईंको सवारीसाधन बिग्रने कारण

मङ्गलबार, ०४ माघ २०७३, १४ : ३८
मङ्गलबार, ०४ माघ २०७३

अधिकांश सवारीचालकलाई तनाव बढाउने एउटै कारण हुन्छ, गाडीको मर्मत । ग्यारेजबाट एउटा पार्टस् मर्मत गरेर निकालेको केही दिनमा नै अर्को पार्टस् बिग्रियो, धेरै चालकको यस्तै गुनासो हुन्छ । यसरी सवारीसाधन नियमित रूपमा बिग्रिरहनुको कारण के हो ? यसमा सवारीसाधन, चालक या अन्य तेस्रो पक्षको कमजोरी रहेको छ ? यो प्रश्नको उत्तर नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्काले यसरी दिएका छन्ः

ग्यारेजमा सवारीसाधन मर्मतका लागि आउने प्रमुख कारण नियमित मर्मत नगर्नु नै हो । मानिसको आम्दानीको तुलनामा खर्च धेरै हुने कारण पनि सवारीसाधनमा कम खर्च गर्न खोज्छन् । जसले गर्दा सवारीसाधनको म्यानुअलमा उल्लेख गरेबमोजिम मर्मतकार्य गर्दैनन् । सामान्यतया प्रत्येक तीन महिनामा सवारीसाधनको सर्भिसिङ गर्नुपर्ने हुन्छ । यति गर्न सकेमा सवारीसाधन हरेक समय कन्डिसनमा हुन्छ र बिग्रने सम्भावना न्यून हुन्छ ।

 थोरै रकमको लोभले कम गुणस्तरका पार्टस् तथा लुब्रिकेन्टको प्रयोगले अधिकांश सवारीसाधनमा समस्या आउने गर्छ । अझ विशेषगरी संघसंस्थाका सवारीसाधनमा कमिसनको लोभले मर्मत गर्दा कम गुणस्तरका सामान प्रयोग गरिन्छ । त्यस्तै, कतिपय ग्यारेज सञ्चालकहरूले पनि चाँडै धेरै कमाउने लोभमा सस्तो गुणस्तरका सामान जडान गरिदिने गर्छन् । यस्ता कारणले पनि सवारीसाधन पटक–पटक बिग्रिरहेको हुन्छ ।

नेपालको सडक तथा ट्राफिक व्यवस्थापनका कारण सवारीसाधनले आफ्नो क्षमताअनुसार कार्य गर्न सक्दैन । जापानमा परीक्षण गरिएको हाइस गाडीले नेपालमा सोही प्रकृतिको पर्फर्मेन्स देखाउन सक्दैन । सवारीसाधनले आफ्नो अनुकूल काम गर्न नपाउँदा पनि समस्या हुन्छ ।  नेपालका अधिकांश सवारीसाधनले आफ्नो क्षमताभन्दा बढी वजन बोकेर गुडिरहेको हुन्छ । अझ भाडाका सवारीसाधनहरू त निर्धारित तौलभन्दा पाँचगुना बढीसम्म वजन बोकेर कुदाइएको हुन्छ ।

जसले गर्दा सवारीसाधनलाई बढी भार पर्न गई इन्जिनलगायतका अन्य पार्टस्मा पनि समस्या देखिन सक्छ । सवारीसाधन बिग्रने मुख्य कारणमा बढी तौल बोक्नु पनि हो । नेपालमा अहिले युरो थ्री तथा युरो फोर सवारीसाधनहरू भित्रिसकेका छन् । सोहीअनुसारका लुब्रिकेन्ट पनि आएका होलान् । तर, सबैभन्दा महत्वपूर्ण मानिने डिजेल, पेट्रोल भने सो मापदण्डभन्दा निकै कमजोर छ । इन्धन र सवारीसाधनको कम्बिनेसन नमिल्दा पनि गाडी बिग्रन्छ ।

काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा सडकको अवस्था ज्यादै नाजुक छ । कालोपत्रे भत्किएको, खाल्डाखुल्डी परेको सडकमा सवारी चलाउनुपर्दा त्यसको प्रत्यक्ष असर गाडीलाई नै पर्ने हो । अनावश्यक तरिकाले गाडी उफ्रिँदा तथा ढल्किँदा सवारीसाधनलाई बढी भार पर्न जान्छ । यस्तो कारणले पनि सवारीसाधनको बाहिरी बनावटका साथै इन्जिनमा पनि समस्या हुन सक्छ ।

सवारीसाधनमा साइलेन्सर पाइप राखिएको तरिकाले पनि असर पु¥याइरहेको छ ।

साइलेन्सर पाइप भुइँतिर फर्काएर राख्दा त्यसबाट निस्किएको धुवाँले सडकको धुलोसमेत उडाउँछ । जसले गर्दा प्रदर्शन बढाउन अझ सहयोग गर्छ । प्रदूषणयुक्त वातावरणमा सवारीसाधनलाई पनि हानि पुग्छ । यस्तो वातावरणमा एयर फिल्टरलगायतका अन्य भागमा जाम हुन सक्छ । जसले गर्दा सवारीसाधन बिग्रने सम्भावना बढी हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप