बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप

इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे

बिहीबार, २५ असार २०८३, २२ : ००
बिहीबार, २५ असार २०८३

सारांश

  • माइकल ओलिसेले फ्रान्सका लागि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा उभ्याएका छन् ।
  • चेल्सी र म्यानचेस्टर सिटी जस्ता ठूला क्लबले अस्वीकार गरेपछि रिडिङ पुगेका ओलिसेले इङ्ल्यान्डमा जन्मिए पनि फ्रान्सको प्रतिनिधित्व गर्ने निर्णय गरे ।
  • ओलिसेको बहुसांस्कृतिक पृष्ठभूमि र बाल्यकालको फुटबलप्रतिको समर्पणले उनलाई विश्वकपका सबैभन्दा सिर्जनात्मक खेलाडीमध्ये एक बनाएको छ ।

काठमाडौँ । यदि माइकल ओलिसेले विश्वकप जित्ने टोलीको सदस्य भए भने पश्चिम लन्डनको हेजस्थित एउटा सामान्य आवासीय बस्तीको सानो पार्क सधैँका लागि फ्रान्सको फुटबल इतिहाससँग जोडिनेछ ।

त्यही सानो हरियो मैदानमा ओलिसेले आफ्नो दाजु रिचर्डसँग सात वर्षको उमेरदेखि फुटबल खेल्दै विश्वकपको सपना देखेका थिए । गत महिना फ्रान्सेली खेलपत्रिका लेकिपसँग कुरा गर्दै ओलिसेले भनेका थिए, ‘यस्ता ठाउँमा फुटबल खेल्नु भनेको स्वतन्त्रता थियो । त्यहाँ कुनै औपचारिक प्रशिक्षण थिएन । केवल फुटबल खेल्नुको आनन्द थियो । मलाई फुटबल अत्यन्तै मन पर्थ्यो ।’

पश्चिम लन्डनको ओल्ड आइल्सवर्थियन्स क्लबमा ओलिसेलाई प्रारम्भिक प्रशिक्षण दिने प्रशिक्षक सन कोनलोन सम्झिन्छन्, ‘म बेला–बेला उनको घर जान्थेँ । उनी रिचर्डसँग बाहिर फुटबल अभ्यास गरिरहेका हुन्थे । त्यो सानो बस्तीले उनको विकासमा ठुलो भूमिका खेलेको थियो । त्यहाँ धेरै गाडी चल्दैनथे, खुला कङ्क्रिटको स्थान र सानो हरियो मैदान थियो । उनी दिनभर त्यहीँ फुटबल अभ्यास गर्थे । उनी फुटबलप्रति पूर्ण रूपमा समर्पित थिए ।’

  • चेल्सी र म्यानचेस्टर सिटीले अस्वीकार गरेपछि रिडिङ पुगे

करिब १० वर्षपछि ओलिसे रिडिङ पुगे । त्यसभन्दा अघि उनी चेल्सी र म्यानचेस्टर सिटी दुवैको एकेडेमीबाट बाहिरिएका थिए । रिडिङका एकेडेमी स्काउट ब्रेन्डन फ्लानागनले उनलाई क्लबमा ल्याएका थिए । उनी एउटा खेल सम्झिन्छन् ।

‘हामी युरोपियन यु–२१ कपमा स्पार्टा प्रागसँग खेलिरहेका थियौँ । म हाफटाइममा मैदान पुगेँ । माइकल करिब १७ वर्षका थिए र बेन्चमा थिए,’ उनले भने, ‘मेरो अगाडि पूर्व क्रिस्टल प्यालेस तथा वेस्ट ह्याम खेलाडी हेडन मुलिन्स बसेका थिए । खेल सकिन १७ मिनेट बाँकी हुँदा माइकल मैदान प्रवेश गरे ।’

उनले अगाडि भने, ‘पाँच मिनेट पनि बितेको थिएन, हेडनले मलाई झुक्किएर भने—यो को हो ?’ ‘म हाँस्न थालेँ । त्यसपछि उनले भने, साँचो बोल, यस्तो खेलाडी कहाँ भेट्यौ ?’

त्यसपछि मैले उनले आफ्नो सम्पूर्ण कथा सुना । हेजको त्यो सानो बस्तीबाट विश्वकपको स्टारसम्म यो केवल चेल्सी र म्यानचेस्टर सिटीले विश्वकपका चम्किला तारा तथा बालोन डी’ओरका दाबेदार ओलिसेलाई कसरी गुमाए भन्ने कथा मात्र होइन ।

यो त उनले इङ्ग्ल्यान्डमै जन्मिएर पनि किन कहिल्यै इङ्ग्ल्यान्डको प्रतिनिधित्व गरेनन् भन्ने कथा पनि हो । कोनलोन भन्छन्, ‘मैले उनलाई पहिलो पटक छ वर्षको उमेरमा हेजका लागि खेल्दा देखेको थिएँ । सबैभन्दा पहिले उनको शरीरको चालले मलाई प्रभावित ग¥यो ।’

‘उनी मैदानभरि निकै सहज रूपमा तैरिएजस्तै दौडन्थे । प्रत्येक चालमा पूर्ण सन्तुलन र प्राकृतिक लय थियो । आज उनी जसरी खेल्छन्, ठीक त्यही शैली छ वर्षको उमेरमै थियो । त्यो जन्मजात क्षमता हो, उनको भनाइ छ ।

धेरै मानिस भन्छन्, ‘ओलिसे इङ्ग्ल्यान्डले उत्पादन गरेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् ।’

  • चेल्सीदेखि सिटीसम्म अनि फेरि अस्वीकृति

कोनलोनले चेल्सीमा पनि प्रशिक्षण दिएका थिए । ओलिसे नौ वर्ष पुगेपछि उनी चेल्सीको एकेडेमीमा पुगे । त्यहाँबाट म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्‍यो । उनी कोल पाल्मरकै उमेर समूहमा थिए भने फिल फोडेनभन्दा एक वर्ष कान्छा । तर १६ वर्षको उमेरमा सिटीले पनि उनलाई छाडिदियो ।

त्यसपछि उनी फेरि कोनलोनकहाँ फर्किए । त्यतिबेला कोनलोनले सञ्चालन गर्ने ‘वी मेक फुटबलर्स’ एकेडेमीमा उनी अभ्यास गर्थे । ओलिसे कुनै पनि व्यावसायिक क्लब खोजिरहेका थिए ।

त्यही बेला फ्लानागनका एक परिचितले उनको नाम सिफारिस गरे । फ्लानागन भन्छन्, ‘रिडिङभित्र धेरैले उनलाई लिन नहुने बताएका थिए ।’ उनीहरू भन्थे—चेल्सीले पनि छाड्यो, सिटीले पनि छाड्यो । यस्ता खेलाडीमा समस्या हुन्छन् । मैले भनेँ—पहिले केटालाई आउन त दिऔँ । त्यसपछि निर्णय गरौँ ।’ कोनलोन पनि यसमा सहमत छन् ।

उनी भन्छन्, ‘अरू स्काउटहरू सबै एउटै कुरा सोधिरहेका थिए—यदि उनी यति प्रतिभाशाली हुन् भने चेल्सी र सिटीले किन राखेनन् ? ‘तर अन्ततः रिडिङले उनीमाथि विश्वास गर्‍यो ।’

  • ‘कृपया’ र ‘धन्यवाद’ भन्ने शालीन किशोर

लन्डनबाट रिडिङ प्रशिक्षणका लागि जाँदा क्लबले रेल स्टेसनबाट खेलाडी ल्याउने बसको व्यवस्था गरेको थियो ।

फ्लानागन सम्झिन्छन्, ‘पहिलो दिन स्टेसनबाट उनले मलाई फोन गरे । बस कहाँबाट चढ्ने हो ? उनको प्रत्येक वाक्यमा ‘कृपया’ र ‘धन्यवाद’ थियो ।’

उनी अगाडि भन्छन्, ‘त्यसपछि मैले मनमनै भनेँ—यो त खराब केटा होइन । केवल अरूभन्दा फरक स्वभावको, अलि गलत बुझिएको किशोर हो । हामीलाई उनीसँग कहिल्यै कुनै समस्या भएन । उनी शान्त, बुद्धिमान र फरक ढंगले आफूलाई अभिव्यक्त गर्ने खेलाडी थिए ।’

  • रिडिङबाट सुरु भयो ठुलो यात्रा

ओलिसे चाँडै रिडिङको यु–२१ टोलीमा पुगे । स्पार्टा प्रागविरुद्धको खेलमा उनको प्रदर्शन फ्लानागन अझै बिर्सन सक्दैनन् । 

केही सातापछि प्रशिक्षक जोसे गोम्सले उनलाई पहिलो टोलीको प्रशिक्षणमा बोलाए । त्यही साताको अन्त्यमा उनी बेन्चमा थिए । केही दिनमै उनले व्यावसायिक डेब्यु गरे ।

फ्लानागन भन्छन्, ‘प्रशिक्षकले उनलाई देखेपछि सोचेका होलान् — हे भगवान् ! यो त अद्भुत खेलाडी रहेछ ।’

  • किन इङ्ग्ल्यान्डका लागि खेलेनन् ?

ओलिसेको पारिवारिक पृष्ठभूमि निकै विविध छ । उनकी आमा मिना फ्रान्सेली–अल्जेरियन हुन् । बुबा भिन्सेन्ट ब्रिटिस–नाइजेरियन हुन् । गत सिजन बायर्न म्युनिखको वेबसाइटसँग उनले भनेका थिए, ‘म वास्तवमा चार देशसँग जोडिएको छु—फ्रान्स, अल्जेरिया, नाइजेरिया र ग्रेट ब्रिटेन ।’

‘यी चारै संस्कृतिले मलाई समृद्ध बनाएका छन् । बाल्यकालमा हामी नियमित रूपमा अल्जेरिया, नाइजेरिया र फ्रान्स जान्थ्यौं । घरमा बुबाले अंग्रेजी बोल्नुहुन्थ्यो भने आमाले फ्रेन्च,’ उनी भन्छन् ।

तर किशोरावस्थामा उनी इङ्ग्ल्यान्डको नजरमा परेनन् । फ्लानागन भन्छन्, ‘त्यतिबेला रिडिङ ठुलो क्लब थिएन ।’ इङ्ग्ल्यान्डको टोलीमा पुग्न सामान्यतया चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड वा आर्सनलबाट आउनुपथ्र्यो ।’ सबैभन्दा पहिले फ्रान्सले उनलाई सम्पर्क गर्‍यो ।

यु–१८ टोलीका लागि छनोट गरेपछि उनले फ्रान्समै भविष्य देखे । पछि इङ्ग्ल्यान्डले यु–२० टोलीका लागि बोलाए पनि उनले आफ्नो निर्णय परिवर्तन गरेनन् ।

  • आज विश्वकपका सबैभन्दा सिर्जनात्मक खेलाडी

इङ्ग्ल्यान्डले पछिल्ला वर्षहरूमा उत्कृष्ट युवा खेलाडी उत्पादन गरेको छ । कोल पाल्मर, बुकायो साका, मोर्गन रोजर्स, एन्थोनी गोर्डन, नोनी माडुके जस्ता प्रतिभा त्यही पुस्ताका हुन् । त्यसपछि जुड बेलिङ्घम र अहिले जर्मनीका लागि खेलिरहेका जमाल मुसियाला पनि थिए ।

यति धेरै प्रतिभाबीच पनि विश्वकपका सबैभन्दा सिर्जनात्मक खेलाडी भने अहिले फ्रान्सका लागि खेलिरहेका इङ्ग्ल्यान्डमै जन्मिएका ओलिसे बनेका छन् । विश्वकपमा उनले सबैभन्दा धेरै पाँच असिस्ट दिएका छन् ।

‘उनी अझै राम्रो हुँदै गइरहेका छन्’ फ्लानागन भन्छन्, ‘१६ वर्षको उमेरमा कसैले उनी बालोन डी’ओरका दाबेदार बन्छन् भनेर भन्न सक्दैनथ्यो ।’

कतिपय प्रतिभा त्यतिबेला चम्किन्छन्, पछि रोकिन्छन् । ‘तर माइकलको विकास कहिल्यै रोकिएन । उनी झन्–झन् राम्रो हुँदै गइरहेका छन् । अझै भन्दा उनी अर्कोस्तरमा पुगेका छन् ।’

  • यदि विश्वकप फाइनलमा इङ्ग्ल्यान्ड र फ्रान्स भिडे भने ?

बाल्यकालका प्रशिक्षकहरूका लागि एउटा रोचक दुविधा हुनेछ इङ्ग्ल्यान्ड र फ्रान्समध्ये कसलाई समर्थन गर्ने ?

फ्लानागन हाँस्दै भन्छन्, ‘म त बीचमै बस्नेछु । म माइकलले राम्रो खेलोस् भन्ने चाहन्छु । तर इङ्ग्ल्यान्डले पनि जितोस् भन्ने चाहन्छु । सायद म त्यो खेल नै नहेरौँला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप