शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

बिहीबार, २५ असार २०८३, २२ : ५९
बिहीबार, २५ असार २०८३

चितवन । बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ ।

डा.बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताए । उनले भने– “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै हामी यो काम अघि बढाउँछौँ ।”

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहेको भन्दै उनले अन्य पालिकाहरुसँग पनि आवश्यक छलफल अघि बढाइएको बताए । डा. बगालेले पालिका-पालिकामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पुगेपछि अस्पतालमा घुइँचो कम हुने विश्वास व्यक्त गरे । उनले भने, “स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ ।” ती अस्पतालहरूमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उनले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताए ।

डा बगालेले भने, “सामान्य समस्या लिएर भरतपुर अस्पताल आउनु पर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गर्दैछौँ ।” सबै पालिका सकारात्मक भएमा दुई वर्षभित्रमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने उनले बताए ।

उनका अनुसार भरतपुर अस्पतालमा दैनिक ओपिडी सेवाका लागि तीन हजारसम्म बिरामी आउने गर्दछन् । सामान्य समस्या लिएरसमेत बिरामी यहाँ आउनु पर्दा व्यवस्थापनमा जटिलता थपिएको छ भने बिरामीले पनि सास्ती पाइरहेका छन् । भरतपुर अस्पतालले विस्तारित सेवा प्रभावकारी भएसँगै देशभर यो अभियानलाई विस्तार गर्न सकिने डा बगालेले बताए । अहिले ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बीमाका रहेका जनाउँदै उनले यसले बीमाका बिरामीलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

---

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप