बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासीका पीडा

आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)

बिहीबार, २५ असार २०८३, २१ : ५३
बिहीबार, २५ असार २०८३

काठमाडौँ । आगोमा जलेर बायाँ हात गुमाएकी उर्मिला तामाङ बिहीबार टोलाइरहेकी थिइन् । आगोमा जलेर अनुहार र शरीरमा बसेका खत प्रस्टै देखिन्थे ।
राम्ररी हिँड्न पनि नसक्ने उनी गहिरो शोकमा डुबेझैँ देखिन्थिन् । मनहराको सुकुमबासी बस्तीमा ३५ वर्ष गुजारेकी एकल महिला उर्मिलाका टहरामा डोजर चलेपछि दुःखका दिन सुरु भए ।

वैशाख १२ गते बस्तीमा डोजर चलेपछि होटलमा राखिएपछि उर्मिलालाई केही राहत मिलेको थियो । असार १९ पछि होटलसमेत छोड्न सरकारले ‘उर्दी’ जारी गरेपछि उनी संकटमा परिन् । हरेक दिन सरकारी टोली होटलमा पुगेर जसरी पनि छाड्नै पर्ने आदेश दिएपछि उनीलगायत सुकुमबासीहरू मंगलबार काठमाडौं जिल्ला प्रशासन गएर गुहारे । असक्त, अपाङ्ग, वृद्धवृद्धा र बच्चाका आमालाई केही दिन होटलमै बस्ने बन्दोबस्त गर्ने आश्वासन पाएपछि उनीहरू फेरि होटलमै फर्किए । भोलिपल्ट बिहानै ‘माथिको आदेश’ पाएको सरकारी टोली होटलमा पुगेर फेरि सुकुमबासी हटाउन थाल्यो ।

काठमाडौँको गोंगबुस्थित एक होटलको कोठा । बाहिर सहरको कोलाहल छ, तर भित्र उर्मिला तामाङको मनमा कहालीलाग्दो सन्नाटा छाएको छ । ६ महिनाको अबोध उमेरमा आगोले पोलेर सधैँका लागि एउटा हात र शरीरका केही भाग गुमाएकी उर्मिलाको जिन्दगी चोटैचोटले भरियो ।

उर्मिलाको शरीरको घाउ धेरै वर्ष पहिले सुकिसकेको छ, तर गरिबी, अभाव र विस्थापनले दिएको घाउ भने हरेक दिन बल्झिरहन्छ । गत वैशाख १२ गते उनी ओत लाग्दै आएको मनोहराको टहरा डोजरले भत्काइदियो । त्यससँगै भत्किए– उनका बाँच्ने झिनो आशा र भविष्यका सपनाहरू ।

‘म ६ महिनाको हुँदा आगोले मेरो हात डढ्यो, त्यसपछि अस्पताल लगेर काटेको हो,’ उर्मिला आफ्नो विगत सम्झँदै भन्छिन्, ‘म सहाराविहीन जिन्दगी बिताइरहेकी छु ।’

संसार देख्ने र बुझ्ने उमेर नहुँदै आगोले उर्मिलाको एउटा हात गुम्यो । शरीरका अन्य अङ्ग पनि कमजोर छन् । गुमेको हातले कपडा धुन, आफैँले खाना बनाउन असम्भव भइदियो । उर्मिलाको जीवनमा भने सहारा दिने त कोही थिएनन्, झन् उनको सानो सहारा डोजरले भत्काइदिएपछि बिचल्लीमा परिन् । ‘मनोहरामा टहरा थियो । त्यो पनि बालेन सरले भत्काइदिनुभयो । अब कहाँ बस्नु त ?’ उर्मिलाको यो भनाइमा गरिबमाथि राज्यले गरेको अन्यायप्रतिको गहिरो पीडा लुकेको थियो ।

urmila T

घर, टहरा भत्किएपछि उर्मिलाजस्तै केही अपाङ्ग, अशक्त र वृद्धवृद्धालाई अस्थायी बासका रूपमा होटलमा राखियो । यहाँबाट समेत जबर्जस्ती हटाउन खोजियो । अब कहाँ पठाउन खोजिएको हो ? उनीहरूलाई त्यसको पत्तो छैन ।

केही मनकारी होटल सञ्चालकले केही दिनका लागि बास दिएका छन् । तैपनि उनीहरूको मनमा सधैँ डर छ– भोलि फेरि ‘निस्केर जाऊ’ भन्ने आदेश आएपछि कहाँ जाने हो ? ‘सिडिओ कार्यालय गयौँ, नाम टिपेर ल्याए, तर फेरि भोलि नै निकालिदिने पो हो कि भन्ने डर लाग्छ,’ उर्मिलाको आँखामा त्रास स्पष्ट झल्किएको थियो ।

होटल सञ्चालकको सहयोगमा केही दिनका लागि खान र बस्न त पाइएको छ, तर यो स्थायी समाधान होइन । ‘सरकारले दिएको पैसा औषधि किन्दै सकियो । अब कहाँ जाने ? कसले कोठा दिन्छ हामीलाई ?’ उर्मिलाको यो प्रश्नले कैयौँ सुकुमबासीको बेदना, विवशता बोकेको छ ।

उर्मिलालाई हातको अपाङ्गता त छँदै छ, त्यसबाहेक उनी सुगर, प्रेसर र कोलेस्ट्रोलकी बिरामी हुन् । कलेजोमा पनि समस्या छ । ‘अस्पताल जानुपर्‍यो भने पर्याप्त पैसा छैन । नियमित औषधि खानुपर्छ, तर महँगो छ । एकचोटि अस्पताल गयो भने पैसाले धान्दैन,’ उर्मिला भक्कानिन्छिन् । ‘जहाँ खानकै धौधौ छ, त्यहाँ महँगो औषधि कसरी किन्नु ?’

urmila (1)

सरकारले दिएको राहतको पैसा औषधि किन्दै सकिसकेको छ । उर्मिला न त हातले काम गर्न सक्छिन्, न त उनको कोही सहारा नै छ । उनको आगोले शरीर जलायो, राज्यको डोजरले बास पनि खोस्यो । गरिबी र अभावले बाँच्ने सपना नै जलायो । विकास र सहरको सौन्दर्यीकरणका नाममा उनीजस्तै कैयौँ गरिबका छाना भत्काइएका छन्।

होटलको कोठामा बसिरहँदा उर्मिलाको मनमा एउटै प्रश्न छ– ‘के हामीजस्ता अङ्गभङ्ग भएका, असहाय र गरिबहरूका लागि यो देशमा बाँच्ने कुनै ठाउँ छैन ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप