बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता व्यक्तिलाई हुन्छ उच्च रक्तचापको खतरा

शनिबार, ०८ माघ २०७३, ११ : ४१
शनिबार, ०८ माघ २०७३
सुस्मिता हुमागाईं, एभरेस्ट कलेज अफ नर्सिङ उच्च रक्तचापका लक्षण मुटुबाट बाहिरिने र भित्र पस्ने रक्तनलीमा परेको चाप १२० देखि ८० लाई सामान्य मानिन्छ । १८ वर्षभन्दा माथिका मानिसमा यस्तो चाप १४० अथवा त्यसभन्दा बढी र तल्लो रक्तचाप ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ । सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुन सक्छ । नेपालमा मात्र नभई उच्च रक्तचापको समस्या विश्वभरका मानिसमा देखिन थालेको छ । उच्च रक्तचापको सम्भावना भएका व्यक्तिलाई अत्यधिक टाउको दुख्ने तथा रिंगटा लाग्ने गर्छ । सम्बन्धित व्यक्ति झुम्म हुने, छाती दुख्ने, आँखा धमिलो हुने हुन्छ । यसको लक्षण देखिन थालेपछि श्वास–प्रश्वासमा समस्या हुँदै जाने, डराएको वेलामा जस्तो मुटु धेरै ढुकढुक हुने, मानिसको नाकबाट रगत बग्ने जस्ता लक्षण देखापर्छन् । कसैकसैमा यी लक्षण नदेखिन पनि सक्छ । उच्च रक्तचापको लक्षण भए वा नभए पनि यसको उपचार समयमै गराउनु राम्रो हुन्छ । उच्च रक्तचापमा हेलचेक्र्याइँ गरेको अवस्थामा मानिसको मस्तिष्क, मिर्गौला, मुटु तथा आँखामा क्षति पुग्न सक्छ । जसले गर्दा शारीरिक रूपमा अपांगता हुन गई मानिसको मृत्युसमेत हुन सक्छ । रोकथामका उपाय बिरामीले जहिल्यै पनि सन्तुलित खाना खाने गर्नुपर्छ । काब्रोहाइड्रेड, प्रोटिन, भिटामिन, चिल्लो र खनिज पदार्थमा पाइने खानेकुरा प्रशस्त खाने गर्नुपर्छ । यस्तो वेला हरियो सागपात र फलफूलमा बढी जोड दिनु राम्रो हुन्छ । चिल्लो र बोसोयुक्त खानेकुरा कम गर्ने, सकेसम्म यस्ता चिज र परिकारको प्रयोग नगरेको राम्रो हुन्छ । अझ तेलमा तारेको परिकार, भुटेका परिकार, रातो मासु, बोसो, घिउ, छाला, कलेजोको सेवन गर्दै नगर्ने । शरीरको तौल कायम राख्ने वा बढी भएको अवस्थामा घटाउने उपाय अपनाउनु उत्तम हुन्छ । यसका लागि शारीरिक व्यायाम अनिवार्य आवश्यकताभित्र पर्छ । कुनै पनि समयमा तनाव लिने गर्नु हुँदैन । बानीमा परिवर्तन ल्याउनुपर्छ । सामान्य कुरामा तनाव लिने हुँदा यसले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ । नियमित रूपमा व्यायाम गर्दा शारीरिक, मानसिक स्वास्थ्यमा सन्तुलन ल्याउने गर्छ । यसका लागि हिँड्ने, दौडिने, पौडी खेल्ने, साइकल चलाउने घरायसी काममा ध्यान दिनुपर्छ । जाँड–रक्सी, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनलाई छाड्ने र सकेसम्म अरूले प्रयोग गरेको स्थानमा पनि नबस्ने । वयस्क व्यक्तिले नियमित रूपमा वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउने बानी गर्नुपर्छ । उच्च रक्तचाप भएको थाहा हुनासाथ स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्ने तथा वेलावेलामा स्वास्थ्य परीक्षण गराउनुपर्छ । कसरी हुन्छ उच्च रक्तचाप ? उच्च रक्तचाप यस कारण नै हुन्छ भन्न सकिँदैन । तर, यसका सम्भावित कारण भने छन् । मुख्यतः मानिसको उमेर, लिंग, शारीरिक व्यायामको अभाव, अस्वस्थकर खानपान, वंशाणुगत समस्या, धुम्रपान तथा मद्यपानको अधिक प्रयोगले रक्तचाप हुने गरेको पाइन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप