बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन रोग स्विकार्नुका फाइदा

शनिबार, ०८ माघ २०७३, ११ : ४६
शनिबार, ०८ माघ २०७३

आदर्श प्रधान मनोपरामर्शदाता होलिस्टिक माइन्ड्स

रोग लागेको शंका लाग्नासाथ हामी डराएर छिटोभन्दा छिटो अस्पताल जान्छौँ । एकजना चिकित्सकबाट चित्त नबुझे अर्को ठाउँ गएर पनि परीक्षण गराउँछौँ । त्यतिले पनि सन्तुष्ट नभएमा आयुर्वेदिक, होमोप्याथी, प्राकृतिक तथा अक्युपन्चर पद्धति अपनाउन थाल्छौँ । रोग तथा रोगीको प्रकृतिअनुसार यीमध्ये कुनै पनि पद्धति उपयोगी हुन सक्छ । चिकित्सामा हजारौँ पद्धतिको विकास भएको कारण पनि यही हो । रोगबाट हुने बेफाइदाबारे त हामीले धेरै सुनेका छौँ । तर, रोगबाट केही फाइदा पनि हुन सक्छ ।

मानिसको स्वभावअनुसार बढी रक्सी सेवन गर्ने, कसैलाई धुम्रपान गर्ने, बढी रिस उठ्नेजस्ता समस्या हुन्छन् । यस्ता बानी चाहेर पनि हत्तपत्त छाड्न सकिन्न । जब कुनै मानिसलाई रोग लाग्छ, तब उसलाई चाँडै मरिएला कि भन्ने डर हुन्छ । त्यही डरको कारण नराम्रा आदत सजिलै छाड्छ । रोग लागेन भने त्यस्ता आदत छोड्नुपर्छ भन्ने विचार नै आउँदैन । स्वस्थ मानिसलाई कहिल्यै पनि स्वास्थ्यको बोध हुँदैेन । जब मानिस रोगी हुन्छ, तब स्वास्थ्यको महत्व थाहा हुन्छ । म स्वस्थ हुँदा यस्तो थिएँ भन्ने बारम्बार याद आइरहन्छ । त्यसैले मानिस छिटोभन्दा छिटो स्वस्थ हुन चाहन्छ ।

हतारमा औषधि सेवन नगरौँ शरीरमा रोग लागेपछि त्यसबाट छुटकारा पाउन औषधोपचार र योग–ध्यानलाई अपनाउँछौँ । तर, रोगबाट छुटकारा पाउने कामना भन्ने राख्नु हुँदैन । रोग लागिसकेपछि निको हुन समय लाग्छ । शरीरलाई रोग लागिसकेपछि आफूलाई रोग लागेको छ भन्ने कुरालाई पूर्ण रूपमा स्वीकार गर्नुपर्छ । कतिपय ठूला रोग त्यसै ठीक हुन्छन् । त्यसवेला स्विकार्नुको सट्टा रोगबाट छुटकारा पाउने विभिन्न उपाय अपनाउँदा शरीरभित्र द्वन्द्व उत्पन्न हुन्छ । फलस्वरूप रोग झन् बढ्न थाल्छ ।

संसारमा सबै कुरा खोलाजस्तै गतिशील हुँदा दुःख–सुख पनि आइरहन्छ । त्यस्तै, हाम्रो शरीरमा रोग पनि स्थिर नभई गतिशील हुन्छन् । शरीरको आफ्नै चेतना हुन्छ । यसले खानालाई पचाउनेदेखि अनावश्यक तत्वलाई शरीरबाट निष्कासन गर्ने र शरीरमा रोग प्रवेश गर्न नदिने सुरक्षाको काम गर्छ । रोग प्रवेश गरिहाले पनि शरीर आफैँले उक्त रोगलाई निको पार्न लागिपर्छ । तर, हामी शरीरको चेतनालाई नबुझेर निको पार्न धेरै हतार गर्दा छिटो निको नहुन सक्छ ।

आफूलाई खुसी लागेका वेला रोग पनि बिर्सिइन्छ । जब दुःखी हुन्छौँ, फेरि शरीरबारे वास्ता हुन्छ । तर, शरीरका अंग हरेक समय आफ्नै तरिकाले चलिरहेको हुन्छ । शरीरमा रोग प्रवेश गर्नासाथ शरीरको रक्षा प्रणालीअन्तर्गतका तत्वले काम गर्न थाल्छ । यस्तो वेला हामीले तुरुन्तै हस्तक्षेप गर्नु हुँदैन । जस्तैः ज्वरो आएका वेला हाम्रो शरीरको रक्षात्मक प्रणाली सशक्त भएर काम गर्छ । बाहिरबाट आएका रोगका किटाणुलाई भित्र प्रवेश गर्न दिँदैन । यस्तो समयमा औषधि सेवन गर्दा शरीरको रक्षात्मक प्रणालीका ब्याक्टेरियाहरूलाई पनि मारिदिन्छ । बाहिरी र भित्री किटाणुहरूको द्वन्द्वले हामीलाई ज्वरो आउँछ । औषधिले रक्षात्मक प्रणालीका ब्याक्टेरिया नष्ट गरेपछि बाहिरी किटाणुहरू शरीरमा सजिलै प्रवेश गर्दा सुरुमा ज्वरो घट्छ ।

सुरुमा ज्वरो निको भएको ठानिए पनि हाम्रो रक्षा प्रणालीलाई नै बिगारेको हुन्छ । त्यसैले शरीरले आफैँ काम गर्न सक्ने अवस्थासम्म औषधि सेवन गर्नु हुँदैन । मृत्यु शाश्वत सत्य हो । हामीले रोगलाई स्विकार्ने बानी बसाल्यौँ भने मृत्युलाई पनि स्विकार्न सक्छौँ । त्यसैले, रोगलाई निर्वाणको द्वार पनि भन्न सकिन्छ । रोगले धेरै कुरा सिकाउँछ । आध्यात्मिक उच्चतामा जान चाहिने दृढ संकल्प र पूर्ण स्वीकारोक्ति यही कारणले प्राप्त गर्न सकिन्छ । जतिजति स्विकार्ने बानी बस्छ, हाम्रो चेतना पनि रूपान्तरण हुन थाल्छ । रोग लागेर ठीक नभइरहेका व्यक्तिहरूले रोगलाई पूर्ण स्विकारेर हेर्नु राम्रो हुन्छ । यसले जीवनको रहस्यबोध गराउँछ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप