बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यस्ता लक्षण देखिए हुन सक्छ बाथरोग

बुधबार, २६ माघ २०७३, १३ : १९
बुधबार, २६ माघ २०७३
डा. विनय रेग्मी, बाथरोग विशेषज्ञ सबैजसो जोर्नी दुख्ने समस्यालाई हामी बोलिचालीको भाषामा बाथरोग भन्छौँ । तर, बाथरोग जोर्नी दुख्ने मात्र नभई अन्य लक्षणको रूपमा पनि देखापर्छ । कहिलेकाहीँ बाथरोग एक्लै पनि देखापर्न सक्छ भने कहिले अन्य रोगसँग मिसिएर पनि देखापर्न सक्छ । बाथरोग रोगप्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम)का कारण हुन्छन् । यिनीहरूले धेरैजसो ‘आउटो एन्टिबडी’ बनेर शरीरका जोर्नीलगायतका अन्य अंगहरू छाला, आँखा, दिमाग, मुटु, फोक्सो, मिर्गौलालगायतमा असर पुर्‍याउँछ । विभिन्न नाम तथा लक्षणले पहिचान गर्न सकिने बाथरोगका सामान्य लक्षण यस्ता हुन सक्छन्ः हातखुट्टाका जोर्नी सुन्निने र दुख्ने । बिहान उठ्ने वेलामा जोर्नीहरू करकर गर्ने । केही बेरपछि जोर्नी खुल्दै जाने । चिसो पानीमा हात डुबाउ“दा, पानी चलाउँदा तथा जाडो मौसममा हातका औँला निलो र सेतो हुने । बिस्तारै आफ्ना जोर्नी र औँलाहरू बांगिएको महसुस हुने । अनुहार, हात र शरीरका अन्य मांसपेसीहरू कसिएर आउने, छाला चाउरी नपर्ने, नखुम्चने र औँलाका टुप्पोमा घाउ आउने । विभिन्न बाथरोगका कारण फोक्सोमा असर परेर समस्या हुने । खोकी लाग्ने र लामो समयसम्म खोकी निको नहुने र खोक्दा रगत आउने । मुख एकदम सुक्खा हुने र खाना निल्दा पटक–पटक पानी पिउनुपर्ने । मुख सुक्खा भएर गिजामा पनि घाउ हुने । आँखा सुक्खा हुने र आँखामा बालुवा पसेजस्तो भएर बिझाउने । थुक निकाल्ने ग्रन्थिहरू सुन्निने र गाला फुलेको र सुन्निएको जस्तो देखिने । हातगोडाका औँलाहरू निलो वा कालो भएर झर्ने । मुखमा र गुप्तांगमा बारम्बार घाउ खटिरा आउने । लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने । आँखा रातो हुने । हातगोडाका एउटा मात्र औँला सुन्निएर आउने । माथि उल्लेखित लक्षण हुँदैमा सबैलाई बाथरोग हुँदैन । तर, बारम्बार यस्ता लक्षण देखिएमा बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ । साधारण रूपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । बूढापाका मानिसमा उमेरको कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ । तर, बाथरोगका कारण हुने ढाडदुखाइ अलि भिन्न किसिमको हुन्छ । ढाडदुखाइ राति बढी हुन्छ र दुखेर निद्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्नसमेत नसकिने हुन्छ । बिहान उठ्नेबित्तिकै कक्रक्क परेर हलचल गर्नसमेत गाह्रो हुन्छ । केही बेर तन्काएपछि र काम र कसरत गर्न थालेपछि भने दुखाइ कम भएर जान्छ । दुखाइ कम गर्ने औषधि सेवन गरेपछि बिरामीले निकै राहत महसुस गर्दछन् । समयमा निदान र उपचार नभएमा यो रोग जटिल अवस्थामा पुग्छ । बिरामी हलचलसम्म गर्न नसक्ने भएर थला पर्छन् । कतिपय बाथरोगका बिरामीमा अन्य रोग जस्तै– छालाका रोग (सोरियासिस), पातलो दिसा हुने रोग (आइबिडी) पनि हुन सक्छ । आँखा रातो हुने, कुर्कुच्चा धेरै जोडसँग दुख्ने, एउटा औँला मात्र सुन्निने पनि हुन सक्छ । अन्य बाथरोगमा शरीरका मांसपेशी दुख्ने, कुर्सीमा बसेको मान्छे अचानक उठ्न नसक्ने हुने, कपाल कोर्दा हात फतक्क गलेर तल झर्नेलगायतका लक्षण देखिन्छन् । त्यसैगरी, छालामा डाबर आउने, मांसपेशी गल्ने र दुख्ने लक्षण डर्माटोमायोसाइटिस वा पोलिमायोसाइटिस रोगमा हुने गर्दछ । धेरै मात्रामा कपाल झर्ने, विशेषगरी महिलाको कपाल धेरै झर्ने हुन सक्छ । मुखभित्र घाउ आउने, मुखको छाला जाने, घाममा जाँदा अनुहार रातो हुने र पोतो आएको जस्तो हुने, जोर्नीहरू र मांसपेशी दुख्ने र लामो समयसम्म ज्वरो आउने हुन्छ । ज्वरोको कारण पत्ता नलाग्ने किसिमका लक्षणहरू एसएलई बाथरोगमा देखापर्न सक्छ । यो एसएलई बाथरोग तुलनात्मक रूपमा महिलालाई बढी लाग्छ । टाउको अचानक दुख्ने, आँखा धमिलो हुने र आँखाको ज्योति गुम्ने अवस्था पनि बाथरोगका कारण आउन सक्छ । बाथरोगकै कारण गर्भाशयमा बच्चा नआउने वा नबस्ने र बसेको गर्भ पनि बारम्बार तुहिनेसमेत हुन्छ । पेट दुख्नु, दिसामा रगत आउनुचाहिँ (मेजेन्टेरिक भास्कुलाइटिस)का लक्षण हुन् । छारेरोगको जस्ता लक्षण, अचानक अन्धोपना, मुख बांगो हुनेलगायतका लक्षणसमेत बाथरोगमा देखापर्छन् । सामान्यतया बाथरोग विशेषज्ञ फिजिसियनले उपचार गर्ने गर्दछन् । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप