२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
प्यालेस्टाइन । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार एक आदेश जारी गर्दै प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा गर्ने घोषणा गरेका छन् । यदि यो निर्वाचन भएमा प्यालेस्टिनीहरूले २० वर्षपछि मताधिकार प्रयोग गरी आफ्ना विधायक छान्नेछन् ।
प्यालेस्टिनी क्षेत्रमा विधायिकाको अन्तिम निर्वाचन सन् २००६ मा भएको थियो, जसमा हमासले जित हासिल गरेको थियो भने अब्बासको फतह पार्टी पराजित भएको थियो । उक्त निर्वाचनपछि प्यालेस्टिनी सशस्त्र समूह हमासले प्यालेस्टिनी राजनीतिमा प्रभुत्व जमाएको थियो ।
त्यसपछि अब्बासको नेतृत्वमा रहेको प्यालेस्टिनी प्राधिकरणको संसद् (प्यालेस्टिनी विधायी परिषद्) सन् २००७ यता बैठक बस्न सकेको छैन ।
“राष्ट्रपतीय आदेशले जेरुसलेम, वेस्ट बैङ्क र गाजा पट्टीमा रहेका प्यालेस्टिनी जनतालाई निर्दिष्ट मितिमा प्यालेस्टिनी विधायी परिषद्का सदस्य निर्वाचित गर्न स्वतन्त्र र प्रत्यक्ष निर्वाचनमा भाग लिन आह्वान गरेको छ,” राष्ट्रपतीय आदेशलाई उद्धृत गर्दै प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ ।
निर्वाचन गर्नु प्यालेस्टिनी प्राधिकरणलाई आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायले माग गरेका सुधारको एक हिस्सा हो ।
९० वर्षीय अब्बास अन्तिम पटक सन् २००५ को राष्ट्रपति निर्वाचनमा विजयी भएका थिए । उनको चार वर्षे कार्यकाल सन् २००९ मा सकिनुपर्ने थियो । तर निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै कार्यकाल थप गरिएको थियो र त्यसयता राष्ट्रपति निर्वाचन भएको छैन ।
अब्बासले राष्ट्रपतीय आदेशमार्फत शासन गर्दै आएका छन् । यसलाई लिएर स्वदेश तथा अन्तर्राष्ट्रिय समुदायबाट प्यालेस्टिनी नेतृत्वको आलोचना हुँदै आएको छ ।
सन् २०२१ मा अब्बासले विधायिका र राष्ट्रपति निर्वाचन क्रमशः मे र जुलाईमा गर्ने घोषणा गरेका थिए । तर पूर्वी जेरुसलेम (जसलाई इजरायलले सन् १९६७ देखि कब्जा गरेको छ) मा मतदानको सुनिश्चितता नभएको कारण देखाउँदै निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
गत अप्रिलमा प्यालेस्टिनीहरूले इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा स्थानीय परिषद् प्रमुखको निर्वाचनमा मतदान गरेका थिए । यो सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयताको पहिलो मतदान थियो ।
प्यालेस्टिनी प्राधिकरणले भ्रष्टाचार, आर्थिक तथा राजनीतिक गतिरोध र घट्दो वैधताका कारण व्यापक आलोचना सामना गरिरहेको छ ।
दातृ निकायहरूले आफ्नो आर्थिक तथा कूटनीतिक सहयोगलाई विशेषगरी स्थानीय शासन सुधारसँग जोड्दै लगेका छन् ।
प्यालेस्टिनी नेता अब्बासले जुन महिनामा राष्ट्रपति निर्वाचन सन् २०२७ को सुरुमा गर्ने घोषणा गरेका थिए । तर आफू उम्मेदवार बन्ने वा नबन्नेबारे उनले केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण