बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यी हुन् मृगौला पत्थरीका बिरामीले खान नहुने कुरा

बिहीबार, १२ फागुन २०७३, १२ : १७
बिहीबार, १२ फागुन २०७३

डा. कुशल कार्की

अपरेसन गरेपछि होस् या ओपीडीबाट फर्केपछि बिरामीले डाक्टरलाई के खानु हुन्छ, के खानु हुन्न भनेर प्रश्न सोध्ने गर्दछन् । यसै प्रश्नका आधारमा रोगको प्रकृति हेरेर डाक्टरले समाधन पनि दिने गर्दछन् ।

कुनै पनि रोगबाट बच्न अथवा फेरि त्यो रोग लाग्नबाट जोगिनका लागि खानाले पनि विशेष भूमिका खेल्ने गर्दछ । मिर्गौलाको पत्थरी हुनेले खान हुने र नहुने बारेमा सबैलाई जानकारी भएको राम्रो हो । यसको सबैभन्दा नराम्रो पक्ष के छ भने मृगौला पत्थरी उपचार गर्नेहरुमध्येका ५०% मानिसलाई १० वर्ष भित्रमा पुनः पत्थरी हुने गरेको तथ्याङ्क पाइन्छ । यसो हुनु खानपानकै असावधानीले हो । यसर्थ ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस्’ मानिन्छ । अतः बिरामीलाई यो रोग लाग्न बिरामी तथा चिकित्सक दुवै ध्यान दिन जरुरी छ ।

अहिलेको अवस्था चिकित्सकको हकमा   चिकित्सकको मुख्यध्यान बिरामीको शल्यकृया र कसरी बिरामीलाई सकुशल घर पठाउन सकिन्छ भन्नेमा जान्छ ।  कतिपय चिकित्सकले यस पाटोलाई खासै प्राथमिकता नदिएको जस्तो लाग्छ ।

बिरामीको हकमा   धेरै बिरामीलाई त पत्थरी निकालिसकेपछि पनि फेरि पत्थरी हुन्छ भन्ने ज्ञान हुँदैन ।  कति बिरामीले डाक्टरको सही सल्लाह पाउँदैनन् ।  सल्लाह पाए पनि धेरैले यसलाई खासै महत्व दिँदैनन् ।  अरु थप खर्च गर्न त्यतिको उत्साहति हुँदैनन् ।

गर्नुपर्ने चाहिँ के हो ?  मृगौला या मूत्रनलीमा बनेको ढुङ्गा निकालेपछि त्यसको वैज्ञानिक परीक्षण गर्नुपर्छ । वैज्ञानिक परीक्षणका ३ तरिका छन् । तीमध्ये केमिकल एनालाइसिस वेट केमेस्ट्रि विधिको खासै महत्व छैन, जुन नेपालमा हुन्छ । बिरामीको मृगौलाबाट पत्थर निकाले पछि २४ घण्टाको पिसाब जम्मा पारेर कम्तीमा २ चोटी परीक्षण गर्नुपर्छ । त्यसपछि मात्र के खानु हुन्छ र के खानु हुन्न भन्ने सवालको जवाफ दिन सकिन्छ । यी कामहरु झन्झटिला र खर्चिला पनि छन् । त्यसैले यी काम गर्न न त बिरामीहरुसँग धैर्य र पैसा नै बाँकी हुन्छ न चिकित्सकसँग आवश्यक समय नै । तर यो परीक्षण गरी खानाका बारेमा जानकारी लिएमा पुनः पत्थरी हुने सम्भावना कम हुन्छ ।

खानेकुरा र पत्थरीको सम्बन्ध माथि भनिएको जाँचहरु पछि पत्थरीको प्रकृति र पत्थरी हुने कारण पत्ता लगाएपछि मात्र यससम्बन्धी जानकारी दिन सकिन्छ । नेपालका पत्थरीका बिरामीहरुमा पाइने पत्थरी यसप्रकारका छन् :  ओक्जालेट पत्थरी  इस्त्रुभाइट पत्थरी  युरिक एसिडपत्थरी

१. ओक्जालेट पत्थरी यो धेरैजसो बिरामीहरुलाई हुने पत्थरी हो । रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालक आदि खाने कुराहरुमा ओक्जालेट हुनेगर्दछ । तर यी खानेकुराहरु खानै नहुने भन्ने हैन । यी खानेकुराहरु कम खानुपर्छ र यी खानेकुरा खाँदा क्यालसियम भएको खानेकुरासँग खानुपर्छ । जसले गर्दा मृगौलामा यीतत्वको मात्र कम हुन्छ । कुनै कारणले भिटामिन सीको सेवन गरेको छ भने यसलाई रोके राम्रो हुन्छ ।

इस्त्रुभाइट पत्थरी यस खालको पत्थरी विशेषगरी महिलाहरुमा हुने गर्छ । पिसाबको सङ्क्रमणसँग यसको सम्बन्ध हुन्छ । प्रोटस जातको किरले हुने पिसाबको सङ्क्रमण पटक पटक हुँदा यस्तो किसिमको पत्थरी हुनसक्छ । यस्तो पत्थरी पटक पटक हुनसक्छ । त्यसैले उपचार गर्दा पत्थरी पूरै निकाल्नुपर्छ र पिसाबको सङ्क्रमण हुनबाट बच्नुपर्छ ।

३. युरिक एसिड पत्थरी यस्तो प्रकारको पत्थरी भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम हुनुपर्छ । यी खानेकुरामा रातोमासु (राँगा, खसी, बुङगुर, सुँगुर आदि) पर्दछन् । यस्तै गेडागुडी मदिरा, गुलियो र चिल्लोका मात्रा पनि कम गर्नुपर्छ ।

कहिलेकाहीँ चिकित्सकको सल्लाह अनुसार युरिक एसिड कम गर्ने औषधि पनि खानुपर्छ ।

पिसाबमा एसिडिटीको महत्व  कुनै पत्थरहरु एसिडिक वातावरणमा बन्दछन् ः । जस्तै अक्जालेटा, युरिक एसिड सिस्टम आदि । कुनै चाहिँ अल्काइन क्षारिय वातावरणमा बन्दछन् । त्यसैले पत्थरीको जात पत्ता लगाई खानपिनमा परिवर्तन गर्नु पर्छ । जस्तैः एसिड वातावरणमा बन्ने पत्थरी भएमा पिसाब अल्काइन बनाउने खानेकुरा अथवा औषधी खानुपर्छ तर क्षारीयमा बन्ने पत्थरी भएमा अम्लीय बनाउनुपर्छ ।

बिरामीले कति पानी पिउनु पर्छ सबै चिकित्सकहरुले पत्थरी भएका बिरामीले धेरै पानी खान सल्लाह दिन्छन् तर धेरैजसो बिरामीलाई पानी कति खानुपर्छ भन्ने ज्ञान हुन्न । त्यसैले कति पानी चाहिँ ‘धेरै पानी’ हो तर पानी कति खाने भन्ने कुरा बिरामी बस्ने वातावरण, उसको पेसा अनि दैनिक क्रियाकलापमा भर पर्छ । गर्मी ठाउँमा काम गर्ने किसान अनि एयस कन्डिसनमा बसेर काम गर्ने व्यक्तिले खानुपर्ने पानीको मात्रा एउटै हुँदैन । सामान्यतया गर्मी मौसममा ३ देखि ४ लिटर अनि जाडोमा २ देखि ३ लिटर पानी (झोल पदार्थ) पिउनुपर्छ । यसलाई नाप्ने अर्को उपाय भनेको पिसाब हो । बिरामीले पिसाब पानीजस्तो सङ्ग्लो अनि गन्दरहित नआएसम्म पानी खानुपर्छ । अनि धेरै पानी पिउँदैमा राम्रो हुन्छ भन्ने पनि छैन । कसैकसैलाई ८–१० लिटर पानी पिउने गरेको पाइन्छ । यति धेरै आवश्यक छैन । अत्यधिक कसरत, व्ययाम अथवा खेलकुदको बेला निस्किने पसिनाले गर्दा पिसाब कम आउने अनि बाक्लो पिसाब बन्छ । यस्तो बेलामा पत्थरी हुने सम्भावना बन्छ । त्यसैले व्ययाम गर्ने बेला प्रशस्त पानी खानुपर्छ ।

खानेकुराहरु बार्ने सामान्यतया चिकित्सकहरुले सबै पत्थरीका बारेमा बिरामीहरुलाई एकैनासे सल्लाह दिने गर्छन् तर यो सही तरिका हैन ।

नुन कम खाने बिरामीहरुमा देखिने विभिन्न पत्थरीहरुमा क्याल्सियम पनि मिसिएर आएको हुन्छ । यस्ता बिरामीहरु नुन धेरै खाएमा क्याल्सियमको मात्रा मृगौलामा बढी देखिन्छ । त्यसैले यी पत्थरीहरु दोहोरिएर देखापर्ने या यसको आकार बड्ने हुन्छ । सही मात्रामा क्याल्सियमजन्य खानेकुरा खानुपर्छ । यसले ढुङ्गा बढ्न दिँदैन र बच्न मद्दत गर्छ्र । त्यसैले पत्थरी भएका बिरामीले दूध खान छाड्नु हुँर्दैन । सही मात्रामा क्याल्सियमजन्य खानेकुरा खानुपर्छ । त्यसैले ढुङ्गा बढ्नुको साटो यसबाट बच्न मदत गर्छ ्रत्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन  |

कागती पानी पिउने यस्ता फलफूलमा सिट्रेट नामको तत्व हुन्छ । जसले मृगौलामा पत्थरी बन्ने प्रकृयालाई रोक्छ । त्यसैले एक पल्ट पत्थरी भइसकेको बिरामीले फेरि पत्थरी नहोस् भनेर यी फलहरु खानु अत्यन्त जरुरी हुन्छ । कागती, सुन्तला, जुनार, भोगटे आदि फलफूलहरु पत्थरी बिरामीले खानुपर्छ ।

क्यालसियमयुक्त खाना नखाने धेरै जातका पत्थरीहरुमा क्यालसियम हुन्छ त्यसकारण चिकित्सक या बिरामीले क्यालसियम भएका खानेकुरा नखाने गर्दछन् । वास्तवमा क्यालसियम अरु पत्थरी बन्ने तत्वसँग मिलेर पत्थरी बन्ने प्रकृया रोक्छ । त्यस कारण क्यालसियम भएका खानेकुरा खानुपर्छ ।

मधुमेह, मोटोपन, कोलेस्टोरलका बिरामी सतर्क हुनुपर्छ : पश्चिमा मुलुकहरुको जीवनशैली र खानपानको अनुसरण गर्नाले हाम्रो समाजमा पनि यस्ता रोगहरु बढिरहेका छन् । यी बिरामीहरुले अरु खराबी त गर्छन नै, यसको साथसाथै मृगौलाको पत्थरी हुने सम्भावना पनि बढिरहेको हुन्छ । त्यसैले मोटोपनलाई सही ठाउँमा राख्ने अनि स्वास्थ्य खानपिन अपनाउनु अत्येन्तै जरुरी छ ।

खानेकुराबाहेक ध्यान दिनुपर्ने कुरा बिरामीलाई एकपल्ट मृगौलाको पत्थरी भएपछि उसलाई जिन्दगीभर यो रोग बल्झने सम्भाभना हुन्छ । त्यसैले उसले सधैँ आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । दैनिक व्यायामको साथै पिसाबको सङ्क्रमणबाट बच्नु जरुरी छ । यो तथ्य महिलाहरुमा झन् धेरै मात्रामा लागू हुन्छ ।

घरेलु उपाय हाम्रो समाजमा अझै पनि मृगौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, नीमको पात, अदुवा तथा विभिन्न जरिबुट्टीको सेवन गर्ने चलन छ । यस्तो उपचार पद्धतिले ढुङ्गा झरेको तथा पगालेको कुनै वैज्ञानिक आधार छैन तर बिरामीहरु यसमा अल्झिएर चिकित्सक कहाँ ढिला पुगेको चाहिँ प्रशस्त उदाहरणहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप