सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पाँच दशकअघि पोखरेलीले देखेको सपना बल्ल भयो साकार

आइतबार, १७ पुस २०७९, २१ : ०६
आइतबार, १७ पुस २०७९

पोखरा । योजना बनेको ५० वर्षपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको यो विमानस्थलमा २५ प्रतिशत अनुदान सहयोग छ । 

आइतबार उद्घाटन समारोहमा बोल्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा बदल्न चीन सरकारलाई आग्रह गरेका छन् । ‘म नेपालस्थित चिनियाँ राजदूतावास मार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु’, उनले भने ।

देशकै प्रमुख पर्यटकीय गन्तव्यमा निर्माण भएको यो विमानस्थल अन्तर्राष्ट्रिय बजारमा  समेत सन्देश दिन अंग्रेजी नयाँ वर्षको पहिलो दिन– जनवरी १ मा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट बुद्ध एयरमातर्फ नयाँ विमानस्थलमा ओर्लिएका थिए । परियोजना सफल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणमा सहयोग गर्ने मन्त्री, कर्मचारी, चीन सरकारलाई धन्यवाद दियो ।

प्रधानमन्त्री दाहालले विमानस्थलका परिकल्पनाकार तत्कालीन अञ्चालाधीश शंकरराज पाठकलाई सम्मान गरे । पाठकको नेतृत्वमा जग्गा अधिग्रहण सुरु गरे पनि विमानस्थललाई चाहिने जग्गा विभिन्न चरणमा स्थानीयबाट किनिएको हो । विमानस्थल ३ हजार ८९९ रोपनी जग्गामा फैलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रम बढ्दो रहेको सुनाए । नेपालजस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको उनले बताए । उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ । अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौं ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसँगै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजबुत भएको समेत उनले बताए ।

आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरू भएको भन्दै प्रशंसा गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको उनले बताए ।

२०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप ग¥यो । २०२२ को जुलाई १० अगावै आयोजना सक्नुपर्ने थियो । यसअनुसार गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको थियो ।

चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर विमानस्थल हस्तान्तरण गरेका थिए । भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा त्यति बेला पनि तामझामका साथ कार्यक्रम भयो । विमानस्थल हस्तान्तरणकै दिन तत्कालीन पर्यटन मन्त्री प्रेम आले पोखरा विमानस्थल आएका थिए ।

विमानस्थलको रनवे २ हजार ५०० मिटर लामो छ । ४५ मिटर चौडाइ भएको रनवेमा बोइङ ७५७ र एयरबस ३२० जहाजले उडान तथा अवरण गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय जहाजले पूर्वतर्फबाट मात्रै उडान र अवतरण गर्ने छ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान हुने भने पनि अन्तर्राष्ट्रिय रुट नपाउँदा अहिले आन्तरिक उडान उद्घाटन गरिएको हो । दैनिक ४८ वटासम्म आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप