बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

बोक्सी आरोपमा कपाल मुण्डन गरेको कसुरमा पनि मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

सिके राउतको पहलपछि बल्ल मुद्दा दर्ता
बुधबार, २० पुस २०७९, ०७ : ३०
बुधबार, २० पुस २०७९

सप्तरी । सप्तरीमा बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा। सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् ।

सप्तरीको कञ्चनपुर नगरपालिकाको सो घटनाबारे आफूले उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जानकारी गराएको डा. राउतले बताएका छन् । राउतको आग्रहपछि प्रहरीले बल्ल मुद्दा दर्ता गरेको छ ।

कञ्चनपुर नगरपालिकामा करिब ४५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर कपाल मुण्डन गरिएको थियो । आफूलाई बोक्सीको आरोप लगाएर कपाल काटेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् । सप्तरीका एसपी अभिनारायण काफ्लेले सो घटना अन्देखा गरेपछि पीडित डा. राउतको कार्यालयमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले भने बोक्सी आरोपमा सो घटनाको जाहेरी दर्ता गरिएको रातोपाटीलाई बताए । उनले भने–‘रित पुर्वक जाहेरी नल्याएको हुनाले ढिला भएको हो, अहिले दर्ता गरेर अनुसन्धान गरिरहेका छौं ।’

बोक्सीको आरोप लगाएर यातना दिने ५ जनाबिरुद्ध पीडितले किटानी जाहेरी दिएकी छिन् । आरोपीहरु फरार भएको डिएसपी सिंहले बताए । उनले भने–‘आरोपीहरु भागेका छन्, हामी खोजतलास गर्दै छौं ।’

आरोपीहरुले कुटपिट गरेको चोटसहित पीडित प्रहरी कार्यालयमा पुग्दा पनि प्रहरीले बेवास्ता गरेको आरोप छ । डिएसपी सिंहले पीडीतलाई तत्काल घाउ जाँच फारम भरेर मेडिकल गर्न पठाएको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप