बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा बिरामीले के कसरी ख्याल राख्ने ?

चिसोमा श्वास प्रश्वासको समस्या बढी
बुधबार, २० पुस २०७९, ११ : ४१
बुधबार, २० पुस २०७९

काठमाडौँ । जाडो महिनामा विभिन्न किसिमका रोगले सताउने गर्छ । त्यसमा पनि श्वास प्रश्वासको समस्या भएका ब्रलडप्रेसर, सुगर भएका व्यक्तिको स्वास्थ्य समस्या झन् बढ्ने गरेको पाइएको फिजिसियन डा. रोशन कुमार झा बताउँछन् । 

डा झा का अनुसार कसैमा प्रेसर पहिलादेखि छ भने ती व्यक्तिहरूको प्रेसर पहिलाको भन्दा पनि झन् बढ्ने गर्छ । यस्तै, समस्या नभएको व्यक्तिमा पनि जाडो महिनामा प्रेसर बढ्ने समस्या बढी हुन्छ ।

‘जाडो महिनामा दिन पनि छोटो हुन्छ । अल्छीले प्रेसर, सुगर हुनेहरूले चिकित्सकलाई भेट्न पनि जाँदैनन् । जसका कारण सुगर, प्रेसर ह्वात्तै बढेको थाहा पाउँदैनन् । यसले प्रेसर बढेको थाहा नपाउँदा हर्टअट्याटकदेखि प्यारालाइसिस हुने सम्भावना बढी हुन्छ,’ डा झा भन्छन् ।

श्वास प्रश्वासको समस्या

जाडो याममा खानपान र रहनसहनका कारण श्वास प्रश्वासको समस्याले सताउने डा.झा बताउँछन् । यस समयमा श्वास प्रश्वास सम्बन्धी सिजनल फ्लू देखिने गर्छ । जाडो याममा रुघाखोकीले बढी सताउँछ भने आन्द्रासम्बन्धी समस्या, पखाला लाग्ने, बान्ता हुने गर्मी याममा बढी हुन्छ । 

बर्खा याममा दूषित पानीले गर्दा रोग बढ्छ भने चिसो याममा सिजनल फ्लूले  विभिन्न किसिमको रोगहरू देखा पर्ने उनको भनाइ छ  ।

मौसम परिवर्तन हुँदा खानपान र जीवनशैलीमा ध्यान नदिँदा धेरै व्यक्तिहरूमा अनेक खालको समस्या देखिन सक्छ । चिसोको कारणले प्रतिरोधात्मक क्षमता कम हुने भएकाले सिजनल फ्लू चाँडै सङ्क्रमण हुन्छ ।   

बच्ने उपायहरू

जाडो मौसममा खानपान, रहनसहनमा विशेष ख्याल गर्न डा झा को सुझाव छ । चालीस वर्ष उमेर पुगिसकेकाहरुले सकेसम्म नुन कम खानुपर्छ ।  उनी भन्छन्, ‘चिनी त झन् खानै हुँदैन । यदि खान मन लाग्यो भने पनि स्वादको लागि मात्रै खानुपर्छ ।’ 

बोसोयुक्त खानेकुरा नखान पनि उनको सुझाव छ । यस्तै, बेला बेलामा प्रेसर जाँच गर्नुपर्छ । यदि प्रेसर लगातार बढिरहेको छ भने चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । आफू खुसी औषधि सेवन गर्नु हुन्न । 

उनी भन्छन्, ‘ग्रिन टि खाएर, तितो करेला खाएर प्रेसर कम गर्छु भनेर भ्रममा बस्न हुँदैन । त्यसले दुर्घटना हुन सक्छ ।’  

एक पटक हर्टअट्याक भएपछि लापरबाही गर्नु ‘वान मिस गेम फिनिस’ हो । एक पटक प्यारालाइसिस भइसकेपछि एउटा औषधिको ठाउँमा चार वटा औषधि खानुपर्छ । त्यससँगै अंगभंग भएमा अरूमा निर्भर हुनुपर्छ ।

कसरी जोगिने ?

–जाडो याममा शरीरलाई न्यानो राख्ने ।

–आफ्नो प्रेसर डाक्टरलाई समय समयमा देखाएर डाक्टरको सल्लाहअनुसार औषधि खाने ।

–सुगरको स्क्रिनिङ गरिरहने ।

–नुनको मात्रा कम गर्ने ।

–चिनी सक्दो खाँदै नखाने ।

यस्ता बुँदामा हामीले ध्यान दिन सक्यौँ भने जाडो महिनामा लाग्ने विभिन्न किसिमका रोगहरूबाट बच्न सकिन्छ । 

रुघाखोकी लाग्न दीर्घरोगी हुनुहुन्छ भने निमोनियाको भ्याक्सिन निमोकोकललगायत भ्याक्सिनहरू लिनुपर्छ । किनभने यसले रोग लाग्नबाट जोगाउँछ । 

लवाइ खवाइ, सुताइ पूर्ण भयो भने धेरैजसो रोगबाट बच्न सकिन्छ । हामीले जीवनशैली पनि सुधार्नुपर्छ । चुरोट बिँडी नखाने, जाँड रक्सी खाँदै नखाने देखि आफ्नो समस्याअनुसार समयमै उपचार गराइ जोगिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप