शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की कांग्रेसमा कारबाहीको जुहारी, सभापति बरालमाथि पनि पर्‍यो उजुरी

बुधबार, २० पुस २०७९, २० : २०
बुधबार, २० पुस २०७९

पोखरा । नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । यसअघि पूर्व सभापति कृष्ण केसीविरुद्ध कारबाहीको मागसहित उजुरी परेको थियो ।

बराललाई भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन र वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कोठे बैठक गरेर संगठन अलपत्र पारी केन्द्रको नीति अनुसार अगाडि नबढेको भन्दै कारबाहीको माग गरिएको हो ।

सभापति बरालमाथि १० वटा बुँदामा आरोप लगाउँदै निर्वाचनमा गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्तर्घात, असहयोग गरेकाले सशक्त कारबाहीको माग गरिएको छ ।

निर्वाचनमा गुटगत कार्यकर्तामात्र परिचालन, चन्दा आतंक, समानुपातिक मत माग्न मतदाता शिक्षा दिन प्रयास नगरिएको, व्यक्तिगत प्रचारप्रसार, भिडिओ अपिल तयार गरी एक्लै हिँडेर गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्योलमा पारेर विपक्षलाई सहयोग गरेको आरोप उनीमाथि लगाइएको छ ।

‘जो मान्छे रित्तो छ, खोक्रो छ, जसले गल्ती गरेको छ । त्यसले गल्ती ढाकछोप गर्न अर्को गल्ती गरेको निरन्तरता हो । त्यसैको स्वरुप परेको उजुरी हो भन्ने लाग्छ,’ आफूविरुद्ध परेको उजुरीका सम्बन्धमा सभापति बरालले भने ।’ गल्ती गर्ने नै कारबाहीको भागीदार हुने उनको भनाइ छ ।

मंगलबारमात्र बराल पक्षबाट कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो । उनलाई भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवार किशोर बराललाई पराजित गराएको आरोपमा उजुरी गरिएको हो ।

सभापति बराल मंसिर ४ मा सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । स्थानीय निर्वाचनमा कांग्रेसबाट पोखरा महानगरपालिकाकी उम्मेदवार कोपिला रानाभाट हारेसँगै कास्की कांग्रेसमा अन्तर्घातको आरोप प्रत्यारोप चुलिएको हो । पूर्वसभापति केसीले भने आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् ।

‘मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेको कमजोरीहरु सिंगो कास्की कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘म आफू नचल्न सक्छु । उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।’ उनले आफूमाथि लागेको आरोप भोलि आधिकारिक रुपले आइसकेपछि आफूले जवाफ दिने र आफूमाथि प्रश्न गर्नेलाई पनि आफूले त्यतिबेलै प्रश्न गर्ने बताए ।

c

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप