शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्या आरोपमा थप एकजना शंकास्पदको रगतको नमूना संकलन

आइतबार, २४ पुस २०७९, २३ : २१
आइतबार, २४ पुस २०७९

काठमाडौँ । निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनाको रगतको नमूना संकलन गरेको छ । डीएनए परीक्षण गर्न कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका एकजना युवकको रगत संकलन गरेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पुस २१ अघि पनि निर्मला पन्तको हत्यामा संलग्न आशंकमा प्रहरीले दुई जनाको नमुना संकलन गरेको थियो । त्यतिबेला रगतको नमुना दिनेहरु भारतीय नागरिक हुन् । संकलित नमुना परीक्षणका लागि काठमाडौँस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न आशंकामा अनुसन्धान टोलीले दुईजनाको रगतको नमूना संकलन गरेको छ ।
निर्मलाको हत्या भएको २५ दिनपछि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो । २०७५ भदौ २६ मा जिल्ला सरकारी वकिल कार्यालयले उनलाई संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिले अहिले कञ्चनपुरमा बसेर काम गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप