शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भ्याटमा उत्पादनमूलक क्षेत्रको योगदान उच्च

आइतबार, ०१ माघ २०७९, ०६ : १८
आइतबार, ०१ माघ २०७९

 मूल्य अभिवृद्धिकर (भ्याट)मा उत्पादनमूलक क्षेत्रको योगदान निरन्तर अग्रस्थानमा रहेको देखिएको छ । विगत ५ वर्षमा संकलित भ्याटको तथ्यांक हेर्दा उत्पादनमूलक क्षेत्रबाटै सबैभन्दा बढी उठेको देखिन्छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ मा उत्पादनमूलक क्षेत्रबाट २६ अर्ब ८ करोड रुपैयाँ भ्याट संकलन भएकोमा आव २०७८/७९ आइपुग्दा बढेर ३९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्रबाट संकलित भ्याट १ वर्षबाहेक निरन्तर वृद्धि भइरहेको पनि उक्त तथ्यांकले देखाउँछ । आव २०७६/७७ मा कोभिडका कारण अघिल्लो वर्षको तुलनामा यस क्षेत्रबाट संकलित भ्याट घटेको देखिन्छ ।

भ्याटलाई आन्तरिक राजस्व विभागले ६ शीर्षकमा राखेर हिसाब गर्ने गरेको छ । ती उत्पादनमूलक क्षेत्र उद्योग, पर्यटन क्षेत्र, विक्री वितरण, रिभर्स चार्ज, ठेक्का परामर्श, अन्य सेवा हुन् । मूल्य अभिवृद्धिकरको संरचनात्मक अवस्था हेर्दा आव २०७८/७९ मा आन्तरिकतर्फको मूल्य अभिवृद्धिकर संकलन ११५ दशमलव ८६ अर्ब रुपैयाँ रहेको छ ।

यसमा प्रत्येक क्षेत्रको योगदान हेर्दा सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रको ३२ दशमलव ७९ प्रतिशत र विक्री वितरणको २५ दशमलव ३० प्रतिशत देखिन्छ । सबैभन्दा कम पर्यटन क्षेत्रको १ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।

विभागका निर्देशक राजुप्रसाद प्याकुरेल भ्याटमा उद्योग क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउँछन् । उनका अनुसार कोभिडका कारण उत्पादन घट्दा आव २०७६र७७ को संकलन अघिल्लो आवको तुलनामा घटेको हो । पर्यटन क्षेत्रतर्फको भ्याट संकलनमा कोभिडको समयमा कमी आए पनि आगामी दिनमा यसको योगदान बढ्नेमा विभाग आशावादी छ ।

विभागका अनुसार हालसम्म मूल्य अभिवृद्धिकरमा दर्ता हुनेको संख्या ३ लाख १८ हजार पुगेको छ । सरकारले पछिल्लो समय करको दरभन्दा दायरा विस्तारमा जोड दिँदै आएकाले दर्ता हुनेको संख्या बढेको प्याकुरेल बताउँछन् । हाल अनलाइनबाटै व्यक्तिगत र व्यावसायिक रूपमा स्थायी लेखा नम्बर प्राप्त गर्ने सुविधा उपलब्ध रहेको विभागले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप