मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेशमा सर्वदलीय सरकार गठनका लागि मुख्यमन्त्री सकारात्मक

कांग्रेस भन्छ– सरकारमा जाँदैनौं, सभामुख दिए बाहिरबाटै सरकारलाई समर्थन
आइतबार, ०१ माघ २०७९, १६ : १६
आइतबार, ०१ माघ २०७९

जनकपुरधाम । सोमबार (भोलि) मधेस प्रदेशमा सभामुख पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट रामचन्द्र मण्डलले र कांग्रेसका तर्फबाट जंगीलाल रायले शनिबार उम्मेदवारी दिएका थिए । प्रदेशसभामा सत्ता गठबन्धनको भारी बहुमत रहेकै अवस्थामा कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी दिएपछि विभिन्न अड्कलबाजी हुन थालेको छ । सत्ता गठबन्धनकै केही दलले कांग्रेसलाई सहयोग गर्ने हो कि भन्ने आशंका उब्जिएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सभामुख निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिनु प्रक्रियागत विषय भएको बताए । उनले सदन प्रतिपक्षकै भएकाले आफ्नो भूमिका निर्वाह गर्न पनि उम्मेदवारी दिएको बताए ।

कांग्रेस संसदीय दलका नेता यादवलाई सोही विषयमा छलफल गर्न आज सत्ता पक्षले बोलाएको थियो । केही कारणबस आजको बैठक हुन नसकेको स्रोतले बतायो । ‘छलफलका लागि सत्ता पक्षले बोलाएको छ । प्रस्ताव के हो भन्ने अहिलेसम्म आएको छैन,’ यादवले भने, ‘तर भोलि ८ बजे बैठक बस्नेछ, बैठक पश्चातमात्रै के हुन्छ भनेर थाहा हुन्छ ।’

यता मुख्यमन्त्री सरोजकुमार यादवले भोलि पहिलो चरणमा हुने सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन र सर्वसम्मतमै सभामुख चयन गर्न आग्रह गर्न छलफलका लागि बोलाएको जानकारी दिए ।

उनले सभामुखको निर्वाचन पश्चात भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने भएको हुँदा विश्वासको मत माग्न पनि बैठकमा बोलाएको जनाए । मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि कांग्रेसलाई पनि ढोका खुला रहेको बताए । कांग्रेसले चाहेमा मधेस प्रदेशमा सर्वदलीय सरकार गठनका लागि आफू सकारात्मक रहेको उनको भनाइ छ ।

यी तीन वटा प्रस्ताव उपर छलफल गर्न कांग्रेस संसदीय दलका नेता यादवलाई बोलाएको उनले जनाए ।

कांग्रेसलाई सभामुख दिए बाहिरबाटै समर्थन - सांसद राय

मधेस प्रदेशको सभामुख पदका लागि उम्मेदवारी दिएका कांग्रेस प्रदेशसभा सदस्य जंगीलाल रायले नेपाली कांग्रेसलाई सभामुख दिए सरकारमा सहभागी नभई बाहिरबाटै समर्थन गर्ने बताएका छन् । उनले रातोपाटीसँग भने, ‘कांग्रेस सरकारमा सहभागी हुँदैन तर, सभामुख पद दिए बाहिरबाट समर्थन गर्छौं ।’

त्यस्तै जसपाका सांसद ललिता दासले यस विषयमा आफूलाई केही जानकारी नरहेको बताउँदै उनले पार्टीको निर्देशन र ह्वीपलाई पालना गर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप