बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

आईकाओको उच्च स्कोर पाएकै वर्ष ठुलो हवाई दुर्घटना, कालोसूचीबाट हट्ला नेपाल ?

सोमबार, ०२ माघ २०७९, २० : ४५
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । नेपालले हालैमात्र इतिहासमै पहिलो पटक हवाई सुरक्षा मापदण्डमा उच्च अङ्क प्राप्त गरेको थियो । सन् २०२२ को अप्रिल १३ देखि अप्रिल २५ सम्म अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले गरेको हवाई सुरक्षा अडिटमा नेपालले ७०.१ प्रतिशतको उच्च स्कोर पाएको हो ।

जबकि अघिल्लो पटक नेपालको हवाई सुरक्षा स्कोर ६६.७६ प्रतिशत रहेको थियो । आईकाओको विश्व औसत परिपालना दर (इफेक्टिभ इम्लिमेन्सन रेट) ६७.२ प्रतिशत र एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत हुँदै गर्दा नेपालले अधिकतम ७०.१ प्रतिशत अंकभार प्राप्त गरेपछि नेपाली उड्डयन जगत् हर्षित हुन पुगेको थियो । 

हवाई सुरक्षामा उत्कृष्ट अङ्क आउँदै गर्दा नेपालले एक दशकअघिदेखि भोग्दै आएको युरोपियन युनियन (ईयू)को कालोसूचीबाट समेत हट्ने अपेक्षा गरेको थियो । तर, यसै वर्ष नै विश्व हवाई जगतलाई नै त्रसित पार्ने गरी नेपालमा अर्को ठुलो हवाई दुर्घटना घटेपछि नेपालको आशामा ठुलो धक्का लागेको छ । 

एकै वर्ष दुई ठूला हवाई दुर्घटना, ९४ जनाको मृत्यु
गत वैशाखमा मात्र पोखराबाट जोमसोम उडेको तारा एयरको ९एनएईटी विमान दुर्घटनामा परेको थियो । प्रतिकुल मौसमका कारण दुर्घटनामा परेको विमानमा सवार २२ जनाको नै मृत्यु हुन पुगेको थियो । 

यसको ८ महिना पनि पुरा हुन नपाउँदै नेपाली आकाशमा पुनः अर्को ठुलो विमान दुर्घटना हुन पुगेको छ । आइतबार बिहान १०ः ३२ बजे काठमाडौँदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर ७२ विमान गन्तव्यमा नपुग्दै सेती खोचमा दुर्घटनाग्रस्त बन्न पुग्यो । विमानमा सवार ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रुहरूकै मृत्यु हुन पुगेको छ । यो नै नेपाली आकाशमा घटेको हालसम्मको ठुलो डोमेस्टिक विमान दुर्घटना हो । 

एकैपटक ७२ जनाको मृत्यु हुने गरी भएको यो हवाई दुर्घटनाले नेपाली हवाई सुरक्षामाथि प्रश्न मात्र उठाएको छैन कालोसूचीबाट हट्ने कुरा अब के हुन्छ भन्ने प्रश्न उब्जाएको छ । त्यसो त यी दुई विमान मात्र होइन दुई दशकको अवधिमा नेपाली आकाशमा यस्ता तीन दर्जन हाराहारीमा विमान दुर्घटना भइसकेका छन् भने ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 

समग्रमा दुर्घटनाले रिजल्टमा असर पार्दैन : निरौला
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको दुर्घटनाले आईकाओ रिजल्टमा खासै असर नपार्ने जनाएको छ । दुर्घटनाले सामान्य अङ्क गणितमा प्रभाव पर्ने भए पनि त्यसले समग्र रिजल्टमा प्रभाव नपर्ने प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले रातोपाटीसँग बताए ।

‘रिजल्ट सग्रमा हेर्ने हो, एक दुई वटा घटनामा होइन । यसै वर्षको आईकाओको अडिटले नेपालको हवाई सुरक्षा अन्तर्राष्ट्रिय स्तरमा उच्च स्कोरमा नै रहेको देखाइसकेको छ । यसले अब नेपाल ईयूको ब्ल्याक लिस्टबाट हट्नेमा कुनै द्विविधा छैन’ निरौलाले भने, ‘सन् २०२३ को अप्रिलसम्ममा पूर्णतः नेपाल ईयूको कालो सूचीबाट हटिसकेको हुनेछ ।’

आईकाओको गत अप्रिल १३ देखि २५ सम्मको अडिट रिपोर्ट ईयूको सेक्युरिटी काउन्सिलमा पेस हुँदैछ । काउन्सिलले पास गरे नेपाल ब्ल्याक लिस्टबाट हट्नेछ । सन् २०२३ को फेब्रुअरी मार्चमा ईयूको सेक्युरिटी काउन्सिलमा अडिट रिपोर्ट पेस भइसक्ने र अप्रिल अन्तिमसम्म रिजल्ट आउने प्रवक्ता निरौलाले रातोपाटीसँग बताए ।

सन् २०१३ मा पहिलो पटक नेपाली हवाई उड्डयन क्षेत्र कालो सूचीमा परेको थियो । आईकाओको अफसाइट अडिटमा नेपालको हवाई सुरक्षा स्कोर ग्लोबल औसत परिपालना दरभन्दा तल आएपछि आईकाओले सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) जारी गरेको थियो । जसका कारण नेपाली हवाई क्षेत्रलाई ईयूले कालो सूचीमा राखेको थियो । 

तर, सन् २०१७ को अडिट रिपोर्टपछि आईकाओले नेपाललाई एसएससीबाट हटाइसकेको छ । हवाई सुरक्षामा नेपालले स्तर सुधार गरेसँगै आईकाओले एसएससीबाट हटाए पनि अझै ग्लोबल औसत रेञ्जमा कम नै रहेकाले ईयूले सूचीबाट हटाउन मानेको छैन । तर, पछिल्लो आईकाओको रिपोर्टले भने ब्ल्याक लिस्टबाट शत प्रतिशत हट्नेमा प्राधिकरणको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप