शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँगको युद्धमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले के भने ?

मङ्गलबार, ०३ माघ २०७९, ११ : ३६
मङ्गलबार, ०३ माघ २०७९

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले एक अन्तरवार्तामा भारतसँग तीन वटा युद्ध लडेपछि पाकिस्तानले पाठ सिकेको बताएका छन् । शाहबाज सरिफले भारतका प्रधानमन्त्री मोदीसँग आफू शान्तिपूर्ण ढङ्गले वार्ता गर्ने पक्षमा रहेको बताए ।

शाहबाज सरिफले यो अन्तरवार्ता युएई भ्रमणका क्रममा अल–अरेबिया टिभीलाई दिएका थिए, जसलाई पाकिस्तान मुस्लिम लिग (नवाज) अर्थात् पीएमएल–एनले आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

शाहबाज शरीफले यति बेला भने, ‘भारत हाम्रो छिमेकी देश हो र स्पष्ट रूपमा भन्नुपर्दा, हामी मर्जीले छिमेकी भएका होइनौँ तर हामी सधैँ सँगै नै बस्नुपर्ने छ । कसरी शान्तिपूर्ण तरिकाले बस्ने भन्ने हामीमा नै निर्भर छ । पाकिस्तानले आफ्नो पाठ सिकिसकेको छ । हामीले भारतसँग तीन वटा युद्ध लडेका छौँ ।’

‘यसले युद्ध र दुर्गति, बेरोजगार, गरिबी लिएर आयो । लाखौँ मानिसमा असन्तोषको भावना बढ्यो । हामी भारतसँग आफ्नो वास्तविक समस्यालाई सुल्झाउँदै शान्तिपूर्ण तरिकाले बस्न चाहन्छौँ ।’

शाहबाज शरीफले प्रधानमन्त्री मोदी र भारतको नाममा सन्देश दिँदै भने, ‘आउनुहोस् बसेर कश्मीर जस्तो हामीबिचको ज्वलन्त मुद्दालाई सुल्झाउनका लागि गम्भीर वार्ता गरौँ ।’

शाहबाज सरिफले भारत प्रशासित कश्मीरमा हरेक दिन मानवअधिकार उल्लङ्घन भइरहेको आरोप पनि लगाएका छन् । अगस्ट २०१९ मा, कश्मीरीहरूलाई विशेष सुविधा दिने धारा ३७० हटाइयो । शरीफले यी सबै बन्द हुनुपर्ने बताए ।

पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘हामी हाम्रो स्रोत बम र हतियार बनाउनमा खेर जान चाहँदैनौँ । हामी यसलाई देशलाई समृद्ध बनाउन प्रयोग गर्न चाहन्छौँ । म मोदीलाई यो सन्देश दिन चाहन्छु ।’

‘पाकिस्तानले सधैँ सहयोगको लागि अनुरोध गरिरहनु राम्रो होइन । छिमेकी राष्ट्रहरूले दाजुभाइको रूपमा हामीलाई सहयोग गरिरहेका छन्, तर हामी यसलाई व्यापार र लगानीमा परिणत गर्न चाहन्छौँ । आफ्नो खुट्टामा उभिएर, हामी आफ्नो आम्दानी बढाउन चाहन्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप