शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको सुन्तला बगैँचामा 'ग्रिनिङ' को प्रकोप

बुधबार, ०४ माघ २०७९, ०९ : ०५
बुधबार, ०४ माघ २०७९

लमजुङ । लमजुङमा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको छ । बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाडौँको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा 'ग्रिनिङ' रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए  ।

उनका अनुसार बेसीसहर नगरपालिका १ उदीपुर, बेसीसहर नगरपालिका ११ चिति, मर्स्याङ्दी गाउँपालिका ९ लामागाउँ र सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । 

परीक्षणका क्रममा बेसीसहर नगरपालिका ११ चितिका तीन वटा सुन्तला बगैँचामा 'ग्रिनिङ' रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताए । 

सुन्तलामा 'ग्रिनिङ' समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने उनको भनाई छ  । यस समस्याले वरिपरि रहेका बगैँचामा पनि असर गर्न सक्ने भएकाले 'ग्रिनिङ' को समस्या देखिएका सुन्तलाका बोटहरू पूर्णरूपमा नष्ट गरी नयाँ सुन्तलाका बिरुवा लगाउन उनको सुझाव छ ।

अन्य किसानलाई पनि सुन्तला उत्पादन वृद्धिका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ । विगतमा ठुलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप