महिला साफ यु-२० : चौथो संस्करणमा उपाधिको अपेक्षा
काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।
उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतको महिला यु–२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।
फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । सोही प्रतियोगिताका लागि सबै देशले तयारीलाई तीव्रता दिइरहँदा नेपाली टोलीले पनि तयारीलाई तीव्र बनाएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोली दिनहुँ ३÷४ घण्टा अभ्यासमा व्यस्त रहँदै आएको छ । अघिल्ला संस्करण साफ यु–१८, साफ यु–१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिले भने यु–२० बाट हुँदैछ ।
अघिल्लो इतिहास हेर्दा उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताए । तीन साता अघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्यससँगै केही मैत्रीपूर्ण खेलबाट अभ्यास बटुलेको छ ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको बताउनु भयो । यसअघि पनि सहभागिता जनाउँदै आएको नेपालले यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेको छ । सुरुवाती १५ दिनमा प्राविधिक विषयमा गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको भन्दै मुख्य प्रशिक्षक गुरुङले अहिले खेल शैलीको बारेमा अभ्यास गराइरहेको बताए । प्रतियोगिता खेल्नका लागि खेल शैलीमा परिवर्तन गर्न चाहे पनि छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिने प्रशिक्षक गुरुङले जानकारी दिए ।
नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताइन् । प्राविधिक र मानसिक हिसाब दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकोले ढाकामा हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्ने पक्षमा रहेको बताए । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवी र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वाभाविक खेलबाट सुखद नतिजाको लक्ष्य राखेर तयारी गरेको खेलाडी प्रिति राईले बताए ।
कुनै समय दक्षिण एशियामा बलियो टोली गनिने नेपाली टोलीले अन्य दक्षिण एशियाली टोलीको तुलनामा अघि बढ्न नसकेको केही पछिल्ला प्रतियोगिताका नतिजाबाट प्रस्ट छ । सँगै एन्फाले योजनाअनुरुप प्रतियोगिता सञ्चालन गर्न नसक्दा खेलाडीले अनुभव लिने मौकाबाट टाढिरहेका छन् ।
प्रतियोगिता आयोजना हुने निश्चिततासँगै अभ्यास थालनी गर्ने प्रचलन पुरानै हो । जसका कारण नतिजा टाढिरहेको अवस्थामा प्रशिक्षक यामप्रसाद गुरुङले नेतृत्व तहबाट नै महिला टोलीको खेल स्तर सुधार गर्न ठोस कार्यक्रम नभएको बताए ।
नेपालले लगातार चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगिता फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुँदैछ र तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ । सिंगल राउण्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण