शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि शिक्षण अस्पतालमा कम दरबन्दी हुँदा समस्या

बुधबार, ०४ माघ २०७९, १७ : ३५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् ।

विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउँछन् । “अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ”, उनी भन्छन् ।

टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् । त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक रु ३३ करोड दिँदै आएको छ । कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ । “झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक रु १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन”, कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन् ।

टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ । अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।  टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ । गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन् ।

सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए । यस्तै डाइलोसिस ७०, सिटी स्यान ६८, आइसियुमा ५३, एचडियुमा ६१ र डेलिभरी ११ जना भएका थिए । सोही दिन तीनजना बिरामीको ज्यान गएको थियो । बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । 

त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ । क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोड लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो ।  उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ । सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसियु, ३० शय्याको एचडियु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ । नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रुपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप