शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च मनोबल बनाउने गरी उद्योगीमैत्री वातावरण बनाउन परिसंघको माग

बुधबार, ०४ माघ २०७९, १८ : ०३
बुधबार, ०४ माघ २०७९

काठमाडौं । नेपाल उद्योग परिसंघले व्यवसायीहरुको उच्च मनोबल बन्नेगरी उद्योगमैत्री वातावरण बनाइदिन नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग माग गरेको छ । 

बुधबार अध्यक्ष विष्णुकुमार अग्रवालसहित मन्त्री भण्डारी भेट्न गएको परिसंघको टोलीले बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रको सुधारसँगै औद्योगिक वातावरण बनाउन विशेष भूमिका खेल्न आग्रह गरेको हो । 

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न मन्त्री भण्डारीसँग आग्रह गरे । 

औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरू सृजना गर्न सक्ने बताउँदै अध्यक्ष अग्रवालले नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन समेत मन्त्री भण्डारीसँग अनुरोध गरे । 

सोही अवसरमा उनले परिसंघले अघि बढाइरहेको ‘मेक इन नेपाल-स्वदेशी’ अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए । 

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेपलिज इकोनोमी’ अवधारणा समेत नवनियुक्त मन्त्री समक्ष पेस गरे । 

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । 

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै मन्त्री भण्डारीले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावका लागि धन्यवाद दिए । मन्त्री भण्डारीले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । 

रोजगारीको अभावमा पलायन भइरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरू बढाउनु आफ्नो महत्त्वपूर्ण लक्ष्य रहेको बताउँदै मन्त्री भण्डारीले औद्योगिक विकासबाट मात्रै यो सम्भव हुने भएकोले आफूले परिसंघसँग सहकार्य गरी अघि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप