शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

जसपामा दुई धार : अशोक ओलीतिर उपेन्द्र माधवतिर

के जसपा पुनः फुटतर्फ मोडिएको हो ?
शुक्रबार, ०६ माघ २०७९, १७ : ४३
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा दुई धार प्रष्ट रुपमा देखिएको छ ।  वर्ष दिन पहिले मात्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच आन्तरिक विवाद हुँदा जसपा विभाजन भई लोसपा भएको थियो । त्यसपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टरार्ईबीच पनि आन्तरिक विवाद भएपछि जसपा पुनः विभाजन भयो ।  अहिले फेरि जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव सुरु भएको छ । 

चुनावलगत्तै दुईजनाको बीचमा सुरु भएको मनमुटाव अहिले पार्टीको बैठकहरुमा देखिन थालेको छ । मंसिर १८ गते विराटनगर एयरपोर्टमा अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं । चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ ।’ लगत्तै अध्यक्ष रार्ईले एमालेसँगको गठबन्धन कायम रहेको प्रतिक्रिया दिएका थिए । त्यतिबेला अध्यक्ष रार्ई चुनाव जितेर मतदातालाई धन्यवाद दिँदै आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका थिए । उनले भनेका थिए, ‘एमालेसँग भएको गठबन्धनको अन्त्य भएको छैन, उपेन्द्रजीको त्यो व्यक्तिगत धारणा हो, पार्टीको धारणा होइन ।’

त्यहींबाट यी दुइको मनमुटाव सुरु भएको थियो । अशोक रार्ई र उपेन्द्र यादव काठमाडौँ फर्के पनि दुबैबीच पहिला जस्तो न्यानो कुराकानी भएन । त्यसको असर संसदीय दलको नेता चयनमा देखियो ।  पार्टीमा सबैभन्दा सिनियर नेता भएको कारण आफू संसदीय दलको नेता बन्नेमा ढुक्क थिए, अशोक रार्ई । 
तर जसपा अध्यक्ष उपेन्द्र यादवले बाराका सांसद रामसहाय यादवलाई संसदीय दलका नेता बनाए । 

मधेसमा संगठन राम्रो भएको, अधिकांश सांसद मधेसबाटै जितेका कारण बहुमतको मनोभावना बुझेर अध्यक्ष यादवले रामसहाय यादवलाई नेता बनाएको बताए । त्यसपछि दुवैजनाको दुरी झनै बढ्यो ।  अशोक रार्ई पक्षका नेता तथा कार्यकर्ताहरुले यसको विरोध गर्न थाले । सामाजिक सञ्जालमा पार्टी नेतृत्वको विरुद्धमा जथाभावी लेख्न थाले । त्यसपछि प्रचार विभागका प्रमुख पूर्ण वस्नेतले एउटा प्रेस नोट नै जारी गरे । संसदीय दलको नेता चयनको विषयमा पार्टीको बारेमा भइरहेको टीका टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई उनले सचेत गराएका थिए ।

तर त्यो असन्तुष्टि अझै कायम छ । माघ ३ गते बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए । जसपालाई भागबण्डाबाट अलग राख्ने काम अध्यक्ष ओलीले गरेको, जसपाको कुरा समेत गर्न नमान्ने जस्ता कुरा अध्यक्ष यादवले राखेपछि पार्टीका अधिकांश सांसदले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने सुझाएका थिए । 

तर, त्यसलाई तत्काल रोक्ने काम अध्यक्ष रार्ईले गरे । उनी एमालेसँगको गठबन्धन तोड्न नहुने पक्षमा छन् । उनले एमालेसँग गठबन्धन गरेर जसपालाई कुनै घाटा नलागेको धारणा पार्टीमा राख्दै आएका छन् । उनकै दबाबका कारण जसपा सरकारबाट समर्थन फिर्ता लिन सकेन ।  तर त्यो कुरामा अध्यक्ष यादवको चित्त बुझेको छैन । उनले माओवादी–एमाले गठबन्धन छाडेर काँग्रेससँग नयाँ गठबन्धन बनाउनु पर्ने पक्षमा जोड दिएका छन् । त्यसका लागि उनले गृहकार्य पनि थालेको पार्टी स्रोतले जनाएको छ । उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई साथमा राखेर काँग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरेका छन् । 

अध्यक्ष यादवले एकीकृत समाजवादीसँग एकता प्रक्रिया पनि अगाडि बढाएका छन्, जुन कुरा अर्का अध्यक्ष रार्ईलाई फिटिक्कै मन परेको छैन । त्यस्तै, यो एकताको विषयलाई एमाले अध्यक्ष ओलीले पनि मन पराएका छैनन् ।  एस र जसपाको एकता प्रक्रिया सुरु भएपछि एमाले अध्यक्ष ओली जसपा अध्यक्ष यादवबाट बिच्किएका थिए । र, त्यसमा साथ दिइरहे, जसपा संघीय परिषद्का अध्यक्ष अशोक रार्ईले । 

अध्यक्ष ओली र अध्यक्ष रार्ईबीच हिमचिम अगाडि बढिरहेको छ । अध्यक्ष ओलीले अशोक रार्ईलाई त्यतिकै आफ्नो पार्टीको उपाध्यक्ष भनेका होइनन् । अशोक रार्ईले एमाले छाडेको १० वर्ष भइसक्यो तर ओलीले अझै पनि उनी आफ्नै पार्टीको उपाध्यक्ष रहेको भन्दै आएका छन् ।  कात्तिक २५ गते धरानमा चुनाव प्रचारका लागि गएका एमाले अध्यक्ष ओलीले अशोक रार्ई आफ्नो उपाध्यक्ष रहेको धारणा राखेका थिए । उनले राईलाई देखाउँदै भनेका थिए, ‘उहाँ मेरो उपाध्यक्ष नौ हो ।’ त्यो बेलादेखि दुईजनाको बीचमा राम्रो सम्बन्ध बनेको हो ।

अशोक राईका प्रिय नेता रहेका हेमराज राई गत भदौमा जसपा छाडे । आफूसँग अशोक राईका साथमा रहेका केही नेताहरु लिएर हेमराज एमाले प्रवेश गरे । त्यसपछि एमालेका अध्यक्ष ओलीले अशोक राईलाई पनि पटक पटक पार्टीमा फर्किन आग्रह गरे । तर त्यसमा अध्यक्ष रार्ईले ओलीलाई कुनै वचन दिएका छैनन् ।  अशोक राई पार्टीको संसदीय दलका नेता नबनेपछि उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने सोचमा थिए । तर उपप्रधानमन्त्री नदिएपछि उनी आफ्नो श्रीमतीलाई मन्त्री बनाउने दाउमा थिए । अहिले उनले जुनसुकै मन्त्रालय दिए, त्यो लिएर जसपा सरकारमा जानुपर्छ भन्ने लाइनमा छन् । र, पार्टीमा पनि त्यही अनुसारको विचार व्यक्त गरिरहेका छन् । 

जसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘अशोकजीको अनुसार भएको भए अहिले जसपा सरकारमा हुन्थ्यो तर उपेन्द्रजीले रोकिरहनुभएको छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप