बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका तीन पालिकामा दादुरा देखियो

आइतबार, ०८ माघ २०७९, २० : ४०
आइतबार, ०८ माघ २०७९

धनगढी । कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ ।

‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘अन्य केही बालबालिकामा पनि दादुरा भएको आशंका गरिएको छ, उनिहरुको नमूना परीक्षण भइरहको छ ।’

धामीका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो । 

उनका अनुसार दुवै बालकले दादुराविरुद्धको पुर्ण खोप लगाएका  थिए । गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको  छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।

उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको छ ।  

खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ । 

बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप