बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

२१ वर्षअघि तत्कालीन सांसदले नक्कली श्रीमती अमेरिका पठाएको खुलासा

सोमबार, ०९ माघ २०७९, २३ : ०२
सोमबार, ०९ माघ २०७९

धेरै व्यक्तिका लागि सपनाको देश हो, अमेरिका । रोजगारी र आर्थिक प्रगतिका लागि मानिस अमेरिका जान जुनसुकै हद पार गर्न सक्छन् । अहिले हिँडेरै अमेरिका जानेहरूको लर्को लागिरहेको अवस्थामा आजभन्दा २१ वर्षअगाडि (२०५८ सालमा) राष्ट्रियसभाका सांसदले नै सरकारी कागजात कीर्ते गरेर अमेरिकामा मानव तस्करी गरेको खुलासा भएको छ । 

राष्ट्रियसभाका तत्कालीन सांसद अइन्द्र बिक्रम थाम्सुहाङले ताप्लेजुङकी नैना श्रेष्ठलाई श्रीमतीका रूपमा र अर्का एक व्यक्तिलाई छोरो बनाएर अमेरिका पठाएको खुलेको हो । थाम्सुहाङकी श्रीमती द्वारिका थाम्सुहाङको नाममा बनाइएको पासपोर्टमा फोटो भने नैना श्रेष्ठको टाँस गरिएको छ । 

अमेरिकामा हुने एक कार्यक्रममा दुईदेखि तीन हप्ताका लागि भन्दै पाँचथर याङनाङका थाम्सुहाङले यी दुवै व्यक्तिबाट जनही ४ लाख रुपैयाँ लिएर पठाएका थिए । रातोपाटीलाई प्राप्त १४८२९३० नम्बर रहेको पासपोर्टको फोटोकपीमा पासपोर्ट वाहकको नाम द्वारिका थाम्सुहाङ, पासपोर्ट वाहकको नजिकको व्यक्तिको नाम अइन्द्र बिक्रम थाम्सुहाङ उल्लेख छ । 

०५८ सालमा राष्ट्रियसभा सदस्यकै लेटरहेड प्रयोग गरी थाम्सुहाङले अमेरिकी दूतावास र आवश्यक पर्ने अन्य स्थानमा लागि पत्र लेख्दै आफ्नो संसद बैठक परेका कारण आफू अमेरिका जान नसक्ने तर आफ्नी श्रीमती द्वारिका थाम्सुहाङ र छोरा अनिल थाम्सुहाङ अमेरिका जाने बताएका थिए । 

छोराको रूपमा अमेरिका पठाइएका अनिल थाम्सुहाङ (पासपोर्ट नम्बर : ८८०१९५) पनि सक्कली छोरा नभएको स्रोतको दाबी छ । नैना श्रेष्ठका पूर्वपति ऋषिराम प्रधानका अनुसार, छोरा अनिल थाम्सुहाङको नाम प्रयोग गरी अर्कै व्यक्तिको फोटो टाँस गरिएको हो । 

कसुर प्रमाणित भए ७ वर्षसम्म कैद सजाय हुने

तत्कालीन राष्ट्रियसभाका सांसद थाम्सुहाङले २१ वर्षअघि कीर्ते गरे पनि यो घटना अहिले मात्रै थाहा हुन आएको छ । साबिकको मुलुकी ऐन वा अन्य कानुन र हालको कानुनमा जुन कम सजायको व्यवस्था गरिएको छ, सोही सजायको मागदाबी गर्दै मुद्दा दायर गर्ने कार्यविधि छ ।

नक्कली कागजात, हस्ताक्षर, तस्बिर आदि प्रयोग गरी अर्कै महिलालाई श्रीमती हो भनी प्रमाणित गरिदिएको र सोही आधारमा भिसा तथा अन्य कामका लागि सहजीकरण गरिदिन सिफारिस समेत गरेका कारण उनले हालको मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग अनुसारको कसुर गरेको देखिन्छ । दफा २७६ मा कीर्ते गर्न नहुने कसुरसम्बन्धी व्यवस्थाको उपदफा २ मा कसैलाई हानि वा लाभ पु¥याउने उद्देश्यले कुनै झूटा लिखत वा विद्युतीय अभिलेखको झुट्ठा अंश बनाउने काम गरेमा त्यसलाई कीर्ते गरेको मानिने व्यवस्था छ । 

उक्त उपदफा ३ (क) मा राष्ट्रपति वा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको कागजात कीर्ते गरेको भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । त्यसैगरी सोही उपदफाको खण्ड ‘ख’मा अदालतको फैसला कीर्ते गरेमा ८ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ, यी दुईबाहेक अन्य सरकारी कागजात कीर्ते गरेमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । 

तत्कालीन सांसद थाम्सुहाङ मात्रै नभएर अमेरिका पुगेकी नैना श्रेष्ठले पनि सरकारी कागजात कीर्ते गरेको र अर्कै व्यक्तिलाई आफू नै हो भनी आफूलाई गैरकानुनी लाभ पुग्ने गरी काम गरेको देखिन्छ । कीर्ते कागजात गर्ने थाम्सुहाङको अहिले निधन भइसकेको छ ।

Letter

को हुन् नैना श्रेष्ठ ?

अध्ययनको सिलसिलामा काठमाडौंमा रहँदा ताप्लेजुङकी नैना श्रेष्ठले २०४५ सालमा गोरखाका ऋषिराम प्रधानसँग विवाह गरेकी थिइन् । तत्कालीन समयमा बिएल अध्ययन गर्दै गरेकी नैनाले ४ कक्षा मात्रै पढेका ऋषिराम प्रधानसँग विवाह गरी ऋषिको नाममा रहेको सम्पत्ति आफ्नो बनाएकी थिइन् । ऋषिसँग विवाह गरी ऋषिलाई जापान पठाएर त्यहाँ कमाएको पैसाले नैनाले विभिन्न स्थानमा जग्गा समेत जोडेकी थिइन् । २०४६ सालदेखि २०५० सालसम्म जापानमा कमाएको सम्पूर्ण सम्पत्ति नैनालाई पठाएका ऋषिरामले जापानबाट फर्किएपछि पनि केही सम्पत्ति किनेका थिए । तर, विवाह दर्ता गर्दा विवाहको मिति २०४५ कायम नगरी २०५० साल राखी त्योभन्दा अगाडि किनेको सम्पूर्ण सम्पत्ति आफ्नो रहेको देखाउने कोसिस नैनाले गरेकी थिइन् । 

२०५८ सालमा नक्कली कागजात तयार पारी राष्ट्रिय सभाका सांसद थाम्सुहाङको श्रीमतीका रुपमा अमेरिका गएपछि नैनाले आफ्नो नामको सम्पत्ति बहिनी, भाइबुहारी आदिका नाममा गरेर ऋषिलाई सम्पत्तिबाट बेदखल गरेकी थिइन् । अमेरिकाबाट फर्केपछि २०६९ सालमा ऋषिलाई अंशसहितको सम्बन्धविच्छेदको मुद्दा दायर गरी सम्पूर्ण सम्पत्तिमा आफ्नो मात्रै हक कायम गर्न उनी सफल भएकी थिइन् । 

आफूले कमाएको सबै सम्पत्ति श्रीमतीले एकलौटी बनाएर आफूलाई छोडपत्र दिएपछि ऋषि यतिबेला सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन् । यस सम्बन्धमा हामीले बहिनी सरिता श्रेष्ठमार्फत नैना श्रेष्ठसँग सम्पर्क गर्ने कोसिस गरेका थियौँँ । दुवैले यस विषयमा कुराकानी गर्न अस्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप