बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

बल र धन केलाई भन्ने ?

बुधबार, ०४ असार २०८२, १० : ३५
बुधबार, ०४ असार २०८२

बल र धनलाई शब्दका रूपमा सुन्दा सरलजस्तो लाग्छ तर परिभाषित गर्न त्यति सजिलो देखिँदैन । बल र धन भौतिक हुन्छ या अभौतिक ! यो पनि अहं प्रश्न हो । शब्दका रूपमा भन्नुपर्दा बल भनेको हामी तागत, ऊर्जा, शक्ति, क्षमता, दक्षता, हौसला, साहस, हिम्मत भनेर बुझ्छौँ । यसैगरी धन भनेको भौतिक रूपका जग्गा–जमिन, वन, घर, कल कारखाना, गाडी आदि–इत्यादि धेरैको नाम लिन सक्छौँ ।

यी र यस्तै स्रोत र साधनको बलमा हाम्रो दैनिकी चलिरहेको हुन्छ । त्यसै गरी आफूमा रहेको सीप, पद, मान, प्रतिष्ठा, शैक्षिक योग्यता र बाह्य सम्बन्धले पनि हामीलाई बल दिइरहेको हुन्छ । कहिले उमेर र रूप पनि बल वा धन हुन्छ भने कहिले समय बलवान् हुन्छ । यति मात्र होइन शरीरको, मनको, भावनाको, चेतनाको बल नै मुख्य हो भनेर पनि बुझेका छौँ । त्यसैले हामी स्वास्थ्य नै धन हो भन्छौँ । राज्यबाट प्राप्त सामाजिक सुरक्षा पनि व्यक्तिको बल र धन हो । व्यक्तिमा रहेको तर अरू कसैले देख्न, सुन्न, छाम्न नसकिने बलको नाम छ, आत्मबल अर्थात् आफू हुनुको अस्तित्वको बल । त्योभन्दा पनि गहन र आस्थाको बल छ— निर्बलको बल, राम अर्थात् भगवान् नै निर्धाका बल हुन् भन्ने भरोसा । 

बल र धन व्यक्तिको मात्र हुँदैन । परिवार, समाजको र देशको पनि हुन्छ । माथि उल्लेख गरिएका तत्त्वहरूका साथै अरू अनगिन्ती हुन सक्छन् व्यक्तिको बल । यसै गरी देशको बल र धन भनेको भू–भाग, देशको भौगोलिक अवस्थिति, प्राकृतिक सम्पदा, सेना, नागरिक, नागरिकको क्षमता र सीप, संविधान र कानुनहरू आदि हुन् । यसमा पनि सीपयुक्त र अनुभवी नागरिक सर्वाधिक प्रभावकारी बल हुन् । 

यसै गरी यस ब्रह्माण्डमा रहेको पञ्च तत्त्वभन्दा ठुलो बल प्राणीका लागि अरू के होला र ?  पानी, हावा, आकाश र घाम वा आगो अनि धर्तीविना अरू बलमा प्राण नै छैन । वास्तवमा बल के हो त ? बल भनेको यही नै हो भनेर साँघुरो घेरामा राखेर हेर्न बुझ्न सकिने देखिँदैन । बलको कुनै निरपेक्ष परिभाषा छैन भन्ने देखियो । त्यसमा पनि देश, काल, परिस्थिति अनुसार त्यही कुरा कहिले बल बन्छ भने कहिले निर्बल भइदिन्छ । कहिले बोल्नुले बलको काम गर्छ भने कुनै बेला मौनभन्दा बलियो बल अरु हुँदैन । मानिसहरूको आफ्नो मात्र बलले जीवन चलिरहेको हुँदैन । माथि उल्लेख भए अनुसार परिवार, समाज, देश परिस्थिति, परिवेश र संविधान, ऐन–कानुन नहुने हो भने अरु बलको परिभाषा शब्दमा मात्र सीमित हुन्छ र निरर्थक पनि । 

बल र धनलाई परिवारको घेरामा हेर्दा साना छोराछोरीका लागि बाबुआमा नै बल, बुद्धि, धन, मान, सान सबै हुन् । बाबुआमा वृद्घ भएपछि छोराछोरी नै सबैथोक हुन् । त्यतिबेला बाबुआमाको धन, मान, प्रतिष्ठाले ताप्के तात्दैन अर्थात् दैनिकी चल्दैन । यति बेला जनबल नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसै सिलसिलामा गुरु र शिष्यलाई हेर्दा गुरु शिष्यको बल र धन हुन् । गुरु आफ्ना शिष्यमार्पmत सर्वकल्याण चाहन्छन् । अरू आम मानिसमा हुने बल र धन समान भए पनि गुरुका लागि शिष्य थप धन र बल हुन् । 

कहिले बोल्नुले बलको काम गर्छ भने कुनै बेला मौनभन्दा बलियो बल अरु हुँदैन । मानिसहरूको आफ्नो मात्र बलले जीवन चलिरहेको हुँदैन ।


यसरी जुन कोणबाट जसरी हेरे पनि यस ब्रह्माण्डमा बलबाहेक केही छैन । यसलाई कसरी हेरिन्छ, कसरी बुझिन्छ र उपयोग गरिन्छ भन्ने मात्र हो । यति हँुदाहुँदै पनि विद्यमान सबै भौतिक वा अभौतिक बल र धन प्रयोग गर्ने क्षमता व्यक्ति स्वयंमा नभएमा बल र धन हुनु र नहुनुको कुनै मूल्य अर्थात् अर्थ छैन । 

यसमा हेरिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष पनि छ, के सबै प्रकारका धनको स्थानान्तरणको स्थिति समान होला त ? अर्थात् सबै धन सबै ठाउँमा उपलब्ध गर्न वा गराउन सकिन्छ ? यसमध्ये व्यक्तिसँग रहेको शैक्षिक योग्यता, सीप र अनुभव आफूसँगै रहन्छ । नगद र चल सम्पत्ति पनि केही हदसम्म साथमा लिएर हिँड्न मिल्ला; जस्तै : सुनचाँदी, हीरा आदि तर सबैतिर एउटै मुद्राले काम दिँदैन । अचल पुँजीगत सामानजस्तै घर, जग्गा–जमिन साथमा लिएर हिँड्न सकिँदैन । यसै गरी व्यक्तिको मान र प्रतिष्ठा पनि सबै ठाउँमा समान रूपमा प्राप्त हुन्छ भन्ने छैन ।

यो ब्रह्माण्डमा रहेका पञ्चतत्त्व सबै ठाउँमा व्यक्तिको प्रयासविना नै उपलब्ध हुन्छन् । बाँच्नका लागि जुन कुराको विकल्प यस दुनियाँमा केही छैन । अरू कुराहरू भए पनि वा नभए पनि जीवन चलिरहन्छ । व्यवहारमा सहजता र असहताको मात्रामा फरक पर्ने मात्रै हो । ज्ञानसहितको धन र ध्यानसहितको ज्ञान कमाउन कति सकिन्छ, यसमा जीवनशैली निर्भर हुन्छ । 

अझै पनि बल र धन के हो भन्नुभन्दा यसले के गर्छ भन्न सहज देखियो । व्यक्तिमा रहेको अन्तर्निहित क्षमता चिन्न, प्रकट गर्न, बढाउन र उपयोग गर्न जे जति तत्त्व सहयोगी हुन्छन् तिनै हुन् बल र धन । यसै गरी यो धर्तीमा जन्मेदेखि नमरेसम्म जिउन तथा सुख–शान्ति र सम्मृद्घिका लागि चाहिने तत्त्व नै बल वा धन हो भन्न सकियो । यसलाई अझै छोटकरीमा भन्नुपर्दा व्यक्तिको जीवनमा जसले सकारात्मक ऊर्जा दिन्छ र चाहेजस्तो जीवन जिउन सरल र शान्तिको मार्ग प्रशस्त गर्छ त्यही हो बल, त्यही हो धन । 
(लेखक पण्डित जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप