बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा लर्को, ग्रीन हाउसमा कसको होला इन्ट्री ?

सोमबार, ०९ माघ २०७९, २३ : ०४
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को कार्यकाल सकिन लागेसँगै उपराष्ट्रपति पदमा दौडधुप सुरु भएको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाको सहमतिअनुसार माओवादी केन्द्रले सो पद पाउने करिब निश्चित भएसँगै नेताहरूको दौडधुप सुरु भएको हो । 

आगामी चैत ५ गते उपराष्ट्रपति पुनको कार्यकाल पुरा हुँदैछ भने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको म्याद सकिन एक महिनाअगावै निर्वाचन गर्नुपर्ने हुन्छ । यस आधारमा उपराष्ट्रपति पुनको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउसमा बस्न अब दुई महिना पनि छैन । उपराष्ट्रपति पुन २०७२ साल कात्तिक १४ गते उपराष्ट्रपति भएका थिए भने २०७४ को निर्वाचनपछि उनी उनले नै निरन्तरता पाएका थिए ।  

उपराष्ट्रपतिको कार्यकाल सकिन लागेपनि नयाँ चुनावको मिति टुंगो लागेको छैन । तर, चौथो उपराष्ट्रपति बन्न माओवादी केन्द्रमा दौडधुप सुरु भइसकेको हो ।  पार्टीका सिनियर नेताहरू उपराष्ट्रपतिको दौडमा देखिएका छन् । 
यसरी उपराष्ट्रपतिको दौडमा सबैभन्दा अगाडि स्थायी समिति सदस्य जयपुरी घर्ती, पूर्णकुमारी सुवेदी र यशोदाकुमारी सुवेदी गुरुङ छन् । यस्तै पार्टीका उपमहासचिव मातृकाप्रसाद यादव, सचिव दिनानाथ शर्मा, लीलामणि पोखरेल, डिलाराम आचार्य र पोलिटब्यूरो सदस्य रामेश्वर राय यादव पनि उपराष्ट्रपतिको दौडमा छन् । उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा लबिङ गरिरहेको नेताहरूको भनाइ छ । 

रोल्पा गृह जिल्ला भएकी जयपुरीले गत निर्वाचनमा प्रत्यक्ष चुनाव लड्न चाहेकी थिइन् । तर, प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ उनले टिकट पाइनन् । अहिले आएर जयपुरीले उपराष्ट्रपतिमा इच्छा देखाएकी हुन् ।  ‘मैले उपराष्ट्रपति बन्छु भनेर हुँदैन । पार्टीले निर्णय गर्नु प¥यो,’ जयपुरीले रातोपाटीसँग भनिन्, ‘पार्टीले उपयुक्त जिम्मेवारी दिएमा सोच्न सकिन्छ ।’ 

पूर्वउपसभामुख एवम् बाँकेबाट यसअघि निर्वाचित पूर्णकुमारी सुवेदीले खुलेरै उपराष्ट्रपतिका लागि लबिङ गरेकी छन् । अब उमेरले समेत प्रत्यक्ष चुनाव लड्न नसक्ने भएकाले  उपराष्ट्रपति माग गरेकी छन् । 

प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतालाई भेटेर सुवेदीले उपराष्ट्रपतिमा आफ्नो इच्छा भएको बताइसकेकी छन् ।  यस्तै पार्टी महासचिव देवप्रसाद गुरुङ निर्वाचनमा पराजित भएसँगै उनकी श्रीमती यशोदा सुवेदी गुरुङले उपराष्ट्रपतिमा लबिङ गर्दै आएकी छन् । यशोदाले अब सक्रिय राजनीति गर्न नसक्ने भएकाले उपराष्ट्रपतिमा व्यवस्थापन गर्नुपर्ने माग राखेकी छन् ।  

यस्तै पार्टी उपमहासचिव मातृकाप्रसाद यादव र सचिव गणेश साहले उपराष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब नदिए पनि इच्छा देखाएका छन् । यदि आफूहरूलाई उपराष्ट्रपति प्रस्ताव गरेमा लिने पक्षमा उनीहरू छन् । ‘मैले उपराष्ट्रपति वा अन्य कुनै पदमा दाबी गरेको छैन । मलाई यो पद देऊ भनेर कसैलाई भनेको पनि छैन ’ साहले भने, ‘पार्टीलाई उपयुक्त लागेमा उपराष्ट्रपति वा अन्य कुनै पद दिए लिन तयार छु । यो उमेरमा मलाई यो पद चाहियो त्यो पद चाहियो भनेर चाहिँ माग्दिन ।’ यता मात्रिका यादवले भने आफू सक्रिय राजनीतिमा नै रहन चाहेको बताउँदै उपराष्ट्रपति बन्ने इच्छा नरहेको जिकिर गरे ।

यस्तै सचिव दिनानाथ शर्माले आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने भन्दै चर्को रूपमा लबिङ गरिरहेको प्रधानमन्त्री निकट एक नेताले बताए । सांसद र मन्त्री भइसकेकाले अब आफ्नो इच्छा उपराष्ट्रपतिमा भएको उनले बताउने गरेका छन् ।  

यस्तै सचिव डिलाराम आचार्य र लीलामणि पोखरेलले पनि अब राजकीय भूमिका पाउनुपर्ने माग राख्दै आएका छन् । यद्यपि पोखरेलले उपराष्ट्रपति को बन्दै छ र कोको आकाङ्क्षी छन् भन्ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । 

यस्तै पोलिटब्यूरो सदस्य रामेश्वरराय यादवले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर उपराष्ट्रपति बनाउन माग गरिसकेका छन् ।  यसअघि मन्त्री र सांसद भई सकेका यादव यो पटक समानुपातिक सांसद हुन खोजेका थिए । तर, समानुपातिक सांसद हुन नपाएपछि उनले उपराष्ट्रपतिमा दाबी गरेका हुन् । 
ग्रीन हाउसमा प्रवेशका लागि माओवादीभित्र नेताहरूको तीव्र लबिङ भएसँगै सो पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप