आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार आयोगद्वारा समझदारीपत्रमा हस्ताक्षर

सोमबार, ०९ माघ २०७९, २१ : २१
सोमबार, ०९ माघ २०७९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महिलाको मानव अधिकार संरक्षणार्थ युएनवुमन र युएनएफपीएसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

आयोगका कामु सचिव मुरारीप्रसाद खरेल र युएनवुमनका तर्फबाट प्रमुख नाभानिता सिन्हा एवं युएनएफपीएका तर्फबाट प्रमुख वन योङ हगले आज आयोगमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा विशेषगरी लैङ्गिक समानता, प्रजनन स्वास्थ्यको अधिकार, महिला हिंसा न्यूनीकरण तथा महिला अधिकारका विभिन्न विषयमा दुई पक्षबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरिएको छ ।

महिला अधिकारको संरक्षणका लागि विश्वव्यापी आवधिक समीक्षा तथा संयुक्त राष्ट्रसङ्घीय विभिन्न समितिबाट नेपाललाई प्राप्त सिफारिसको कार्यान्वयन अवस्था र मानव अधिकारका विषयमा प्रभावकारी अनुगमन गर्न क्षमता सवलीकरण गर्ने, प्रमाणमा आधारित अनुगमन र अनुसन्धानमार्फत सरकार तथा सरोकारवाला निकायलाई महिला अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि क्षमता अभिवृद्धि र जवाफदेही बनाउनेलगायतका विषय समझदारीपत्रमा समावेश गरिएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले यसबाट लैङ्गिक हिंसा, प्रजनन स्वास्थ्य, बालविवाह तथा महिला अधिकारका विभिन्न विषयमा प्रभावकारीरूपमा कार्य गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप