बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नमस्कार प्राणायाम के हो ?

आइतबार, १५ माघ २०७९, २२ : ३७
आइतबार, १५ माघ २०७९

   यो ब्रह्माण्ड चेतना र ऊर्जाको संयोजनबाट निर्मित छ। पदार्थ पञ्चतत्वको संयोजन हो भने आकार, प्रकार, रङ्ग, रूप आदिको निर्माण चेतना र ऊर्जाको कारणबाट सम्भव हुन्छ। जड वस्तुमा चेतनाको स्तर कम हुन्छ भने चेतन वस्तुमा चैतन्यताको स्तर अधिक रहन्छ।

चेतन तत्त्वको श्रेणी अनुरूप चेतना र ऊर्जाको स्तर फरक रहन्छ। पृथ्वी, जल, तेज, वायु, आकाश सबैको निर्माण चेतना र ऊर्जाबाट भएको छ। जति बढी चैतन्यताको उदय त्यति नै धेरै उच्चतम क्षमता ऊर्जामा रहन्छ। मानवमा मात्र यो क्षमता छ जसले आफ्नो चैतन्यतालाई बढाउन सकोस् अनि ऊर्जाको उच्चतम क्षमतालाई अनुभूति गर्न सकोस्। आफूभित्रको विवेक अनि प्रेमलाई सही सदुपयोग गर्न सकेको खण्डमा मात्र चेतनामा निखार आउँछ। भित्रको जीवन ऊर्जा र परम ऊर्जा बोधमा आउँछ।

  "श्वास छउन्जेल आस" भन्ने उखान यो जगतमा प्रचलित छ अर्थात् श्वासले हामी भित्रको जीवनलाई व्यक्त गर्दछ। सोही श्वासलाई सही रूपमा चलाउन जानेको खण्डमा जीवन्तता अनुभूतिमा आउँछ। खानपान, रहनसहन, वातावरण, विचारको बढी  प्रवाह आदिका कारण हामी होसले भरिन सक्दैनौँ। आफ्नो श्वासप्रति ध्यान केन्द्रित हुँदैन तथापि श्वास भने निरन्तर चलिरहन्छ। श्वास छोटो बन्न थाल्छ। नाभि क्षेत्रसम्म श्वास पुग्दा अथवा नाभि क्षेत्रभन्दा केही तलबाट श्वास चल्दा शरीरका सम्पूर्ण अङ्गहरूले सहिरुपमा प्राण वायु प्राप्त गर्छन् भने छोटो श्वाससँग कोषहरूको प्राण ऊर्जा अपशोषित गर्ने क्षमतामा ह्रास आउँछ।

थाहा पाइपाई आफ्नो इच्छा अनुरूप श्वासलाई शरीरका विभिन्न क्षेत्रबाट चलाउने विधिलाई प्राणायाम भनिन्छ। लामो र गहिरो श्वास हाम्रो स्वभाव हो किनभने रति निद्रामा सहज रूपमा लामो गहिरो श्वास हामीले लिन्छौँ। त्यसैले त बिहान उठ्दा शान्त, सहज, खाली अनि ताजापनको महसुस गर्छौँ। जति धेरै इच्छा, त्यति धेरै विचार, जति धेरै विचार, त्यति धेरै बेहोस अनि त्यति नै अप्राकृतिक श्वास हुन्छ। अनियन्त्रित विचारहरुलाई नियन्त्रित गर्दै आफ्नो मूल स्वभावमा फर्काउन प्राणायाम सबैभन्दा उत्तम विधि हो। यो ब्रह्माण्ड जस्तो छ, हाम्रो शरीर पनि त्यस्तै भएको कारण हामी भित्र पनि प्रशस्त प्राण वायु (अक्सिजन) छ। प्राणायामको माध्यमद्वारा भित्रको अक्सिजनलाई जगाउन सकिन्छ।

 नमस्कार प्राणायाम नेपालीपनले ओतप्रोत मौलिक प्रकारको प्राणायामको विधि हो। जीवन विज्ञान प्रतिष्ठानका श्रद्धेय सद्गुरुदेवबाट  यो प्राणायामको विधि युग धर्म अनुरूप छ। जुनसुकै उमेर समूहका व्यक्तिहरुले सहजरुपमा गर्न सक्ने यो विधिले मन र भावनालाई मात्र व्यवस्थित नगरी समग्र स्वास्थ्यको निमित्त मार्ग प्रशस्त गर्दछ। संगितको साथमा गरिने हुँदा जीवनभित्रको प्रवाह सहजरुपमा भेटिन्छ। सक्रिय प्रकारको यो प्राणायाम मन्द गतिबाट प्रारम्भ भएर तिब्र गति हुँदै पुनः मन्द गतिमा फर्किने भएको हुनाले तत्काल व्यक्तिभित्रको सजगतालाई बढाई वर्तमान क्षणमा फर्काउँछ। भित्रि अंगहरुमात्र नभई शरीरका बाहिरी अंगहरु पनि उत्तिकै सक्रिय बनाउने यो विधिले अस्थिपञ्जर मांसपेशी सबैलाई उत्तिकै लाभ पुर्‍याउँछ। 

  दुवै हातलाई हृदय अगाडी नमस्कार मुद्रामा राखी शरीरलाई सहजता पूर्वक श्वास छोड्दा पुरै शरीरलाई खुम्चाउने अनि श्वास भर्दा पुरै तन्काउने विधि नमस्कार प्राणायाम हो। पंचतत्व निहित हातका औंलाहरुमध्ये चोरी औँला (वायु तत्त्व) अनि माझी औँला (आकाश तत्त्व)लाई नछुटाई आफ्ना कुमहरूलाई पुरा उठाएर गर्नु पर्ने यो प्राणायामको विधिले शरीर भित्रको पंचवायूलाई सन्तुलित बनाउँछ। शुद्ध अक्सिजन रगतमा घोलिने हुँदा शरीरका समस्याहरु निराकरण हुँदै जान्छन् भने सजातिय गुणहरुको विकास हुन थाल्छ। आकाश तत्त्वको आधिक्यताको कारण विचारहरू न्यून हुँदै जान्छन् र तत्काल व्यक्ति निर्विचारको अनुभूति गर्न सफल हुन्छ।

आफूभित्रको शान्तिलाई अनुभूति गर्दै वर्तमान क्षणसँग जोडिन्छ। स्नायु प्रणाली तेजोमय बन्न जान्छ अनि उ भित्रको चैतन्यता प्रकट रूपमा आउन थाल्छ। व्यक्तिभित्र स्वीकार भाव जन्मिन्छ। जे सँग हामी बारम्बार जोडिन्छौँ अथवा जसलाई बारम्बार सम्झिन्छौँ त्यहाँ आफ्नो ऊर्जाको लगानी पनि गर्दछौँ। श्वासलाई बारम्बार याद गर्दा श्वासको गुणस्तरमा वृद्धि भई जीवन्तता प्रकट रूपमा आउन थाल्छ। दुवै नासिकाबाट समान रूपमा श्वास लिने छोड्ने प्रक्रियाले तिन वटै मस्तिष्कको समुचित व्यायाम पश्चात् मध्य मस्तिष्क क्रियाशील हुन थाल्छ- फलस्वरूप शिरसँग, कण्ठ क्षेत्रसँग सम्बन्धित सबै समस्या निराकरण हुन्छन्। निरन्तर आनन्दको अनुभूति व्यक्तिले गरिरहन्छ। श्वासप्रश्वास नलीको शुद्धीकरणसँगै पेटका समस्या समाधान हुन्छन् भने भित्रको पाचन संस्थान सुदृढ बन्न जान्छ। फोक्सोभित्र हुने सम्पूर्ण छिद्रहरू नियमित प्राणायामको अभ्यासले गतिशील बन्छन्। स्वाभाविक खुसीको गुणस्तरमा वृद्धि भई उत्सवमय जीवन बन्छ। व्यक्तिभित्रका क्षमताहरू सहजरुपमा प्रकट हुन थाल्छन् अनि जीवन सुख, शान्ति, समृद्धिले भरिपूर्ण बन्न जान्छ।

खुशीले भरिएको शान्त व्यक्तिले मात्र आफ्नो उच्चतम क्षमता प्रकट गर्न सक्तछ। युगद्रष्टा सद्गुरुद्वारा सृजित विधिहरूमा उच्चतम ऊर्जा हुने कारण व्यक्तिले आफ्नो उच्चतम क्षमता प्रकट गर्न सक्तछ। त्यसैले सबै मानव समुदायलाई सद्गुरुसँगको सत्संग अनि ध्यानविधिहरुलाई अनुसरण गर्ने सौभाग्य प्राप्त होस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिता न्यौपाने
रिता न्यौपाने
लेखकबाट थप