शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा/स्वास्थ्य

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल

५० करोडको शैक्षिक भवन र २३ करोडको अस्पताल बन्दै
शुक्रबार, २० माघ २०७९, १८ : ३४
शुक्रबार, २० माघ २०७९

मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको २ वर्ष पुरा भएको छ । बारम्बार राजनीतिक चलखेलको सिकार बन्दै आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको न आफ्नै कार्यालय छ न त अस्पताल नै ।

प्रतिष्ठानको नाममा हालसम्म एक टुक्रा जग्गासमेत प्राप्त हुने अवस्था छैन ।

तत्कालीन समयमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वमा स्थापना भएको उक्त प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा पर्दा भौतिक संरचनातर्फ कमजोर रहेको छ । प्रदेशको गौरवको आयोजन अन्तर्गत राखेर स्थापना गरिएको उक्त प्रतिस्थानको शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवालाई स्तरीय बनाउने उद्देश्य रहेको छ ।

उक्त प्रतिष्ठानले सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको जिल्ला अस्पताललाई देखाएर हाल ३ वटा विषयको अध्यापन गरिरहेको छ भने एउटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । 

१०० शय्या क्षमताको हेटौँडा अस्पताललाई प्रतिष्ठानले आफ्नो सेवाको क्षेत्र बनाएको छ भने हेटौँडा–११ मा व्यक्तिको घर भाडामा लिएर र हेटौँडा–१६ गौरिटारम रहेको खेलकुद मैदानमा निर्माण गरिएको ट्रस्टको भवनमा शिक्षण क्रियाकलाप सञ्चालन गरिरहेको छ । अनुसन्धानका लागि हेटौँडा–८ कमानेस्थित लोकतान्त्रिक पार्कको एक तले भवनमा आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

प्रदेश सरकार गठनताकादेखि नै तत्कालीन मुख्यमन्त्री पौडेलले उक्त प्रतिष्ठान स्थापनाको योजना बनाएका थिए । उनकै नेतृत्वको सरकारले प्रदेशकै गौरवको आयोजना अन्तर्गत राखेर २०७६ मा प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएको थियो । स्थापनाको १ वर्ष पछि प्रतिष्ठानमा पदाधिकारीहरू नियुक्त भएका थिए । गत २०७७ साउन १५ मा प्रतिष्ठानको उपकुलपति र भदौ १५ गते अन्य पदाधिकारी नियुक्त भएका थिए ।

उपकुलपति सहित ६ पदाधिकारी रहेको उक्त प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । साउन १५ र भदौ १५ मा गरी भिसी, रेक्टर, रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त भयसँगै प्रतिष्ठानको ऐन, नियमभित्र रहेर संस्थाको स्थायित्वका लागि काम गर्नुपर्ने थियो । तर, चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढिरहेको प्रतिष्ठानमा हेटौँडा अस्पताललाई समावेश गरेपछि राजनीतिक उल्झन थपिएको थियो ।

राजनीतिक विवादका कारण खासै काम भने हुन सकेन । जसले गर्दा करिब एक वर्ष प्रतिष्ठानको योजना नै रोकिन पुग्यो । राजनीतिक अन्योलका बीचमै प्रतिष्ठानले शैक्षिक कार्यक्रम त अघि बढायो, तर प्रतिष्ठानको अस्तित्व स्थापित हुन सकेन ।

पौडेल नेतृत्वकै सरकारको पालामा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गरिएका थिए । उनीहरूले ऐन, कानुन, नियमावली र कार्यविधि तयार गर्न मात्र २ वर्ष बिताए । प्रतिष्ठानले आफ्ना कार्यक्रम सञ्चालनको लागि हेटौँडामा अनुकूल जग्गा छनौट गरेर भौतिक संरचना निर्माण गर्नुपर्ने थियो । तर, त्यसतर्फ प्रतिष्ठानका पदाधिकारीको ध्यान नै गएन । जसका कारण प्रतिष्ठानका कार्यक्रमहरू भाडाका घरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

basic science 11

घर भाडा मै सकिन्छ मासिक ३ लाख ८५ हजार

भौतिक संरचनाको अभावका कारण प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालनका लागि हेटौँडा–११ मा रहेको नलेज भिलेजमा घर भाडामा लिएको छ भने हेटौँडा–६ हटियास्थित गौरिटार रङ्गशालामा रहेको ट्रस्टको भवनलाई मर्मत गरेर प्रयोगमा ल्याएको छ । प्रतिष्ठानको कार्यालय प्रयोजनका लागि हेटौँडा–१० मा रहेको तत्कालीन टिम्बर अफ कर्पोरेसन (टीसीएन)को पुरानो भवन पनि प्रयोग गर्दै आएको छ । 

त्यस्तै, खोज तथा अनुसन्धानका लागि हेटौँडा–८ कमानेस्थित स्थानीय लोकतान्त्रिक पार्कको भवन प्रयोग गरेको छ भने केही समय अघि मात्र प्रतिष्ठानले हेटौँडा–४ हुप्राचौर स्थित ६ तले घरमा नयाँ कार्यक्रम अध्यापन गराउने गरी भाडामा लिएको छ । प्रतिष्ठानले उक्त भवनहरू प्रयोग गरेबापत मासिक ३ लाख ८५ हजार रुपैयाँ खर्चिने गरेको छ ।

प्रतिष्ठानले ७ कट्ठा क्षेत्रफलमा फैलिएको नलेज भिलेजको ५ वटा साना भवनहरू प्रयोग गरे बागत सुदर्शन अधिकारीलाई मासिक १ लाख १५ हजार रुपैयाँ भाडा भुक्तान गर्दै आएको छ । कार्यालय प्रयोजनको लागि प्रयोग गर्दै आएको टिसीएनको ३ कट्ठा क्षेत्रफलमा रहेको २ वटा सामान्य प्रकृतिको भवनलाई मासिक ३९ हजार रुपैयाँ भाडा भुक्तानी दिँदै आएको छ । प्रतिष्ठानको नयाँ कार्यक्रम सञ्चालनको लागि भन्दै लिएको हेटौँडा–४ हुप्राचौर स्थित ६ तले पक्की भवन प्रयोग गरे बापत भने विजय गौतमलाई मासिक २ लाख ३१ हजार रुपैयाँ भाडा भुक्तानी हुँदै आएको छ ।

प्रतिष्ठानले बेसिक साइन्स भवनको रुपमा प्रयोग गर्दै आएको हेटौँडा–१६ स्थित गोरिटार रगंशालामा रहेको २ वटा ट्रस्टका भवन निःशुल्क प्रयोग गर्दै आएको छ । उक्त भवन मर्मत तथा पार्टेशनका लागि प्रतिष्ठानले दुई चरणमा ८० लाख रुपैयाँ खर्च गरेको थियो । अनुसन्धानका लागि प्रयोग गर्दै आएको हेटौँडा–८ कमाने स्थित लोकतान्त्रिक पार्कको भवन ३० वर्षको लागि निःशुल्क प्रयोगका लागि सम्झौता गरेको छ । उक्त भवनमा छिट्टै नै प्रतिष्ठानको खर्चमा थप एक तला थप गर्ने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिए ।

education_sector

५० करोडको शैक्षिक भवन र २३ करोडको अस्पताल बन्दै

कमजोर भौतिक संरचनामा सञ्चालन हुँदै आएको उक्त प्रतिष्ठानका लागि हाल आएर सङ्घीय सरकारको विशेष अनुदानमार्फत ५० करोड लागतमा हेटौँडा–१०, भुटनदेवी चौरमा ६ तले भवन निर्माण गरिँदै छ ।

प्रतिष्ठानको शैक्षिक भवन ९बेसिक साइन्स० निर्माणका लागि प्रदेश राजधानी पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाले टेन्डर खुलाएर गत २०७८ फागुन २३ गते ठेक्का सम्झौता गरेको थियो । कार्यालयको मातहत रहेको उक्त भवनको निर्माण सम्पन्न हुन १ वर्ष ७ महिना समय अवधि बाँकी रहेको छ । उक्त भवन आगामी २०८१ भदौ २२ गतेसम्ममा निर्माण सम्पन्न गरी सक्नु पर्नेछ ।

कार्यालयले उक्त भवन निर्माणका लागि कुमार आरएन सिएस जेभी गोकर्ण–११ काठमाडौँलाई भ्याट सहित ४९ करोड ९५ लाख ३ हजार रुपैयाँमा ठेक्का दिएको थियो । कार्यालयले उक्त भवन निर्माणको लागि ८१ करोड ५१ लख २४ हजार रुपैयाँ लागत लाग्ने इस्टमेट गरेको थियो । निर्माण कम्पनीले लागत इस्टमेट भन्दा ३८ दशमलव ८२ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो ।

हाल उक्त भवनको फाउन्डेसनको काम भइरहेको प्रदेश राजधानी पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका इन्जिनियर किरण रञ्जितले जानकारी दिए । ठेक्का सम्झौताको ११ महिनाको अवधिमा उक्त भवनको १५ प्रतिशत भौतिक प्रगति रहेको उनले बताए ।

निर्माण कम्पनीले हालसम्म भवनको काम गरे बापत बिल अनुसार पेस्की सहित २ करोड ८१ लाख रुपैयाँ भुक्तानी लिएको उनले बताए । सो भवनका लागि सङ्घीय सरकारले प्रतिष्ठानलाई ९७ करोड विशेष अनुदान दिएको थियो । 

त्यस्तै, प्रतिष्ठानकै पहलमा हेटौँडा अस्पताल परिसरमा सङ्घीय सरकारको विशेष अनुदानमार्फत २३ करोड रुपैयाँ लागतमा ६ तले अस्पताल निर्माण सुरु भएको छ । प्रदेश सरकार मातहतको सहरी विकास तथा भवन कार्यालय हेटौँडाले उक्त अस्पताल भवन निर्माणको टेन्डर आह्वान गरेको थियो ।

कार्यालयले गत २०६८ असार १८ गते २३ करोड ६४ लाख २५ हजार रुपैयाँमा अस्पताल निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० पुस १६ मा निर्माण सम्पन्न गर्ने गरी विकोई नव सृजनशील जेभीले ठेक्का लिएको उक्त भवनको हाल फाउन्डेसनको काम भइरहेको छ ।

सहरी विकास तथा भवन कार्यालय हेटौँडाका सूचना अधिकारी टेकनाथ काफ्लेका अनुसार उक्त अस्पतालको हालसम्म २५ प्रतिशत भौतिक प्रगति रहेको छ । उक्त अस्पताल भवनको काम गरे बापत निर्माण कम्पनीले विल अनुसार पेस्की सहित ३ करोड १० लाख ९१ हजार रुपैयाँ भुक्तानी लिएको उनले बताए ।

सो भवनमा प्रतिष्ठानले २ सय बेडको अस्पताल सञ्चालन गर्ने योजना तयार पारेको थियो । सो भवनका लागि सङ्घीय सरकारले ३२ करोड रुपैयाँ विशेष अनुदानमार्फत दिएको थियो ।

student

चिकित्साका ४ सङ्काय थपिँदै, ११० जना विद्यार्थी अध्ययनरत 

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल चिकित्सा शास्त्रका ३ वटा सङ्काय अध्यापन भइहरेको छ भने अन्य थप ४ वटा सङ्काय थप गर्ने तयारी भइरहेको छ ।

प्रतिष्ठानले गत २०७८ देखि सुरु गरेको शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट पहिलो चरणमा ३ वटा विषय अध्यापनको अनुमति पाएको थियो भने अन्य ४ वटा संकायको अनुमतिको पर्खाइमा रहेको छ ।

आयोगले प्रतिष्ठानलाई ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ साइन्स इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा अध्यापन गराउन अनुमति दिएको थियो । उक्त सङ्काय अन्तर्गत हाल ११० जना विद्यार्थीहरू अध्ययनरत छन् । प्रतिष्ठानले उक्त संकायका २ वटा समेस्टर सञ्चालन गर्दै आएको छ । पहिलो सेमेस्टर मा ३७ र दोस्रो सेमेस्टरमा ७३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

त्यस्तै प्रतिष्ठानले चिकित्सा शिक्षाका एमबीबीएस र नर्सिङका ४ विषय थप गर्न चिकित्सा शिक्षा आयोगमा आसय पत्र पठाइसकेको थियो । उक्त आशय पत्र अनुसार आयोगले प्रतिष्ठानको अनुगमन समेत गरी सकेको छ । प्रतिष्ठानले एमबीबीएस, बिएससी नर्सिङ, बिएन र बिएन मिड वाइफरी विषय थप गर्नका लागि आयोगको अन्तिम निर्णय कुरिरहेको छ । त्यसका लागि प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगमा आसयपत्र दिएर १६ लाख रुपैयाँ धरौटी रकमसमेत बुझाइसकेको छ ।

प्रतिष्ठानले बुझाएको आशयपत्र अनुसार उक्त विषय अध्यापन अनुमतिका लागि चिकित्सा शिक्षा आयोगबाट अनुगमन गर्ने तयारी भइरहेको बुझिएको छ । उक्त विषय अध्यापनका लागि प्रतिष्ठानसँग न्यूनतम २०० बेडको अस्पताल हुन अनिवार्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप