बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नियात्रा

हाइगेट समाधिमा एक अँजुली फूल

शनिबार, २१ माघ २०७९, १३ : ३१
शनिबार, २१ माघ २०७९

सन् २००७ मा पहिलो पटक बेलायत पुगेको थिएँ म । त्यस बेला नौहप्ते बेलाइत बसाइको क्रममा हाम उत्तरको एबरडिनदेखि दक्षिणको साउथह्याम्पटन, पूर्वको साउथ एन्ड अन् सीदेखि पश्चिमको कार्डिफ, अनि आफूलाई साहित्यिक तीर्थस्थलजस्तो लाग्ने स्टार्टफोर्ड अपन एभन आदि ठाउँहरूसमेत पुग्न भ्याएको थिएँ म । तर जाने आन्तरिक इच्छा हुँदाहुँदै पनि जान नभ्याएका धेरै नै ठाउँ बाँकी थिए बेलायतमा । तीमध्ये एक थियो उत्तरी लन्डनको हाइगेट समाधिस्थल । यस पटक त्यहाँसम्मको यात्रा तय गर्नुपर्छ । यस्तै अठोट गरेको थियो मनले । आज मैले यहाँ त्यसै विषयमा अलिकति कुरा गर्ने विचार गरेको छु ।     

३ डिसेम्बर २०२२, लन्डन निवासी हाम्रो जेठो नाति अनिमेश उप्रेतीलाई लिएर हाइगेट जाने योजना बनाएँ मैले । दिन बिहानैदेखि बादलको सिरक ओडेर घुम्मिएको थियो । हामी एबिउड रेलवे स्टेसनसम्म गाडीमा गयौँ । त्यहाँबाट एलिजाबेथ लाइन समात्यौँ । यसै वर्षदेखि सञ्चालनमा आएको यो भूमिगत लाइन लन्डनको सबैभन्दा सुविधायुक्त आधुनिक खाले सुपरफास्ट रेल लाइन रहेछ । भित्रको खाली ठाउँ तुलनात्मक रूपमा फराकिलो, बस्ने सिटहरू पनि राम्रा, भित्रको वातावरण पनि न्यानो थियो । 

सेन्ट्रल लन्डनबाट हामीले रेल बदलेर नर्थ लाइन समात्यौँ । एक छिनअघि मात्र चिप्लेँटी खेलेर सुलुत्त चिप्लिएसरी यात्रा गरिरहेका थियौँ हामी । अब भने हाम्रो रेल खाल्डाखुल्डी परेको पुरानो ग्राभेल रोडमा कुदेको पुरानो ट्रकसरी घच्याक्घच्याक गर्दै घिस्रिन थाल्यो । हामी आर्च स्टेसनबाट सडकमा निस्कँदा बाहिर आर्ज स्क्वायरमा चिसो सिरेटो बेजोडले चलिरहेको थियो । चोकबाट देब्रेतिर जाने जेन्टल स्लोपयुक्त फुटपाथ समातेर यस्तै १५ मिनेट हिँडेपछि हामी वाटर लो पार्कको उत्तरपूर्वी गेटमा पुग्यौँ । 

यस्तै २०० मिटरजति हिँडेपछि हामीले हाम्रो दाहिनेतिर मार्क्र्सको समाधि देख्यौँ । त्यहाँ चिनियाँ मूलका दुई जना युवा–युवती शिर निहुर्याएर ध्यान मुद्रामा उभिइरहेका थिए । केहीबेर हामीले त्यो दृश्य चुपचाप हेरिरह्यौँ । हाम्रो देब्रेतिर अगाडि सडकमा केही मानिसहरू आपसमा कुरा गर्दै थिए, सुस्त आवाजमा । 

पार्कभित्र पिच सडकमा यस्तै ५–७ मिनेट हिँडेपछि हामीले हाम्रो देब्रेतिर कम्पाउन्डभित्र रहेको हाइगेट समाधिस्थल देख्यौँ । त्यहाँभित्र देखिने अनेकौँ समाधिमध्ये वाटर लो पार्कतिर फर्केको मार्क्सको समाधि अलि ठूलो र टाढाबाट हेर्दासमेत स्पष्ट देखिने खालको थियो । 

हामी पार्कको बाटो स्वाइन्स लेनमा रहेको प्रवेशद्वारमा पुग्यौँ । भित्र पसेपछि दाहिनेतिर सडक किनारामा नै सानो टिकेटघर भेटियो । शुल्क तिरेर टिकेट लिएपछि हामी अघि बढ्यौँ । समाधिस्थल अवलोकन गर्ने मानिसहरूको सङ्ख्या निकै पातलो थियो । वातावरण एकदम चकमन्न र परिवेश पनि विलकुलै सुनसान । केही कदम अगाडि पुगेपछि हामी टिकेटघरमा लिएको हाइगेट सिमेट्री इस्ट बुकलेटमा दिइएको नक्सा हेरेर कार्ल मार्क्सको समाधितिर जाने देब्रे लेन समातेर अघि बढ्यौैँ । जति जति हामी हिँड्दै गयौँ, त्यति त्यति मेरो मन एकदम शून्य, एकदम स्तब्ध र गह्रुँगो भइरहेको थियो । मलाई मानव जीवनको लघुताभास धेरै ठाउँमा, धेरै पटक अनुभूत भएको छ । आज पनि मलाई फेरि एक पटक त्यस्तै अनुभूति भयो । 

केही पर पुग्ने बित्तिकै पल्लो छेउमा केही मान्छेहरू देखिए । हामी लगातार अघि बढिरहेका थियौँ । यस्तै २०० मिटरजति हिँडेपछि हामीले हाम्रो दाहिनेतिर मार्क्र्सको समाधि देख्यौँ । त्यहाँ चिनियाँ मूलका दुई जना युवा–युवती शिर निहुर्याएर ध्यान मुद्रामा उभिइरहेका थिए । केहीबेर हामीले त्यो दृश्य चुपचाप हेरिरह्यौँ । हाम्रो देब्रेतिर अगाडि सडकमा केही मानिसहरू आपसमा कुरा गर्दै थिए, सुस्त आवाजमा । 

त्यहाँ भेटिएका र देखिएका सबै मानिसहरूका मुहार शान्त र क्लान्त देखिन्थे । चिनियाँ युवा–युवतीको मौन प्रार्थना सकिएपछि उनीहरू फर्केर हामी भएतिर सडकमा आए । मैले तिनीहरूलाई हाम्रो एक स्न्याप फोटोको लागि त्यस युवकलाई मेरो मोबाइल थमाएँ । उसले सहयोगी मुद्रामा मेरो मोबाइल लियो । मैले एक अँजुली पूmल मार्क्सको समाधिमा चढाएँ र केही समय करजोरी मुद्रामा आँखा चिम्लिएँ । केही वर्षअघि नयाँ दिल्लीको यात्रामा गएको समयमा मैले आजकै झैँ यसरी नै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल अर्पण गरेको थिएँ र त्यति बेला पनि मेरो मन आजकै झैँ यसरी नै एकदम स्तब्ध भएको थियो । 

यसैबीच हामी ध्यानमुद्रामा उभिइरहेको समयमा त्यस परदेशी युवकले हाम्रा केही स्न्याप फोटा खिचेछ । समाधिस्थलबाट फर्केर सडक किनारामा आएपछि उसले शिष्टतापूर्वक मेरो मोबाइल फिर्ता ग¥यो । मैले उसलाई औपचारिकतावश धन्यवाद भनेँ ।  

फर्कँदा हामी स्वाइन लेनको फुटपाथ समालेर रेल स्टेसनतिर सोझियौँ । अबको योजना क्रिसमसको पूर्वसन्ध्यामा लन्डनमा बलेको बत्तीको झिलिमिली हेर्ने थियो । अनिमेसले अब घर जाऊँ भने पनि मैले सेन्ट्रल लन्डन जाने कुरा गरेँ । त्यसपछि हामी रेलमा जमिनमुनिबाट अक्सफोर्ड स्ट्रिटमा निस्कियौँ । भित्र ट्युबमा, बाहिरतिर आउँदा भरेङ र विद्युतीय भरेङमा तथा बाहिर सडकमा जताततै मानिसै मानिसहरूको भीड । भीड यति धेरै थियो कि यसअघि मैले त्यस्तो दृश्य लन्डन घुमकामको समयमा कहिल्यै देखेको थिइन । बाहिर निस्केर अक्सफोर्ड स्ट्रिटका सडकमा पनि खचाखच र ठेलमठेलखाले उस्तै भीड थिको । हामी आकाशमा ङुन्डिएका बत्तीका केही झलक हेरेर एकछिनपछि त्यहीँको भूमिगत स्टेसनतिर सोझियौँ । 

एबिउड स्टेसन पुग्दा साँझ धरतीमा खसिसकेको थियो । त्यहाँबाट हामीले बेक्स्लिहिथ जाने बस समात्यौँ र ओकह्याम्प्टन क्रिस्सन्टको टोर रोड स्टपमा ओर्लिएर घरतिरको बाटो समात्यौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिहर खनाल
हरिहर खनाल
लेखकबाट थप