बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले क्लोनिङ गरेर बनायो सुपर काउ : दिनमा १४० लिटर दूध दिने, १ हजार गाई उत्पादन गर्ने तयारी

आइतबार, २२ माघ २०७९, १३ : ३४
आइतबार, २२ माघ २०७९

चीनले विज्ञान र प्रविधिको क्षेत्रमा निरन्तर अनौठो प्रयोग गरिरहेको छ । हालै चिनियाँ वैज्ञानिकहरूले क्लोनिङमार्फत तीन वटा ‘सुपर काउ’ तयार पारेको दाबी गरेका छन् । यी गाईले जीवनभर १०० टन अर्थात् २ लाख ८३ हजार लिटर दूध दिन सक्छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीन वटै गाईको ब्रिडिङ नर्थ वेस्ट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेका हुन् । यी बाछाहरू गत दुई महिनामा निङ्जिया क्षेत्रमा जन्मिएका हुन् । यी सबै नेदरल्याण्ड्सबाट आएको होल्स्टेन फ्रिजियन गाईका क्लोन हुन् ।

क्लोनिङ भनेको के हो ?

क्लोनिङमा वैज्ञानिकहरूले जनावरको डिएनए लिन्छन् र यसको मद्दतले जनावरको प्रतिरूप तयार पार्छन् । वैज्ञानिकहरूले आफ्नो सुविधा अनुसार यसको जिन परिवर्तन गर्छन्, ताकि सामान्य जनावरहरू भन्दा धेरै शक्तिशाली जनावरहरू बनाउन सकियोस् ।

चीनले कसरी गाईको क्लोन बनायो ?

आयोजना प्रमुख जिन यापिङले सबैभन्दा पहिले राम्रो जातका गाईको कानको सेल्स (कोशिका) निकालिएको बताए । त्यसपछि यीबाट भ्रूण तयार गरी १२० गाईमा प्रत्यारोपण गरियो । तीमध्ये ४२ प्रतिशत गाई गर्भवती भए । हाल तीन वटा बाछा जन्मिसकेका छन् भने आगामी केही दिनमा १७.५ प्रतिशत बाछा जन्मन सक्नेछन् ।

एउटा सुपर गाईले वर्षमा १८ टन दूध दिनेछ

वैज्ञानिकहरूका अनुसार एउटा सुपर गाईले एक वर्षमा १८ टन (१६.३ हजार लिटर) दूध दिने क्षमता राख्छ । यो अमेरिकाको सामान्य गाई भन्दा १.७ गुणा बढी हो । आगामी २–३ वर्षमा चीनमा एक हजार सुपर गाई उत्पादन हुने यापिङले बताए । यसबाट डेरी उद्योगले बढी फाइदा लिन सक्नेछन् । हाल चीनमा हरेक १०,००० गाई मध्ये ५ वटा मात्र आफ्नो जीवनकालमा १०० टन दूध दिन सक्षम छन् । यसबाहेक त्यहाँ ७० प्रतिशत दूध दिने गाई आयात गर्ने गरिन्छ ।

चीनमा जनावरको क्लोनिङ बढ्यो

चीनले जनावरको क्लोन बनाएको यो पहिलो पटक भने होइन । गत वर्ष चिनियाँ वैज्ञानिकहरूले विश्वको पहिलो क्लोन गरेर आर्कटिक ब्वाँसो बनाएका थिए । सन् २०१७ मा यस्ता गाई वस्तु क्लोन गरेको थियो जसले जनावरमा हुने क्षयरोगलाई माथ दिन सक्छन् । अमेरिकासमेत थुप्रै विकसित देशमा पनि यो प्रविधिमा काम गरिँदै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप