शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिलीको जङ्गलमा लागेको डढेलोमा २३  जनाको मृत्यु

आइतबार, २२ माघ २०७९, १४ : ०४
आइतबार, २२ माघ २०७९

चिली । चिलीको दक्षिणी मध्य भागस्थित जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीबीच लागेको डढेलोका कारण २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उनले बताए ।

मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन । राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘ मृतकहरूको सङ्ख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्ग प्रशस्त भएको छ ।

डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् ।  राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जङ्गलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।

बोरिकका अनुसार अर्जेन्टिनाले अग्नि नियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ । ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिए ।  “जलवायु परिवर्तनको विकासक्रमका कारण हामी डढेलोको जोखिममा रहेका देशहरूमध्ये एक बनिरहेका छौँ,” उनले भने । 

तीन वर्ष अघिसम्म चरम जस्तो देखिने डढेलोको अवस्था अहिले दिनप्रतिदिन सामान्य हुँदै गएको उनले बताए । तीमध्ये १० जनाको मृत्यु कन्सेप्सियन प्रान्तको सान्टा जुआना शहरमा भएको अधिकारीहरूले यसअघि बताएका थिए ।  डढेलोका कारण कम्तीमा ८८ घर जलेर नष्ट हुनुका साथै ४७ हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले बताएका छन् । 

सान्टा जुआनाका मेयर एना अल्बोर्नोजले भने, “इलाका निकै विकट छ र सडकहरू खराब भएका कारण डढेलो नियन्त्रण प्रयासमा समस्या भएको छ ।  “हाम्रो ग्रामीण जनसङ्ख्या निकै थोरै छ, एक परिवार एउटा पहाडको टुप्पोमा र दोस्रो अर्को डाँडामा बस्छन्, तर सहरी क्षेत्रमा भिडभाड छ,” उनले भने । 

शुक्रबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेमा हेलिकप्टरका चालक दलका दुई सदस्य समेत रहेको अधिकारीहरूले बताएका छन् । आगलागीमा परी एक जना अग्नि नियन्त्रकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । यस क्षेत्रमा करिब दुई हजार ३०० अग्नि नियन्त्रक र ७५ वटा विमान तैनाथ गरिएको छ । गर्मीका कारण सन् २०१७ मा पनि यस्तै घटना भएको थियो र उक्त घटना दोहोरिने डर पैदा भएको छ । सन् २०१७ मा उक्त क्षेत्रमा लागेको डढेलोमा परी ११ जनाको मृत्यु हुनुका साथै एक हजार ५०० घर जलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप