शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
अर्थ

१० प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिती, साढे १० महिनाको आयात धान्न पर्याप्त

सोमबार, २३ माघ २०७९, १६ : २८
सोमबार, २३ माघ २०७९

काठमाडौं । अघिल्ला वर्षहरुमा चूनौती बनेर खडा भएको विदेशी मुद्राको सञ्चिती निरन्तर सुधारोन्मुख अवस्थामा देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू वर्षको ६ महिनाको विदेशी मुद्राको सञ्चिती १० प्रतिशतले बढेको हो ।

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती रहेको थियो । जुन, १० प्रतिशतले बढेर पुस मसान्तसम्मको अवधिमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ ।

२०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात धान्न पर्याप्त देखिन्छ । यस्तै, ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको विश्लेषण छ ।

२०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २७.६ प्रतिशत, ७५.५ प्रतिशत र २३.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप