सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार गर्ने आरोपितलाई कारबाही गर्न माग गर्दै गरुडा प्रहरीमा जाहेरी दर्ता गरिएको छ।
- रास्वपाका नेता तथा कार्यकर्ताले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
- घटनाको सात दिन बितिसक्दा पनि संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै रास्वपाले २४ घण्टाभित्र कारबाही नभए आन्दोलनको चेतावनी दिएको छ।
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको घटनाका आरोपितलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरिएको छ।
रौतहट क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद पौडेलसहित रास्वपाका नेता तथा कार्यकर्ता सोमबार इलाका प्रहरी कार्यालय गरुडा पुगेर लिखित जाहेरी दर्ता गराएका हुन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारिएको बताए। दोषीको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रिय रूपमा परिचालन भइसकेको उनको भनाइ छ।
जाहेरी दर्ताका क्रममा उपस्थित रास्वपा नेता रवीन्द्र यादव र दीपक यादवले घटना भएको सात दिन बितिसक्दा पनि संलग्न व्यक्ति पक्राउ नपर्नु चिन्ताजनक भएको बताए। जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा भएको आक्रमणमै प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा सर्वसाधारणको सुरक्षाबारे गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ थियो।
यसैबीच, रास्वपा रौतहटले घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
गत बिहीबार राति गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल गरेर फर्किने क्रममा सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार चारदेखि पाँच जनाको समूहमा आएका युवाले पोस्टर र पर्चा छर्दै नाराबाजी गरेका थिए। त्यसक्रममा उनीहरूले सांसद पौडेलमाथि पछाडिबाट कालो मसी प्रहार गरी फरार भएका थिए।
घटनापछि जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण