बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
सीमा क्षेत्र

भारतीय पर्यटकका कारण वैकल्पिक मार्ग बन्दै कालीदह नाका

व्यावसायीद्वारा स्तरोन्नतिको माग
बुधबार, २५ माघ २०७९, ११ : ३३
बुधबार, २५ माघ २०७९

बुटवल । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा पर्ने रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा चहलपहल बढ्दै गएको छ । सुनौली नाकाभन्दा कालीदह नाकाबाट लुम्बिनी नजिक रहेकाले यो नाकाबाट भारतीय पर्यटकहरू आउने क्रम पछिल्लो समय वृद्धि भएको हो । 

भारतीय पर्यटक ककरहवा–कालीदह नाका हुँदै लुम्बिनी आउने क्रम बढेपछि सीमा क्षेत्र गुल्जार बनेको हो । यस्तै लुम्बिनी, गैडहवा, सैनामैना, कञ्चनलगायत क्षेत्रका स्थानीयवासी पनि दैनिक उपभोग्य सामान खरिदका लागि भारतीय बजार ककरहवा जाने गरेका छन् । 

बेलिहिया–सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउजाउ गर्न सहज भएपछि धेरै भारतीय पर्यटकले यो नाका प्रयोग गर्न थालेको लुम्बिनीका होटेल व्यवसायी अक्रम खानले रातोपाटीलाई बताए । व्यवसायीका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५ देखि ३० प्रतिशतले कालीदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय सुनौली नाकामा भारतबाट आउने गाडी दुई तीन घण्टा जाममा पर्ने गरेका छन् । यही कारण पनि कालीदह नाका भारतीय पर्यटकका लागि वैकल्पिक मार्ग बनेको हो । कालीदह छोटी भन्सार कार्यालयका प्रमुख सुरेन्द्र भण्डारीले पनि पछिल्लो समय आफूहरूको काममा वृद्धि भएको बताए । 

खासगरी सुनौली नाकाबाट आउँदा यस नाकामा दुई तीन घण्टा सवारीसाधन रोकिन्छ । दूरी हिसाबले पनि लुम्बिनीबाट कालीदह–ककरहवा नाका नजिक छ । त्यस कारण सहज मान्नेहरू धेरै छन् तर यहाँबाट ठुला गाडी चाहिँ आउँदैनन् । साना गाडी मात्रै आउँछन् । 

हुन त कालीदह रुपन्देही जिल्लाको दोस्रो ठुलो नाका हो । मानिस आउजाउ हिसाबले पनि बेलिहिया–सुनौली नाकापछि यो नाका दोस्रोमा पर्छ  तर पनि सरकारले स्तरोन्नतिमा ध्यान दिएको छैन । तर भारततर्फ राम्रो सडक बने पनि नेपाल सरकारले सडक फराकिलो बनाएको छैन । 

स्तरोन्नतिको माग

पुरानो छोटी भन्सार मानिने कालीदह नाकाबाट लुम्बिनी १० किलोमिटरको दूरीमा पर्छ । सुनौली–बेलिहिया नाका हुँदै लुम्बिनी २० किलोमिटर दूरी पर्छ । समयको बचत र छोटो दूरी भएकाले धेरै भारतीयको रोजाइ कालीदह–ककरहवा नाका परेपछि भारतीयहरू आउने क्रम वृद्धि भएको छ । सोही अनुसार नेपालतर्फका भन्सारको स्तरोन्नति र अध्यागमन कार्यालय स्थापना गर्न व्यवसायीहरूले माग गरेका छन् । 

लुम्बिनी होटेल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले कालीदह नाका हुँदै लुम्बिनी आउने तेस्रो देशका नागरिकहरूलाई भित्र्याउन अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने माग पटक पटक राखेको बताए । त्यहाँ अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकबाट आउने पर्यटकले अर्को नाका प्रयोग गर्ने गरेको उनी बताउँछन् । 

कालीदह–ककरहवा नाकाबाट भारतीय बजार गोरखपुर १०३ किलोमिटर दूरीमा पर्छ । यस्तै वाराणसी ३१८, सिद्धार्थनगर २५, बस्ती ९७ किमी दूरीमा पर्छ । यी ठाउँबाट लुम्बिनी आउजाउ गर्न नजिक पर्छ, जसले गर्दा भारतीयहरू यो नाका हुँदै बढी मात्रामा लुम्बिनी ल्याउन सकिने लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईले बताए । 

भारतबाट आए पनि लुम्बिनी विकास कोषमा नाका उल्लेख गर्नु नपर्ने भएकाले कालीदह नाकाबाट कति आए भन्ने स्पष्ट हुँदैन तर पछिल्लो समयको आगमन हेर्दा यो नाका प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको उनले बताए ।

kalidaha_naka2

होटेल सङ्घलगायत लुम्बिनी क्षेत्रका व्यवसायी तथा सामाजिक सङ्घसंस्थाले कालीदह–ककरवा नाकालाई भन्सारका रूपमा खुलाउन पहल गरिरहेका छन् । यहाँ अहिले छोटी भन्सार छ, ठुला मालवाहक गाडी यो नाका प्रयोग गरेर आउजाउ गर्न पाउँदैनन् । सो क्षेत्रबाट चुवान जितेका लुम्बिनी प्रदेश सभा सदस्य सीके गुप्ताले भन्सार कार्यालयको स्तरोन्नति र बिनाझन्ट आउजाउको व्यवस्था गर्न  विशेष ध्यान दिनुपर्ने बताए । 

उनले चेकिङमा रहने प्रहरी तथा भन्सारले तल्लो तहका  लुम्बिनीवासीलाई बिहे, पूजा आदिमा गरिने सामान्य किनमेलमा झन्झट दिन नहुने तर व्यवसायीहरूले गर्ने चोरी तस्करीमा भने चनाखो बन्नुपर्ने बताए । रुपन्देही  गौडहवाका राम विकास कुर्मी दैनिक घरायसी प्रयोजनका सामान किन्न सुनौलीभन्दा कालीदह नाका नजिक भएकाले कहिलेकहीँ यो नाका प्रयोग गर्छन् । तर जनपद तथा सशस्त्र प्रहरी चेकजाँचका नाममा झन्झट दिने गरेको गुनासो उनले गरे । 

छोटी भन्सार कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले कर्मचारी थोरै भएकाले आफूहरू व्यस्त रहेको हुँदा रातोपाटीसँग धेरै कुरा गर्न नसकेको बताए । तर सर्वसाधारणलाई सहज बनाउन र चोरी तस्करी नियन्त्रण गर्न आफूहरूले बढी ध्यान दिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप